काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) विभाजित बनेको छ ।
संगठनको पवन कार्की समूहले आगामी भदौमा राष्ट्रिय भेलाको आयोजना गर्ने घोषणा गरेको छ । उक्त समूहले कार्कीको संयोजकत्वमा १९९ सदस्यीय केन्द्रीय कमिटी पनि घोषणा गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साे समूहले आगामी भदौ ३० र ३१ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने जानकारी दिएको हो ।
संयोजक कार्कीले अनेरास्ववियू क्रान्तिकारीलाई सशक्त संगठन बनाउन, विद्यार्थी आन्दोलनलाई झनै क्रियाशील बनाउन, विद्यार्थीको हकअधिकार स्थापित गर्न राष्ट्रिय भेलाको आयोजना गर्न लागिएको बताए ।
पञ्चा सिंह नेतृत्वले विधानअनुरूपको कमिटी गठन गर्न नसकेको उनले आरोप लगाए । अध्यक्ष सिंहले संगठनमा कुनै छलफल र सल्लाह नै नगरी फेसबुकमार्फत कार्यसमिति सार्वजनिक गरेको कार्कीको आरोप छ ।
उनले राष्ट्रिय सम्मेलनमा आफूहरूले विधि र विधानको कुरा उठाउँदा उल्टै आफूहरूमाथि आक्रमण भएको पनि बताए ।
यही असार १८ गते काठमाडौंमा सम्पन्न भएको घोषणासभाले राजनीतिक, सांगठनिक र समसामयिक प्रस्ताव पारित गरेको छ ।
घोषणासभाले २२औँ राष्ट्रिय सम्मेलनबाट पारित विधान र प्रतिवेदनलाई अक्षरशः पालन गर्ने प्रण गर्दै सबै अवैधानिक समिति खारेज गर्दै विधानसम्मत समिति निर्माण गर्ने प्रतिबद्धता पनि गरेको जनाइएको छ ।