जनकपुरधाम । धनुषाको नगराईन नगरपालिका ५ गंगुलीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माणमा कार्यरत थिए, इन्जिनियर रामशंकर यादव । पाँच महिनाअघि भारतीय दूतावासको सहयोगमा बनिरहेको भवन निर्माणमा खटिएका थिए उनी । उनको खानेबस्ने सबै प्रबन्ध विद्यालयकै परिसरभित्र थियो । उनी सबै विद्यार्थीसँग पनि परिचित थिए । मोर्निङ वाकको बेला विद्यार्थीको घरमै पुग्थे ।
जेठ १८ गते उनले कक्षा दशमा अध्ययनरत एक छात्राको मोबाइल नम्बर मागे । धारामा पानी खान जाँदै गरेकी ती छात्रालाई एक्लै देख्दा नम्बर मागेका थिए । त्यो कुरा विद्यालयमा असमान नेपालले गठन गरेको छात्रा सञ्जालसम्म पुग्यो । सञ्जालका छात्राहरूले जेसी शिक्षिका निरु झासमक्ष गुनासो गरे । गुनासो गरेको एक सातापछि उनलाई कामबाट सम्बन्धित संस्थाले बर्खास्त गर्याे ।
त्यसयघि पनि कति जना विद्यार्थीसँग अपशब्द र जिस्काउने हाउभाउमा कुरा गरेको विद्यार्थीहरू बताउँछन् । “कुन जातको हो । यादवबाहेक अन्य जातिको भन्नसाथ तिमीसँग सेटिङ मिल्दैन भन्थ्यो,” इन्जिनियर यादवको भनाइ उद्धृत गर्दै एक छात्राले भनिन्, “यादव थर बताउनेलाई विवाहको प्रस्ताव गर्थ्याे । घुम्न जाने लगायत प्रलोभन दिन्थ्यो ।”
दुई वर्षअघि सोही विद्यालयबाट छात्रालाई ‘ब्याड टच’ गरेको आरोपमा शिक्षक गुड्डुकुमार सिंह कारबाहीमा परे । ती शिक्षकले विद्यार्थीहरूलाई गृहकार्य नगरेको भन्दै नराम्रो मानसायले शरीरमा छुने, समाउने गर्थे । “घाँटीमा पेन र हातले टच गर्थ्याे,” विद्यार्थीको गुनासो सनाउँदै समाजिक परिचालक अस्मिता ठाकुरले भनिन्, “संवेदनशील अंगमा पनि हात लगाउने प्रयास गर्थ्याे । कमजोर, बोल्न डराउने विद्यार्थीलाई यस्तो कर्तुत बढी गर्थ्याे ।”
गएको असोजमा पनि सोही विद्यालयका एक शिक्षकले माफी माग्नु पर्याे । ती शिक्षकले विद्यार्थीको मेकअप र पहिरनको विषयमा नियमित कमेन्ट गर्ने गरेका थएि । “आज तिमी एकदम राम्री देखिएकी छौ । फिटिङ लुगा तिम्रो शरीरमा धेरै सुहाउँछ,” शिक्षकको नराम्रो व्यवहारको फेहरिस्त खोल्दै छात्राले भनिन्, “मेकअप, लिपिस्टिक मेहन्दी लगायत विषयमा फ्लर्ट भएर कुरा गर्नुहुन्थ्यो ।”
शिक्षकको नराम्रो मानसाय भए वा नभए पनि विषयवस्तुभन्दा बाहिरको कुरा शिक्षकले गर्न नपाउने पालिका शिक्षा संयोजक ज्योती रतन बताउँछिन् । “हामीले थाहा पाएपछि विद्यालयमा तीन चरणमा बैठक भयो । पहिले हामीले छात्राहरूसँग कुराकानी गर्याैँ, त्यसमा एक जना जेसी शिक्षिका पनि हुनुहुन्थ्यो,” उनले ती घटना स्मरण गर्दै भनिन्, “त्यसपछि विद्यालय प्रअसहितको टिमले आरोपित शिक्षकसँग कुरा गर्याे । उहाँले माफी मागेर अब त्यसप्रकारको कुरा विद्यार्थीसँग नगर्ने प्रतिबद्धता गर्नुभयो ।”
वैशाख दोस्रो साता सोही विद्यालयमा कक्षा तीनमा अध्ययनरत एक छात्रा हिंसाको शिकार भइन् । सात वर्षीय छात्रले उनलाई संवेदनशील अंग देखाउन प्रस्ताव गरेको थियो । ती छात्रले कपडा फुकालेर ‘प्राइभेट (गोप्य) अंग देखाउ, कस्तो हुन्छ हेर्छु भन्दा छात्राले घरको अभिभावकसँग कुरा सेयर गर्दा घटना बाहिरिएको थियो । पछि सञ्जाल र शिक्षकको समूहले ती विद्यार्थीलाई सचेत गराए ।
यी घटनाहरू विद्यालयमा छात्रा विद्यार्थीमाथि भइरहेको हिंसाका प्रतिनिधिमूलक घटना मात्र हुन् । वैशाख यता एउटै विद्यालयमा घटेको यी चार घटनामा छात्रा सञ्जालको भूमिका र जागरुकता देखिएको प्रधानध्यापक विजयकुमार झा बताउँछन् । सञ्जालकै प्रयासले विद्यालयमा अन्य घटना नघटेको पनि उनको आकलन छ । “यी घटनाहरूबाट विद्यार्थीको चेतनाले घटनाको प्रतिकार गरेको प्रष्टै देखिन्छ,” उनले भने, “विद्यार्थीको हिम्मत बढेको छ । जसले हिंसाको घटना अन्त्य सहयोग पुग्छ ।”