विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेका दीर्घकालीन महत्त्वका विकास निर्माणका कार्य समयमै नसके ठेकदारको भुक्तानी रोक्ने भएको छ । महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चालित योजनाहरूमा ढिलासुस्ती गर्ने क्रम बढेपछि निर्माण कम्पनीलाई सचेत गराएका हुन् ।
पटक–पटक म्याद थप्दासमेत निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै तोकिएको मितिमा निर्माण कार्य सम्पन्न नगरेकोप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको कोइरालाले बताएका छन् । उनले भने, “निर्माणका काममा बहानाबाजी गर्ने प्रवृत्ति बढेकोले सचेत गराउँदै तोकिएकै समयमा काम पूरा गर्न निर्देशन दिएका हौँ ।” कोइरालाले निर्माणको अनुगमनलाई तीव्रता दिइएको जनाएका छन् ।
कोइरालाको नेतृत्वमा महानगरभित्र सञ्चालित निर्माणाधीन विभिन्न विकास निर्माणका योजनाको अनुगमनसमेत गरिएको छ । महानगर कार्यालय परिसरभित्र निर्माणाधीन भवन, वीरेन्द्र सभागृह र हिमालय रोडमा निर्माण भइरहेको ब्युटिफिकेसनअन्तर्गतको कामको अनुमगन गरिएको छ ।
उपमेयर शिल्पा निराला कार्कीले वीरेन्द्र सभागृह ६ महिनाभित्र निर्माण सम्पन्न हुने गरी काम अघि बढाउन निर्देशन दिइएको बताउँदै भनिन्, “८० प्रतिशत काम पूरा भएको भन्ने जानकारी गराइएको छ । निर्माणलाई तीव्रता नदिए कानुनअनुसार अघि बढ्ने भनेका छौँ ।” सभागृह २१ करोड लागतमा पुनर्निर्माण भइरहेको छ ।
त्यहाँ अपांगमैत्री हुने भनिएको भवनमा भीआईपी कक्ष, आराम कक्ष, मञ्च, पोसाक परिवर्तन गर्ने कोठा, सुविधा सम्पन्न शौचालय र पार्किङको सुविधा हुनेछ । यसको काम ढेड वर्षमा सक्ने भनिएकोमा एक वर्ष पूरा भइसकेको छ ।