जनकपुरधाम । धनुषा नगराईन नगरपालिका ७ नवटोलीकी जेनिशा खातुन दश वर्षकी भइन् । चार वर्षकै हुँदा गाउँकै राष्ट्रिय प्राथमिक विद्यालयमा उनको भर्ना भयो । तर, छरछिमेक र मौलाना (मर्दशाका शिक्षक)ले मदरसामै पढ्नु पर्ने दबाब दिए । जेनिशा र उनको घरपरिवारको इच्छा हुँदाहुँदै पनि उनले सामुदायिक विद्यालयमा पढ्न पाइनन् ।
विद्यालयमा आसमान नेपालको सहयोगमा गठन भएको शिक्षक, अभिभावक संघले याे खबर पायाे । अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय सरकारको प्रतिनिधिसहितको सहभागितामा बनाइएको एक समूह हो ।
यही समूहले गाउँमा गएर विद्यालय शिक्षा पनि दिनुपर्ने पैरवी गर्याे । तर, उनको परिवारले मौलानसँग अनुमति लिएर मात्र विद्यालय पठाउने जवाफ दिए । साे समूहका प्रतिनिधिहरू सबैलाका एक मुस्लिम शिक्षकलाई लिएर पुनः ती विद्यार्थीको घरमा पुगे । अभिभावक र मौलानासँग भेटेर विद्यालय शिक्षाको फाइदा बारे जानकारी गराए ।
उनीहरूकाे प्रयास सफल भयाे । नयाँ शैक्षिक सत्रदेखि जेनिशा पुनः विद्यालय जान थालेकी छन् । दुई वर्षपछि साेही विद्यालय फर्किएकी उनी अहिले कक्षा तीनमा पढ्दैछिन् ।
“फुर्सदको बेला मदरसा शिक्षा पनि लिने गरेकी छु । शुक्रबार मदरसामा बुबासँग जान्छु,” जेनिशा भन्छिन्, “ तर, विद्यालय आउन छोड्दिन । विद्यालय सधैँ जान्छु । ट्युसन पनि पढ्छु ।”
उनको दुई भाइ सानै छन् । अर्को वर्ष विद्यालयमै पढाउने परिवारले तयारी गरेको शिक्षक अभिभावक संघकी रञ्जिता ठाकुरले जानकारी दिइन् । उनकाअनुसार अहिले जेनिशा बिना हिचकिचाहट विद्यालय आउने गरेकी छन् । जेनिशासँगै उनको छिमेककी छात्रछात्राहरू पनि पढ्न आउने गरेको उनी सुनाउँछिन् ।
यस्तै, सोही पालिका वडा नम्बर २ की १५ वर्षीया आरती सदा पनि घरायसी समस्याका कारण विद्यालय जान छोडिन् । उनी राजेश्वर निधि माध्यमिक विद्यालयमा पढ्दै थिइन् । घरमा भाइ र आमा बिरामी भएपछि उनले विद्यालय आउन छाेडेकी थिइन् ।
तर, कारोनाको पहिलो लहरमै आसमान नेपालले टोल–टोलमा परिचालन गरेको स्वयंसेवकबाट उनले शिक्षा लिइन् । ती स्वयंसेवकले आरतीको बारेमा सामाजिक परिचालक अस्मिता ठाकुरलाई जानकारी गराए । उनीहरूले जेनिशाको जस्तै आरतीको घरमा पनि विद्यालयबाट बञ्चित नगर्न सुझाए । अहिले आरती कक्षा आठमा पढ्छिन् ।
“पहिला पढाइ बारे थाहा थिएन । उहाँहरूले भनेपछि पढाइको महत्व थाहा पाए,” उनले भनिन्, “अब पढेर शिक्षक नै बन्ने लक्ष्य छ, मेरो । म शिक्षक भएपछि गाउँको सबैलाई भाइबहिनीलाई पढाउँछु ।”
विद्यालयबाट ‘ड्रपआउट’ भएर पुनः विद्यालय आउन थालेकी जेनिशा र आरती प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्ता सयौँ विद्यार्थी गएको आर्थिक वर्ष विद्यालय फर्किएको पालिका शिक्षा संयोजक ज्योति रतन बताउँछिन् ।
“कति जना विद्यार्थी वास्तविक समस्याका कारण विद्यालय आउनुभएको थिएन्,” उनले भनिन्, “कतिको समस्या नभई बहाना मात्रै थियो । हामीले त्यहाँ पुगेर अभिभावलाई विद्यालयसँग जोड्ने काम गर्याैँ ।” विद्यार्थी, अभिभावक र शिक्षकबिच सहकार्य र नियमित सम्पर्क भए यस प्रकारको समस्या नदेखिने उनको बुझाइ छ ।
नगराईन नगरपालिकाका शतप्रतिशत विद्यार्थी विद्यालयमा रहेको उनको दाबी छ । “विद्यालय उमेरमै बिहे गरेर गएका र विदेशिएका बाहेक सबै विद्यार्थी विद्यालयमा भर्ना भएका छन्,” उनले भनिन्, “उनीहरू विद्यालय अनुपस्थित भएको बेला शिक्षक र समाजिक परिचालकले घरमा पुगेर वा फोन गरेर कारण बुझ्ने गरेको छन् ।”
अभिभावकमात्रै जागरूक र इच्छुक भए विद्यार्थी नियमित विद्यालय आउन सक्ने शिक्षक प्रवेन्द्र निधि बताउँछन् ।
“निजी विद्यालयमा अभिभावकले जति चासो लिन्छन्, त्यति नै सामुदायिक विद्यालयप्रति लिएको भए अवस्था पहिले नै सुधार भइसक्थ्यो,” उनी भन्छन्, “म लामो समयदेखि शिक्षण पेशामा छु । दलित समुदायका विद्यार्थीलाई विद्यालयमा टिकाउनै गाह्रो हुन्छ । तर, यहाँ टिकेका पनि छन् । नियमित र उल्लेख्य संख्यामा पढ्न पनि आउने गरेको छन् ।”