site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सडकदेखि सदनसम्मै मास्कविहीन, विज्ञ भन्छन्– अति गरे खती हुन्छ !

काठमाडौं । मास्कविहीन सदन । संसद भवनमा बिना मास्क प्रवेश अनुमति दिइँदैन, तर संसद बैठक चलिरहँदा अधिकांश सांसदको मुखमा मास्क देखिँदैन । 

कंग्रेस पार्टी कार्यालय सानेपामा सोमबार र मंगलबार दिनभर केन्द्रीय कार्यसमिति बैठक बस्यो । बिरलै कांग्रेस नेताहरूको मुखमा मात्रै मास्क देखियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

(फाइल तस्बिर : नेपाली कांग्रेस केन्द्रीय समिति बैठक)


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न मंगलबार गैर आवासीय नेपाली संघको प्रतिनिधि मण्डल पुग्यो, भेटघाटमा न दुरी कायम गरेको देखियो न कसैले मास्क नै लगाएको । 

मंगलबार नै जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईनिकट ११३ जना केन्द्रीय सदस्य काठमाडौंको एक पार्टी प्यालेसमा भेला भए, छिटपुटबाहेक कसैको मुखमा मास्क देखिएन । 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार राष्ट्रियस्तरका सञ्चारमाध्यमका सम्पादकहरूको जम्बो टोलीको अन्तरक्रिया कार्यक्रम थियो । यो कार्यक्रममा पनि अधिकांश मास्कविहीन देखिन्थे । 

(फाइल तस्बिर : नेकपा (एमाले)काे सचिवालय बैठक)


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बारे जारी गर्ने प्रत्येक सूचनामा जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्डमा हेलचेक्र्याइँ नगर्न अनुरोध गर्दै आएको छ । सचेतनाकै लागि ठूलो रकम खर्च गरेर जनहितका सामग्री उत्पादन र सार्वजनिक गर्दै आएको छ । तर, मन्त्रालय मातहतकै कार्यक्रमहरूमा सहभागीहरू बिनामास्क खुल्लमखुल्ला सहभागी भएको देखिन्छ । 

चुनाव लक्षित कार्यक्रम, आन्दोलन, प्रदर्शन, भेला, गोष्ठी आदीमा मास्कविहीन सहभागीहरूको उपस्थितिले नेपालमा कोभिड १९ को जोखिम नरहेकोजस्तो संकेत गर्छ । सदनमा नै पालना नभएको जनस्वास्थ्यको मापदण्ड सडकमा पालना नहुनु नौलो कुरा भएन । बजार, रोष्टुरेन्ट, कार्यस्थल, सार्वजनिक सवारी आदिमा अपनाउन सकिने सामान्य सतर्कता पनि अपनाउन छोडेको देखिन्छ । 

(फाइल तस्बिर : काठमाडाैंमा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईनिकट ११३ जना केन्द्रीय सदस्यकाे भेला)


असारका २८ दिनमा एक हजार ६७४ संक्रमित थपिएका छन् । मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । 

दैनिक टेस्ट पोजिटिभिटी दर पाँच प्रतिशत नाघिसकेको छ, जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार महामारीको रूप लिने संकेत हो । 

तर, जिम्मेवार निकायहरूदेखि जनस्तरसम्म देखिएको स्वास्थ्यप्रतिको यो लापरबाहीले संक्रमण समुदायस्तरमा भित्रभित्रै फैलिने र महामारीको रूप लिने अवस्था नआउनला भन्न सकिँदैन । संक्रमणले उच्च रुप लिए त्यसको पहिलो असर सर्वसाधारणको दैनिकीमा पर्नेबारे विज्ञहरूले सचेत गराउँदै आएका छन् । 

जोखिम कायमै छ, दैनिकीमा असर नपर्नेगरी स्वास्थ्यका मापदण्ड अपनाऔँ

कोभिड १९ संक्रमण उच्च भएको समयमाजस्तै कडाइका साथ स्वास्थ्यका मापदण्ड अपनाउनु आवश्यक नभएपनि संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन जनस्वास्थ्यविद्हरू सुझाव दिन्छन् । 

जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्, “महामारी हुँदाको अवस्थालाई छिट्टै भुल्ने हाम्रो बानी छ, त्यसैले पछिल्लो समय माथिल्लो स्तरदेखि जनस्तरसम्मै लापरबाही गरेको देखिन्छ । महामारी उच्च हुँदाजस्तो बन्दाबन्दी वा कडा मापदण्डमा बस्न सँधै सम्भव हुँदैन तर हामीले सक्ने सावधानी अपनाउनु पर्छ ।” 

संक्रमण आफैँमा घातक नभएपनि धेरै संख्यामा संक्रमण फैलिएपछि त्यसको नियन्त्रणका लागि राज्यले चाल्ने कदमले जनस्तरमा प्रभाव पार्नसक्छ, त्यसैले भोलि फेरी बन्दाबन्दीको अवस्था नआओस् भन्नका लागि पनि सम्भव भएसम्मका सावधानी अपनाउनुपर्ने डा. वन्तको भनाइ छ । 

“संक्रमण यति बढ्दैमा अर्को लहर आउँछ भनेर त्रसित हुन जरुरी छैन तर दैनिकीमा असर नपर्नेगरी सतर्कता अपनाउन त सकिन्छ नि” डा. वन्त थप्छन्, “मास्क लगाउँदा, अनावश्यक भिडभाड नगर्दा हामीलाई केही असर पर्दैन नि । बरु अन्य रोगहरूबाट पनि बचिन्छ, तर हामी त्यति साना साना कुरामा पनि लापर्बाह बनिरहेका छौँ, यसले संक्रमण बढाउन ठूलो भूमिका खेलिरहेको छ ।” 

पछिल्लो समय अ‍ेमिक्रोन भेरियन्टका बीए–२, बीए–४ र बीए–५ सब भेरियन्टका कारण संक्रमण बढिरहेका बेला बुस्टर डोज खोप अनिवार्य लगाउन आग्रह गर्छन् वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन । “कोभिड–१९ विरुद्धको खोपले संक्रमण नै हुन नदिने भन्ने होइन, तर, सिकिस्त हुने तथा अस्पताल भर्ना हुने सम्भावना न्यूनीकरण गर्छ, यसकारण पनि बुस्टर डोज खोप लिन म सबैलाई अनुरोध गर्छु” वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. पुनले भन्छन् । 

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले फाइजरको पछिल्लो संस्करण खोपले ओक्रिोनका सब भेरियन्टहरूविरुद्ध पनि काम गर्ने जनाएको छ । 

नेपालमा अहिले कोभिशिल्ड, जोन्सन एन्ड जोन्सन, फाइजर र मोर्डना खोप बुस्टर डोजको रूपमा दिइँदै छ । 

असार २८ गतेसम्म ६७ लाख ६ हजार २३० जनाले बुस्टर डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको तथ्यांक छ । मन्त्रालयले सबै नजिकैको खोप केन्द्रमा गई बुस्टर डोज खोप लगाउन बारम्बार अनुरोध गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ०५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro