काठमाडौं । युक्रेन युद्धको लागि रुसलाई इरानले सैयौँ ड्रोन उपलब्ध गराउने योजना बनाएको अमेरिकाले चेतावनी दिएको छ । यसमध्ये केही युद्ध क्षमतायुक्त भएको एकजना अमेरिकी अधिकारीले बताएका छन् ।
ह्वाइट हाउस राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले इरानले रुसी सेनालाई ड्रोन प्रयोग गर्न तालिम दिने तयारी गरिरहेको सूचना अमेरिकाले पाएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यही साता इजरायल र साउदी अरेबियाको भ्रमण गर्नुअघि सलिभनको यस्तो भनाइ आएको हो । उनका अनुसार इरानले ड्रोनहरू रुस पुर्याए/नपुर्याएको अझै स्पष्ट भइसकेको छैन ।
युक्रेन र रुस दुवैको लागि ड्रोनहरूले अभिन्न भूमिका खेलेका छन् ।
गत हप्ता मात्र युक्रेनले आफ्नो युद्ध प्रयासलाई सहयोग गर्न हजारौँ ड्रोनहरू सहयोग गर्न अपिल गरेको थियो ।
दुवै पक्षले ड्रोनलाई शत्रुको स्थानहरू पत्ता लगाउन र सही निसानामा प्रहार गर्न प्रयोग गरिरहेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुलाई १९ मा इरानको राजधानी तेहरानको भ्रमण गर्ने क्रेमलिनले जनाएको छ । उनले सिरियामा शान्ति वार्ताका लागि इरानी राष्ट्रपति इब्राहिम रायसी र टर्कीका राष्ट्रपति रिसेप तायप एर्दोआनसँग भेट गर्ने अपेक्षा गरिएको छ ।
बीबीसीबाट ।