विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको नेतृत्वमा पकुवा खोलाबाट पानी ल्याउन सुरु गरिएको अभियानअन्तर्गत सर्दुखोला हुँदै धरान २० तर्फ पानी ल्याउन सफलता मिलेको छ । साम्पाङको नेतृत्वमा असार ५ गतेदेखि जनश्रमदान अभियान सुरु गरी पानीको मुहान व्यवस्थित गर्नेदेखि पाइपमार्फत पानी धरानतर्फ ल्याउने कार्य सुरु गरिएको थियो ।
विष्णुचोकको खानेपानी ट्यांकीसम्म पानी झारेपछि त्यसलाई धरानका जनताको घरसम्म वितरण गर्ने उपमहानगरले तयारी गरेको छ । यो कार्यको नेतृत्व प्रमुख साम्पाङले नै लिइरहेका छन् । जनश्रमदानमा खटिएका स्थानीयले पानी ल्याउने अभियान सफलता उन्मुख भएको बताएका छन् । धरानका बासिन्दा निकै लामो समयदेखि खानेपानी समस्यासँग जुधिरहेका छन् । खानेपानी घर–घरमा पुर्याउने नारा लिएर उपमहानगरको प्रमुख पदमा साम्पाङले स्वतन्त्र उमेदवारी दिएर विजयी भएका हुन् ।
पकुवा खोलाबाट पाइपमार्फत पानी ल्याउन सुरु गरिएको परियोजनाका प्रमुख दत्तकुमार लिम्बूले पानी ल्याउन सकिँदैन जस्तो महसुस गरेको भए पनि धराने जनताले चाहे भने गर्न सक्ने रहेछन् भन्ने प्रमाणित भएको बताए । “पकुवा खोलाबाट हामीले पानी सर्दु हुँदै ल्याउन सकिएको छ,” लिम्बूले भने, “जनश्रमदान र आपसी सहयोगबाट पनि ल्याउन सकिने रहेछ भन्ने हामीले प्रमाणित गर्न सकेका छौँ ।” धरानका जनताको लागि यो ठूलो नमुना भएको भन्दै लिम्बूले खुसी व्यक्त गरे ।