site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोबोटिक सर्जरीका उदीयमान नक्षत्र 
SkywellSkywell

मानिसको शरीर शल्यक्रिया गर्ने कार्यलाई अत्यन्त संवेदनशील कार्य मानिन्छ र यसका लागि साह्रै पारंगत हात र धेरै ज्ञान चाहिन्छ । शल्यचिकित्सकले कुनै पनि अंगको चिरफार गर्दा वा आन्तरिक अंग सिलाइ गर्दा होस् वा कुनै नचाहिने अंग काटेर बाहिर निकाल्नुपर्ने होस्, सबै कामका लागि अत्यन्त सीप लगाएर र होसियारीपूर्वक गर्नुपर्छ । त्यसैले चिकित्सकमा पनि शल्यचिकित्सकको छुट्टै महत्त्व हुन्छ । तर, अब विस्तारै मान्छेले हातले शल्यक्रिया गर्ने प्रविधि पुरानो हुँदै छ ।

विकसित मुलुकहरूमा धेरै प्रकारका शल्यक्रिया गर्दा बिरामीलाई अपरेसन टेबलमा राखेपछि उसको अगाडि अब शल्यचिकित्सक हुँदैनन् । बरु, चार हात भएको एउटा मेसिन हुन्छ, जसलाई शल्यचिकित्सकले टाढैबाट सञ्चालन गरिरहेका हुन्छन् । यस प्रविधिलाई रोबोटिक सर्जरी भनिन्छ । अहिलेसम्म यो प्रविधि अन्यन्तै महँगो भएकाले धेरै विस्तार भएको छैन । प्रविधि महँगो मात्र होइन, यस्तो रोबोटिक सर्जनलाई चलाउन सक्षम मानवसर्जनहरूको पनि संसारमा निकै कमी छ । त्यसैले चीन र भारतजस्ता देशले समेत रोबोटिक सर्जरीमा खासै प्रगति गर्न सकिरहेका छैनन् ।

चीन र भारतले धेरै प्रगति गर्नुअघि नै यो क्षेत्रमा नेपालले फड्को मार्ने सम्भावना भने देखिएको छ । किनभने, नेपालका एक सुपुत्र बेलायत तथा अमेरिकाका प्रतिष्ठित अस्पतालहरूमा रोबोटिक सर्जरीमा महारथ हासिल गरेर नेपाल आएका छन् । विदेशमा प्रशस्त सम्भावना हुँदाहुँदै नेपालमै सम्भावनाको खोजी गर्न आएका डा. प्रतीक गुरुङ आफ्नै माटोमा संघर्ष गरेर चिकित्सा क्षेत्रमा नेपाललाई एक अग्रणी स्थान दिन चाहन्छन् ।

KFC Island Ad
NIC Asia

यी युवा डक्टरलाई थाहा छ, नेपालमा कुनै पनि नयाँ काम गर्नका लागि न त प्रोत्साहन पाइन्छ न समर्थन, न सहयोगी हातहरू । तर, जहाँका मानिस जुत्ता लगाउँदैनन् तिनलाई जुत्ता लगाउन सिकाउनुजस्तै, जहाँ आधुनिक चिकित्सा प्रणालीले नै राम्ररी जरो गाडेको छैन, त्यहाँ अत्याधुनिक रोबोटिक शल्यक्रियाको सुविधा स्थापित गरेर अघि बढ्न निकै कष्टकर छ । तर, सँगै त्यसको प्रतिफल पनि त्यतिकै स्वादिलो हुन्छ । डा. गुरुङले अठोट गरेका छन्, “अब नेपालमै बसेर आफूले जानेको सीप प्रयोग गरेर चिकित्सा क्षेत्रमा यो देशमा केही गर्न सकियो भने आफ्नो माटोप्रतिको सच्चा सम्मान हुन्छ ।”

Royal Enfield Island Ad

आफ्नो जन्मभूमिप्रतिको अगाध आस्था र श्रद्धा पनि उनले जन्मँदै लिएर आएका हुन् । जन्मभूमिलाई प्रेम नगर्ने त नगण्य नै होलान्, तर अमेरिकाजस्तो देशमा आफ्नो जल्दोबल्दो सम्भावनालाई चटक्कै बिर्सेर नेपाल आउन केही जिजीविषा अवश्य चाहिन्छ । र, त्यो जिजीविषा उनलाई उनका पिता ‘जनताको छोरो’ नेपाली सेनाका पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङबाट प्राप्त भएको हो । आफ्ना बुवाले नेपाली सेनामा लागेर देशको सेवा गरेका हुनाले होला, उनलाई पनि नेपालको सेवा गर्ने हुटहुटीले यतै आकर्षित गरेको छ । तर, अब कसरी अघि बढ्ने ?

नेपाल आउनेबित्तिकै कसैले लगानी गरेर रोबोटिक सर्जरीको अस्पताल तयार गरिदिने त होइन । फेरि, नेपाली रुपैयाँ करिब तीस करोडबराबरको लगानीमा एउटा रोबोट ल्याउने अनि त्यसलाई चलाउने एउटा मात्र डक्टर हुने अवस्थाले पनि खासै परिवर्तन ल्याउँदैन । तर, अघि पनि बढ्नु छ । डा. गुरुङका लागि यो एउटा ठूलो चुनौती बनेर तेर्सिएको छ । “नेपालीमा एउटा उखान छ,” उनी भन्छन्, “जँघार तर्न अघि बढ्ने अनि खुट्टा कँपाउने काम गर्नु हुँदैन ।” डा. गुरुङ आफ्नो लक्ष्यमा स्पष्ट ढंगले अघि बढेर नेपालको शल्यक्रिया क्षेत्रमा एक कोसेढुंगा बन्ने लक्ष्यमा अलिकति पनि विचलित छैनन् ।

यस्तो स्पष्ट सोच र दृढता भएका यी चिकित्सकलाई यो तहमा पुर्‍याउन उनको शिक्षा, तालिम, अनुभवले धेरै सिकाएको छ । गोदावरीको सेन्ट जेभियर्स स्कुलमा वि.सं. २०३९ सालमा एक कक्षामा भर्ना हुन जाँदादेखि उनमा लगनशीलता, एकाग्रता र मिहिनेत गर्ने गुण विकसित हुँदै गयो । खेलकुदमा सधैँ राम्रो गर्ने र पढाइमा पनि प्रथम पाँचभित्र पर्ने गुरुङ कक्षा आठमा ‘बेस्ट स्टुडेन्ट अफ द एयर’ घोषित हुँदा खेलकुदमा राम्रो भएकाले शिक्षकको प्यारो भएको भनेर साथीहरूले छ्यास्स सुनाए । तर, उनी कक्षा आठ, नौ र दश सबै कक्षामा प्रथम मात्र भएनन्, एसएलसी परीक्षामा समेत सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भए । “अनि, साथीहरूले सरहरूको प्रिय भएर मात्र भन्ने आरोप छाडे होलान् !”

साथीहरूले आरोप लगाउन छाडे होलान् भन्ने उनको अनुमान मात्र हो । तर, उनले तिनको मुखबाट कुनै प्रतिक्रिया सुन्न भने पाएनन् । किनभने, उनी एसएलसीको परिणाम आउनुअघि नै बेलायत पुगिसकेका थिए । त्यस बेला आफ्ना पिताजी नेपालको लागि बेलायती राजदूतावासमा मिलिटरी एट्याचीका रूपमा सरुवा भएकाले उनले सो मौका पाएका थिए । हुन त सेन्ट जेभियर्समा दुई कक्षा पूरा गरेपछि पनि उनी पिताजीसँगै अमेरिकाको क्यान्सस राज्यमा एक वर्ष अध्ययन गर्न गएका थिए । त्यस बेला उनका पिताजी छत्रमानसिंह गुरुङ सेनाको तालिममा छनोट भएर अमेरिका पुगेका थिए । अनि, फर्केर चार कक्षादेखि पुनः उही स्कुलमा अध्ययनलाई निरन्तरता दिए ।

कक्षा–१० पछि बेलायतमा ‘ए’ लेभल पढ्नका लागि पनि उनले निकै प्रतिष्ठित ससेक्सको आर्डिङ्ली कलेजमा छात्रवृत्ति पाए । प्रसिद्ध भारतीय फिल्म अभिनेता शाहरुख खानकी छोरी सुहानाले पनि गुरुङकै कलेजबाट ‘ए’ लेभल गरेकी हुन् । त्यहाँ पनि अध्ययनसँगै फुटबल र क्रिकेटमा राम्रो खेलाडीको प्रतिष्ठा कायमै राखे ।

‘ए’ लेभलपछि प्रतीक गुरुङ चिकित्सा शिक्षा पढेर डक्टर बन्न चाहन्थे । बेलायतमा डक्टरी पढ्न सजिलो छैन । पैसा तिरेर पनि डक्टर पढ्न पाइँदैन । उनी पढ्ने बेलामा बेलायतमा जम्मा २० वटा टिचिङ अस्पताल थिए । त्यसमध्ये एउटा विद्यार्थीले पाँचवटामा मात्र आवेदन दिन पाउँथे । करिब बीसजनाले आवेदन दिएकामा एकजना छनोटमा पर्ने अवस्था थियो । त्यस्तो अत्यन्त प्रतिस्पर्धात्मक अवस्थामा समेत उनलाई बेलायतको चिकित्सा शिक्षामा उच्च स्थानमा पर्ने युनिभर्सिटी कलेज अफ लन्डनको मेडिकल स्कुलले पूर्ण छात्रवृत्तिमा स्वीकार गर्‍यो । भनेको मतलब ‘ए’ लेभल मात्र होइन, एमबीबीएस पनि उनले पूर्ण छात्रवृत्तिमा पढे ।

प्रतीक पढाइमा कहिल्यै पछि परेनन् । एमबीबीएस पढेको दुई वर्षमै राम्रो अंक ल्याउनेहरूलाई मेडिकल स्कुलले थप एउटा विषयमा एकवर्षीय प्रारम्भिक विज्ञानमा डिग्री लिन मौका दिँदो रहेछ । उनले त्यो मौका पनि पाए र क्यान्सर बायोलोजीमा बेसिक साइन्सको डिग्री प्राप्त गरे । यसले गर्दा एकातिर डक्टर हुने बाटोमा गए भने अर्कोतिर आफूले रोजेको विषयमा पीएचडी गर्न पाउने बाटो पनि खुल्यो । एमबीबीएसपछि उनले युनिभर्सिटी कलेज अफ लन्डनबाट छात्रवृत्तिमै पीएचडी. समेत सकाए । सन् २०११ मा पीएचडी सकाउने क्रममा एमआरसीएस (मेम्बर अफ रोयल कलेज अफ सर्जन्स)को ओहोदा पनि प्राप्त गरे । एफआरसीएसका लागि पनि चिकित्सा का अनेक क्षेत्रमा ६–६ महिना गरेर तीन वर्ष काम गर्नुपर्दछ बल्ल त्यसपछि मास्टर्स अफ सर्जरीको परीक्षामा बस्न पाइन्छ । एमआरसीएस लिएपछि बल्ल केको विशेषज्ञ बन्ने भनेर अगाडि अध्ययन गर्न पाइन्छ । गुरुङले युरोलोजी विषयमा अघि बढ्ने चासो देखाए ।

बेलायतमा स्पेसलिस्ट सर्जरी पढ्न पनि सरकारले तोकेको कोटाको आधारमा अन्तर्वार्ता दिएर भर्ना पाइन्छ । त्यस वर्ष युरोलोजीमा करिब २० जनाले मात्र स्पेसलाइजेसन गर्ने मौका पाए, जसमा प्रवेश पाउन नेपालका तेजस्वी विद्यार्थीलाई खासै गाह्रो भएन । तर, तालिम त अझै पाँच वर्ष गर्नै थियो । तालिमपछि फेरि एफआरसीएस (फेलोसिप अफ द रोयल कलेज अफ सर्जन्स) को एक्जिट परीक्षा दिएर पार लगाए । त्यो समय थियो सन् २००६ । त्यसपछि बेलायतमा मात्र होइन, युरोपियन बोर्ड अफ युरोलोजीको परीक्षा दिएर उत्तीर्ण पनि गरे । अब उनले पूरै युरोपमा शल्यक्रिया गर्ने अनुमति प्राप्त गरे ।

यति सबै पढाइ सकेपछि बल्ल उनको प्रवेश रोबोटिक्स सर्जरीमा भयो । सन् २००६–०७ सम्म त बेलायतमा समेत शल्यक्रिया गर्ने रोबोटको प्रवेश भएको थिएन । अमेरिकामा भने रोबोटिक्स सर्जरीको कुरा उनले धेरै पढेका थिए । उनले सन् २०११ मा पीएचडी सक्दा उनको विश्वविद्यालयमा रोबोट सर्जन आएको थियो, त्यो उक्त देशकै दोस्रो थियो ।

यसरी बेलायतमा सुरुसुरुमा आएको रोबोटिक्स सिक्न पनि उनलाई भाग्यले साथ दियो । उनले पीएचडी गर्दाका क्लिनिकल एडभाइजर नै रोबोटिक्स विभागका प्रमुख भएर आएका थिए । त्यो मेसिन अत्याधुनिक र ल्याप्रोस्कोपिकभन्दा निकै उन्नत र विकसित थियो । तर, पीचडीका विद्यार्थीले सहजै त्यो रोबोटबाट सर्जरी गर्न पाउँदैनथे ।

डा. गुरुङ त्यो मेसिन हेरेर दंग पर्थे । त्यस्तो गजबको मेसिन, बिरामीको आन्तरिक शरीर स्पष्ट देखिने, काममा अत्यन्त कम दुःख हुने, बिरामी एक–दुई दिनमै घर फर्कन पाउने, जिउमा धेरै खत पनि नहुने देखेर उनले विचार गरे अब यही क्षेत्रमा जानुपर्छ । सन् २०१२ देखि उनले पनि पढाइका क्रममा रोबोटिक सर्जरी मेसिन चलाउन पाए । तर, यसरी पूरै तवरले सिक्न ४–५ वर्ष लाग्ने देखियो । किनभने, धेरै काम गर्न नपाइने, सिकाउनेहरू पनि आफैँ सिकिरहेका थिए । त्यसैले उनले विचार गरे– अब अमेरिका जानुपर्छ । किनभने, त्यहाँ रोबोटिक्स सर्जरी सुरु भएको २००१–०२ देखि थियो । त्यहाँ धेरै मेसिन, धेरै वरिष्ठ चिकित्सक र रोबोटिक्स सर्जरीमा फेलोसिप पनि पाइने थियो । अमेरिकाले वर्षभरिमा करिब ३० जनालाई यो फेलोसिप उपलब्ध गराउँथ्यो । उनले अमेरिकाको फेलोसिपका लागि प्रतिस्पर्धा गर्ने विचार गरे । सधैँझैँ उनले प्रतिस्पर्धा गरेको पढाइमा छात्रवृत्ति पाए । अमेरिकामा डक्टरी पढेकाले एक वर्ष रोबोटिक्स सर्जरीको तालिम लिन्छन्, किनभने उनीहरूले एमबीबीएस गर्दा नै केही सिकेका हुन्छन् । तर, डा. गुरुङले दुई वर्षको तालिमका लागि आवेदन दिए र सोहीअनुरूप पाए पनि । त्यस अवधिमा उनले रोबोटिक्स सर्जरीमार्फत करिब ३०० व्यक्तिको शल्यक्रिया गरिभ्याए । उनले त्यस बेला ‘डाभिन्ची एक्सआई’ मोडलको चारवटा हात भएको रोबोट मात्र होइन, सिंगल पोर्ट एसपी भनिने रोबोट पनि चलाए, जसले केवल एउटा २५ मिमिको प्वाल बनाएर भित्र छिर्छ र भित्र पुगेपछि चारवटा हात फैलाएर शल्यक्रिया गर्दछ ।

अमेरिकामा त्यति काम गरेपछि त्यहाँ पैसा कमाउने र सफल हुने ठूलो सम्भावनालाई चटक्कै बिर्सेर डा. प्रतीक गुरुङले किन नेपाल फर्कने सोच बनाए ?

नेपाल फर्कने निर्णयका विषयमा उनकी श्रीमतीको भूमिका रह्यो । यसबीच उनको बिहे भइसकेको थियो र श्रीमती कामना नेपालमै बसेर केही गर्ने सोचमा थिइन् । उनले पनि सोचे– यदि, नेपालमा गएर कुनै नयाँ काम गर्नसक्यो भने त आर्थिक रूपमा ठूलो सफलता होला÷नहोला, तर आफूलाई नयाँ काम गरेको आत्मसन्तोष प्राप्त हुनेछ । दम्पतीको कुरा मिल्यो र नेपाल फर्किए ।

तर, त्यति धेरै पढेका नेपाली डक्टरले नेपालमा आउनेबित्तिकै काम पाएनन् । उनलाई नेपाल मेडिकल काउन्सिलको परीक्षा दिएर पास गर्नुपर्ने सर्त तेर्सियो । विदेशमा त्यत्रो पढेर आइसकेको एक अतिविशिष्ट चिकित्सकलाई एमबीबीएसको कोर्सअनुरूपको परीक्षा दिनुपर्ने कुरा अलि अमिल्दो भयो । तर, उनी त्यसका लागि तयारीमा जुटे । धन्न ! नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान् कोइरालालाई सो कुरो चित्त बुझेन । उनलाई थाहा थियो, पीएचडी र पोस्ट डक्टरेट गरेको व्यक्तिलाई स्नातक तहको परीक्षा दिनुपर्छ भन्नु पनि सही थिएन । तथापि, डा. गुरुङले नेपालको नियम–कानुनानुसार परीक्षा दिनै पर्दथ्यो र दिए पनि । त्यसपछि बल्ल उनले नेपालमा एक चिकित्सकका रूपमा काम गर्न पाए । फेरि, नेपाल फर्कनेबित्तिकै कोरोनाको बन्दाबन्दी आदि कारणले उनले धेरै समय केही नगरी बिताउनुपर्‍यो । कतिपल्ट उनलाई नेपाल आएर गल्ती त भएन भन्ने पनि मनमा आयो । तर, नेपालमा नै केही गर्छु भनेर आएको, यहाँको व्यवस्था, यहाँको वातावरण र यहाँका समस्यासँग जुध्नुपर्छ भन्ने पनि बुझेर आएको हुनाले अब विस्तारै उनी यहाँ सहज हुँदै छन् ।

अहिले ओम अस्पताल चाबहिलमा युरोलोजी विशेषज्ञ डक्टरका रूपमा काम गर्दै आएका डा. गुरुङ चाँडै नै आफ्नो विशेष ज्ञान प्रयोग गरेर नेपालमा रोबोटिक्स सर्जरीको विशेष अस्पताल खोल्ने तयारीमा छन् । यसैबीच, उनी लाजिम्पाटको सिवेक अस्पताल तथा जावलाखेस्थित हिलिओस क्लिनिकमा पनि आबद्ध छन् । तर, यो काम सहज छैन । धेरै महँगो छ । अनि, यहाँ रोबोटिक्सका सर्जनहरू उत्पादन गर्न पनि निकै समय लाग्छ । तर, ‘जहाँ अभाव छ त्यही मौका छ’ भनेजस्तै अहिले भारत र चीन पनि यो प्रविधिमा धेरै अघि बढी नसकेको अवस्थामा नेपालले सुरु गरे यहाँ चिकित्सा पर्यटकको पनि ठूलो सम्भावना बढ्ने अनुमान डा. गुरुङको छ । अहिले भारतमा करिब ८०–९० सिस्टम आइसकेको र चीन भारतभन्दा अलि पछाडि भए पनि क्रमशः बढाएर लगेको बताउँछन्, डा. गुरुङ ।

“मैले नै अस्पताल खोल्नुपर्छ र मैले नै रोबोटिक्स सर्जरी आफैँ गर्नुपर्छ भन्ने मेरो धारणा छैन । यो धेरै पैसा लाग्ने र लगानीको प्रतिफल विस्तारै आउने काम भएकाले सरकारले नै लगानी गरेर पनि काम सुरु गर्न सकिन्छ । मेरो पहिलो काम त बिरामी उपचार गर्दागर्दै यहाँ रोबोटिक्स सर्जरी गर्न सक्ने सक्षम चिकित्सक पैदा गर्नु नै हुनेछ,” डा. गुरुङ भन्छन् । उनी अहिले पनि नेपाली सेना चिकित्सा विज्ञान प्रतिष्ठानका एमबीबीएस र पोस्ट ग्रयाजुएटका विद्यार्थीलाई चिकित्सा र युरोलोजीका विषयमा कक्षा लिइरहेका छन् ।

अहिले अलि पुरानो मोडलको एउटा रोबोटिक सर्जरी मेसिन नेपाल ल्याउन करिब तीस करोड पर्छ । सो मेसिनको खर्च उठाउन पनि दिनको तीनवटासम्म शल्यक्रिया गर्नुपर्छ । तर, त्यसका लागि दक्ष चिकित्सक उत्पादन गर्नु नै आफ्नो पहिलो काम हुने डा. गुरुङको विचार छ । एकातिर बिरामीको उपचार हुँदै जान्छ, अर्कोतिर नयाँ नयाँ दक्ष डक्टरको उत्पादन पनि हुँदै जान्छ भन्ने तरिकाले अघि बढ्ने उनको तयारी छ ।

धेरैलाई यस्तो रोबोटिक्स सर्जरी केवल युरोलोजिकल सर्जरी, प्रोस्टेट क्यान्सर, ब्लाडर क्यान्सर वा मिर्गौला क्यान्सरका लागि मात्र बढी उपयोगी हुन्छ भन्ने पनि लाग्छ । त्यो आंशिक सत्य पनि हो । तर, रोबोटिक्स सर्जरीबाट जनरल सर्जरीमा गरिने निकै संवेदनशील अपरेसन गर्न निकै सहयोग पुग्छ । त्यसैले त्यस्ता ठूला अपरेसनहरू अमेरिका, बेलायत तथा अरू विकसित मुलुकहरूमा आजकाल प्रायः रोबोटिक प्रविधिबाटै हुने गर्छ । एपेन्डिक्स, गल ब्लाडर, ल्यापकोलीजस्ता सबै अपरेसन सहजै हुन्छ, हर्नियाको साधारण अपरेसन पनि हुन्छ । गाइनोकोलोजी, ईएनटीका अपरेसन पनि रोबोटिक्सबाटै सजिलो हुने डा. गुरुङ बताउँछन् । केही कार्डियोथोरासिक, केही छातीको अपरेसन पनि यसबाट गर्न सकिन्छ ।

“एकपल्ट यसबाट अपरेसन गर्न थालेपछि यति सजिलो, यति सहज र यसको प्रभावकारिता यस्तो धेरै हुन्छ कि धेरैभन्दा धेरै अपरेसनमा यही प्रविधि प्रयोग गर्दा अस्पताल, डक्टर र बिरामी सबै लाभान्वित हुन्छन् ।”

के रोबोटिक्स सर्जरीका यी उदीयमान नक्षत्र नेपालको चिकित्सा क्षेत्रमा चम्केलान् त ? डा. गुरुङ भन्छन्, “आफ्नो कर्म निरन्तर इमानदारीपूर्वक गर्ने हो । नेपाललाई यो प्रविधिले सहयोग गर्छ भन्ने विश्वास छ । कालान्तरमा रहने प्रविधि यही हो । हामीले कहिलेसम्म ल्याउँछौँ र कति चाँडो यसमा अभ्यस्त हुन्छौँ भन्ने मात्र हो ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro