काठमाडौं । काठमाडौंका सडकमा अहिले धनुषाकी २१ वर्षीया ‘कुमारी आमा’ न्यायका लागि भौंतारिइरहेकी छन् ।
आफूलाई नशालु पदार्थ खुवाएर बलात्कार गरिएको व्यक्तिलाई कारबाहीको माग गर्दै उनी काठमाडौंका सडकमा भौंतारिएकी हुन् ।
उनी अहिले बसन्तपुरस्थित डबलीमा आमरण अनसनमा छन् । त्यसअघि उनले आफ्नो ‘चित्कार’ अदालत र सिंहदरबारलेसमेत सुन्नुपर्ने भन्दै माइतीघरमा न्यायका लागि धर्नामा बसिन् ।
२०७६ सालको कात्तिकमा १७ वर्षकी हुँदा हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको भन्दै उनले न्यायको लागि अनसन नै सुरु गर्नुपरेको हो ।
बलात्कारपछि उनको पेटमा गर्भ रह्यो । आफू बलात्कृत भएपछि प्रहरीकहाँ उजुरी दिए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । पीडित महिलाकै साथमा रहेको बच्चा अहिले बच्चा २१ महिना भएको छ ।
आफू बलात्कारको १२ दिनपछि उजुरी लिएर प्रहरीकहाँ पुगेको तर बलात्कारीसँगको मिलेमतोमा मुद्दा कमजोर पारिएको उनको आरोप छ ।
न्यायका लागि अदालत, प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगलगायतका निकायमा धाउँदा पनि न्याय नपाएपछि आमरण अनसन बसेको पीडित महिलाको भनाइ छ । “न्याय दिने सबै निकायले मेरो मुद्दा कमजोर बनाए । घरमा त्यसै पीडादायक जीवन बिताउनुभन्दा आमरण अनसनमार्फत न्याय खोज्ने भन्दै यहाँ आइपुगेकी हुँ,” उनले भनिन् ।
न्यायको खोजीमा दुई महिना पहिले काठमाडौं आएकी उनलाई महिला अधिकारकर्मी अभियन्ताहरुले सहयोग गरिरहेका छन् ।
अनसनको पहिलो दिन काठमाडौंको माइतीघर मण्डलामा बसेकी थिइन् । तर बेलुका प्रहरीले बल प्रयोग गरेर त्यहाँबाट हटायो । पीडितका अनुसार आरोपी शिवराज श्रेष्ठ अहिले बुद्ध एयरमा काम गर्छन् ।
आफू अनसन बस्नुभन्दा केही दिन पहिले आरोपी श्रेष्ठ र उनका आफन्तले बच्चा र आमालाई नै मारिदिने धम्कीसमेत दिँदै आएको पीडित बताउँछिन् । “अपराधी खुलमखल्ला धम्की दिँदै हिँडिरहेको छ । अहिले बुद्ध एयरलायन्समा काम गर्छ । अनसन बस्नुभन्दा केही दिनपहिले मात्रै छोरालाई मारिदिने धम्की दिँदै राति १२ बजेपछि फोन गरेर प्रताडना दिन्थ्यो,” पीडितले भनिन् ।
पीडितका अनुसार आर्थिक प्रलोभनमा मिलापत्र गर्ने ठूलो चलखेल भयो । पटक पटक राष्ट्रिय महिला आयोग, प्रहरी प्रशासन, राष्ट्रिय मानव अधिकार आयोगसँग गुहार माग्दा आफूलाई असहयोग गरेको उनले बताइन् ।
पीडित भन्छिन्, “मुद्दामा धनुषा जिल्ला अदालतले २०७८ माघ २४ गते अपराधीको पक्षमा फैसला गरिदियो । अपराधीको पक्षमा आएको फैसला मेरो काखमा रहेको बच्चा र मैले रुँदै सुन्नुको अर्को विकल्प थिएन ।”
त्यसपछि जिल्ला अदालतको फैसला उपर पीडितले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराइन् ।
गत फागुन १२ गते दर्ता भएको मुद्दामा अहिलेसम्म पेशी तोकिएको छैन । “बलात्कारजस्तो जघन्य अपराधमा पेशी तोक्न अदालतको ढिलासुस्ती किन ? अनि मैले अदालतको फैसला कुरेर कतिन्जेल बस्ने ?,” उनले भनिन् ।
न्यायिक कुनै पनि निकायबाट न्याय नपाएपछि आमरण अनसन बस्न बाध्य भएको पीडितको भनाइ छ । पीडितले न्यायका लागि विभिन्न मागहरु राखेकी छिन् । पीडित पक्षले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, महिला अधिकार आयोग र मानव अधिकार आयोगमा न्यायको ध्यानाकर्षणपत्र बुझाएको छ ।
शुक्रबार पीडित पक्ष र मानव अधिकार आयोगले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनसन बस्ने जानकारी गराएको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनसनभन्दा अन्य तरिकाबाट न्याय माग्न सुझाव दिएको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल भन्छन्, “शुक्रबार पीडित पक्षले अनसन बस्दैछौँ भनेर खबर गरेको थियो । हामीले अनसन नबसी अन्य तरिकाले न्याय माग्न सुझाव दिएका थियौँ । अहिलेसम्म अरु केही जानकारी आएको छैन ।”
मानव अधिकार आयोगका सूचना अधिकारी सोमनाथ सुवेदी पीडित पक्षको अवस्था बुझ्न आएको जानकारी दिए । “हाम्रो तर्फबाट न्याय दिनको लागि पहल गरिरहेका छौँ । जिल्ला अदालतको आदेश पनि पीडितबाट लिएका छौँ,” उनले भने ।
प्रशासनले पीडित बसन्तपुरमा अनसन बसेको थाहा पाएपछि उनीहरुको अवस्था बुझ्नको लागि टोली पठाएको छ ।
उनले बच्चाको डीएनए टेस्ट गराउनुपर्ने माग राखेकी छन् । बलात्कारीकै पक्षमा फैसला गर्ने न्यायाधीशमाथि पनि कारबाही हुनुपर्ने उनको माग छ ।
उच्च अदालतमा ४ महिनाअघि दर्ता गरिएको मुद्दामा अहिलेसम्म पेशी तोकिएको छैन । “म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायलयले मेरो मृत्यु चाहेको हो ?,” उनको प्रश्न छ ।
उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्ने माग रहेको छ ।
बलात्कारी खुलेआम हिँडिरहेको अवस्थामा प्रहरी प्रशासनले पक्राउ गरेर पुनः अनुसन्धान गर्नुपर्ने उनको अर्कोे माग रहेको छ ।
२१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत आवश्यकताका कुराहरु राज्यले सुनिश्चित गरिदिनुपर्ने पनि उनले माग गरेकी छन् ।