काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई आर्थिक संकटबाट जोगाउनको लागि विदेशी लगानीका लागि आग्रह गरेका छन् । नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरू देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने–“विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा संकटका बाछिटा नेपालमा पनि नदेखिएको भन्न मिल्दैन, त्यो समस्या हामी पनि झेलिरहेका छौँ ।”
ढकालले नेपाललाई यस्तो संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाइराख्न संसारभरमा रहेका नेपालीहरूले नेपालमा पुँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रहसमेत गरेका छन् । “नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरूले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको छ, यसबाट लाभ लिनुहोस् र नेपालमा बढीभन्दा बढी लगानी ल्याउनुहोस् भन्ने मेरो आग्रह छ, उनले भने ।
सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन समस्याहरू देखा परिरहेको र महँगी बढेको, र त्यसको मारमा नेपाली पनि परेको धारणा ढकालले व्यक्त गरेका थिए । लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरूमध्ये नेपाल पनि एक रहेको उनको भनाइ थियो ।
उनले कार्यक्रममा नेपालमा लगानीका कैयौँ सम्भावना रहेको र नेपालमा लगानीबाट धेरैभन्दा धेरै प्रतिफल लिन सकिने उदाहरणहरू पनि पेश गरेका थिए ।