site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौं महानगरमा बालेनको अग्निपरीक्षा  
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) आगामी सोमबार पदभार ग्रहण गर्दै छन् । स्वतन्त्रबाट महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका बालेन ६१ हजार ७६७ मत पाएर नेतृत्वमा पुगेका छन् । बालेनले विरासत बोकेका राजनीतिक दलहरूलाई पराजित गर्दै महानगरको नेतृत्त्व हात पारे ।  

बालेनले आज आफ्नो सम्पूर्ण समय महानगरपालिका व्यवस्थापनका लागि दिने प्रतिवद्धता व्यक्त गरेका छन् । पाँच वर्षे कार्यकालमा आफ्नो क्षमताले भ्याएसम्म काठमाडौंलाई विश्वको उत्कृष्ट सहर बनाउनेतर्फ लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महानगरवासीको विश्वास नगुमाउने दृढता व्यक्त गरेका छन् ।
 
नगरबासीले सेवा गर्ने मौका दिएको भन्दै काठमाडौं सहरलाई सफा र व्यवस्थित बनाउने बताएका छन् । पेसाले इन्जिनियर बालेन नयाँ र युवा नेतृत्वमाथि महानगरबासीका अपेक्षा बढी हुनु स्वाभाविक हो ।  

बालेनले चुनावी मैदानमा उत्रदै गर्दा २८ बुदे प्रतिवद्धता सार्वजनिक गरेका थिए । बालेनका प्रतिबद्धताहरूमा होम डेलिभरी, आइडिया बैंक, भ्रष्टाचार विरोधी व्युरो, कल सेन्टरदेखि मेट्रो साइबर ब्युरोसम्म छन् । उनले उक्त प्रतिवद्धता बमोजिम महानगरबासीलाई ‘रिजल्ट’ दिएरै छोड्ने दाबी गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

फोहोर व्यवस्थापन, सांस्कृतिक सम्पदा संरक्षण, पूर्वाधार, यातायात व्यवस्थापन, मानसिक सहायता लाइन, सुरक्षालगायत प्रतिबद्धताहरु पनि बालेनले व्यक्त गरेका थिए । यी एजेण्डा र प्रतिवद्धता बमोजिम काम गरेर सफल बन्छन् अथवा बन्दैनन ? यो हेर्न भने अझै पाँच वर्ष बाँकी नै छ । 

महानगरपालिकाका कुल ३२ वडामा भने कांग्रेसले बहुमत प्राप्त गरेको छ । कांग्रेसले १९ वडाध्यक्षको नेतृत्व लिँदा एमालेले १२ वडाध्यक्ष पद जितेको छ । एकीकृत समाजवादी एउटा वडामा सीमित भएको छ । मेयरले गर्ने निर्णयमा हुने बहुमत अल्पमतले बालेनलाई काम गर्न कस्तो प्रभाव पार्छ भन्ने पनि हेर्न बाँकी छ ।
 
स्थानीय सरकार सञ्चालन ऐन बमोजिम गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सञ्चालन हुने भएकाले कुनै पार्टी वा स्वतन्त्र मेयर आएर केही फरक नपर्ने नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरुले बताउँदै आएका छन् । कांग्रेसतर्फका वडाध्यक्षहरुले पनि बहुमतको कदर गर्ने बताइरहेका छन् ।
 
स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरले गरेका निर्णय कार्यपालिकाबाट पास गर्नुपर्ने प्रावधान छ । काठमाडौं महानगरपालिकाको ४२ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसको बहुमत रहने छ । उक्त ४२ सदस्यीय नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, नगरसभाले आफूमध्येबाट निर्वाचित गरेका ५ जना महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभामा निर्वाचित ३ सदस्य हुनुपर्दछ । नगर कार्यपालिकामा बालेन अल्पमतमा छन् । 

Global Ime bank

ऐनको दफा १६ बमोजिम नगरसभा, कार्यपालिकाको बैठक बोलाउने, बैठकमा प्रस्ताव पेश गर्ने÷ गराउने काम नगरप्रमुखको हुनेछ । यसर्थ महानगरपालिकामा राजनीतिक दलबाट निर्वाचित नगरसभा सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ । यस विषयमा मेयर बालेनले नगरसभाका बैठक तथा छलफल लाइभ (प्रत्यक्ष प्रशारण) गर्ने बताइरहेका छन् । 
यसअघि, ०७४ को निर्वाचनमा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले १०० दिनमा १०१ काम गर्ने भन्दै चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए । 
सोही प्रतिवद्धता बमोजिम शाक्य निर्वाचित भए । निर्वाचनमा एमालेले बहुमत प्राप्त गरेको थियो । शाक्यले पाँच वर्षे कार्यकालमा आफ्ना अधिकांश प्रतिवद्धताहरु पूरा गर्न सकेनन् । 

प्रतिवद्धता पूरा गर्ने सन्दर्भमा कतिपय पूर्वमयेरहरूले प्रतिवद्धता अनुसार काम गर्न नसकिने बताउँदै आएका छन् । केन्द्रीय र प्रदेश सरकारको प्रभावसमेत रहेको महानगरमा वर्षौंदेखि महानगरबासीले भोग्दै आएका समस्याको चाङ छ ।
 
यस्ता छन् बालेनका १८ बुँदे चुनावी प्रतिवद्धताः– 
१. शिक्षा 
– इतिहास, योग, आयुर्वेदजस्ता पौराणिक शिक्षा सँगै विश्वस्तरमा जोड्न सकिने खालका उच्चस्तरीय प्रविधिसहितका कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरिनेछ ।
– हप्तामा एक दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद, संगीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गरिनेछ । 
– निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने छ ।  
– अन्तर्राष्ट्रिय विद्यालयहरूलाई राष्ट्रिय विद्यालयहरूसँग सहकार्य गरिने र संस्कृति, जीवनशैली, शिक्षा प्रणाली आदिको आदानप्रदान गर्न भगिनी सम्बन्ध सुरु गरिनेछ ।
– प्रारम्भिक बाल्यकाल शिक्षादेखि सूचना प्रविधि शिक्षाको परिचय दिनेगरी पाठ्यक्रम विकास गरिनेछ । 

२. स्वास्थ्य
– प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिनेछ । 
– हाल भैरहेका अस्पतालहरूको पूर्वाधारमा गुणस्तरीय सुधार, उचित सेवा–सुविधा उपलब्ध गराउने, स्वस्थ वातावरणसहितको सरसफाई तथा विद्यमान स्वास्थ्यकर्मीहरुको सेवा सुविधामा वृद्धि गराइनेछ ।
– मधुमेह र रक्तचापजस्ता रोगहरूका लागि दिगो नियन्त्रण उपायको रूपमा जगिङ तथा व्यायाम गर्ने पार्क निर्माण गरिनेछ । 
– काठमाडौं महानगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गरिने र सेवाहरु कलसेन्टरबाट सञ्चालन गरिनेछ ।
– ७० वर्ष माथिका बृद्ध–बृद्दाको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिनेछ ।
– स्वास्थ्य सेवा कार्डको प्रावधान गरिनेछ । जसमा सबै निजी तथा सार्वजनिक अस्पतालहरूका रेकर्डहरु राखिनेछ । 

३. पूर्वाधार
– कलसेन्टरमार्फत संचालित भौतिक पूर्वाधार, एम्बुलेन्स, सडक, ढलजस्ता पूर्वाधारको मर्मत सम्बार गरिनेछ ।
– सांस्कृतिक महत्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समितिमार्फत निर्माण तथा पुनर्निर्माणका कार्य गरिनेछ ।
– सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थानको पुनर्निर्माण गर्न दक्ष जनशक्तिका लागि भक्तपुरसँग सहकार्य गरिनेछ ।
– सबै वडा र टोलस्तरमा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
– बस स्टपहरुमा फल्चा स्थापना गरिनेछ ।
– फायर ब्रिगेड पुग्न नसक्ने साँघुरा गल्लीहरूमा ओभर हेड ट्यांकी र फायर हाइड्रन्टहरू स्थापना गरिनेछ ।

४. यातायात र यातायात व्यवस्थापन
– सवारी साधनको मात्रा र आवतजावतलाई संघसंस्था तथा कार्यालयको प्रकृतिको आधारमा वर्र्गीकरण गरेर कार्यालय समयको विभाजन गरिनेछ । 
– सार्वजनिक तथा महानगरीय यातायातलाई एउटै छाता संगठन अन्तर्गत ल्याएर शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिनेछ ।
– सवारी साधनको स्थान ट्रयाप गर्न सबै स्थानीय यातायातमा जीपीएस जडान गरिनेछ ।
– सुरक्षाका लागि सबै सार्वजनिक यातायातमा सीसीटीभी जडान अनिवार्य गरिनेछ । 
– काठमाडौं महानगरपालिका भित्रका केही भवनहरु भाडामा लिएर बहु–तले पार्किङमा परिणत गरिनेछ ।
– उपभोग अवधि वा समयअनुसार खुला ठाउँहरूमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिनेछ ।
– काठमाडौं महानगरपालिकाको आफ्नै ट्याक्सी एप संचालन गर्नेछ ।
– सार्वजनिक यातायात एप र मासिक प्रिपेड कार्डको सुरुवात गरिनेछ जसले जुनसुकै यातायातमा महिनाभरी जुनसुकै रुटमा जान सकिनेछ ।

५. पानी व्यवस्थापन
– सरकारी कार्यालयहरूमा स–साना जमिन पुनःभरण पोखरीहरु निर्माण गरिनेछ ।
– बोरिङ्ग प्रणाली भएका सबै घरमा जमिन पुनःभरणका निम्ती रिभर्स बोरिङ् अनिवार्य गरिनेछ ।
– सबै ढुंगेधारा/हिटी पुनः जाग्रित गराउन पुराना स्रोतहरु लाई पुनर्जीवित गराइनेछ ।
– स्थानीय नदीहरू नजिक ढल प्रशोधन प्लान्ट स्थापना गरिनेछ । 
– इनार, बोरिङ्ग र नदीको पानीको सतहमाथि ल्याउनका निम्ती बर्खाको पानी संचय गर्ने व्यवस्था गरिनेछ ।
– मेलम्ची खानेपानीको सबै तहमा अनुगमन र सहकार्य गरिनेछ । 

६. महिला तथा बालबालिका
– हेल्पलाइन कल सेन्टरमार्फत महिला र बालबालिकाका लागि घरेलु हिंसामुक्त सुरक्षित वातावरणको व्यवस्थापन गरिनेछ । 
– सरकारी विद्यालयहरूमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइनेछ ।
– सार्वजनिक शौचालय, सरकारी कार्यालय र सार्वजनिक स्थानमा स्तनपान, शिशु नर्सिंग कोठाको व्यवस्था गरिनेछ ।
– सचेतना र वकालत कार्यक्रमको सन्दर्भमा महिनावारी सम्बन्धी विशेष चेतनाका कार्यक्रम ल्याइनेछ ।
– वडा तहमा स्तन क्यान्सर, पाठेघरको क्यान्सरको स्क्रिनिङ गरिनेछ ।
– वडास्तरीय अभियानमा प्रजनन स्वास्थ्य सचेतनाका कार्यक्रमहरु ल्याइनेछ ।

७. पर्यटन
– पर्यटनलाई स्थानीय वासिन्दाको जीवनचर्यासँग जोड्ने कार्यक्रम ल्याइनेछ । 
– पर्यटनलाई जात्रा, संस्कृति र सम्पदा क्षेत्रसँग जोडेर सरकारी तहबाट प्रवर्द्वन गरिनेछ । 
– होमस्टे संचालन गर्न स्थानीय वासिन्दालाई उपत्यकाको मौलिक खानपिन रहनसहन, पर्यटक सूचना र यहाँको विशेषताको बारेमा तालिम दिइ संचालन गर्न दिइनेछ ।
– अन्तर्राष्ट्रिय चलचित्र, संगीत, कला र अन्य मनोरञ्जन विधिहरूको रूपमा काठमाडौंको ब्रान्डिङ गरिनेछ । 
– अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्र जसले हाम्रो संस्कृतिलाई कुनै पनि रूपमा प्रवर्द्वन गर्न सक्छ भने, उनीहरूलाई अनुदान प्रदान गरिनेछ । 
– काठमाडौंका हरेक ठाउँ र कुनाबाट सबै जात्रा निकाल्न र यसको प्रवर्द्वन गर्न प्रोत्साहन गरिनेछ ।
– स्थानीय व्यञ्जनहरूको ब्रान्डिङ गरिनेछ ।
– नेवाः समुदायमा प्रचलित स्थानीय पेय पदार्थको अन्तर्राष्ट्रिय ब्रान्डिङ गरिनेछ ।

८. प्रदूषण नियन्त्रण
– पूर्वाधार एम्बुलेन्सको सहायताले प्रदूषणको मूल कारणको समाधान गरिनेछ ।
– खाल्डाखुल्डी, ढल निकास र अन्य प्रदूषण उत्सर्जन गर्ने क्षेत्रको द्रुत मर्मतसम्हार र व्यवस्थापन गरिनेछ । 
– धूलो र अन्य प्रदूषण उत्पन्न गर्ने निर्माण स्थलहरूको आइसोलेसन गरिनेछ ।
– उपत्यका प्रवेश बिन्दुमा ठूला सवारी साधन धुने केन्द्र सञ्चालन गरिनेछ, जसले गर्दा दैनिक २०० मेट्रिकटन धुलो काठमाडौं महानगरपालिका भित्र पस्न पाउने छैन ।

९. फोहोर व्यवस्थापन
– अर्गानिक, प्लास्टिक र सिसाजन्य फोहोरलाई छुट्टाछुट्टै संकलन गरिनेछ । 
– काठमाडौं महानगरकै नजिकै इन्सिनरेटर जडानगरी उच्चस्तरीय प्रविधिले फोहोर व्यवस्थापन गरिनेछ । 
– अर्गानिक फोहोरलाई प्राङ्गारिक मलमा परिणत गरी नजिकको कृषि प्रधान जिल्लाहरूमा बिक्री गरिनेछ ।
– काठमाडौं महानगरपालिकाभित्रको सडकमा कालोपत्रे गर्दा प्लाष्टिकजन्य फोहोरसँग आस्फल्ट मिसाएर गरिनेछ ।
– कारखाना वा औद्योगिक फोहोरको परिवर्तनीय क्षमता अनुसार व्यवस्थापन गरिनेछ ।

१०. संस्कृति
– जात्रा, चाडपर्वलगायतका सांस्कृतिक कार्यक्रममा सहभागी हुन प्रोत्साहन गरी काठमाडौं महानगरपालिकाको स्थानीय संस्कृति प्रवर्द्वन गरिनेछ । 
– अन्तर्राष्ट्रिय स्तरमा कुकुर तिहार र म्ह पूजाको ब्रान्डिङ गरिनेछ ।
– स्थानीय गुठी, बाजा खल, मन्दिर, बिहार, गुम्बा बहाल र अन्य स्थानीय आदिवासी उपसमूहहरूलाई संस्कृति प्रवर्द्वन का लागि अनुदान प्रदान गरिनेछ ।

११. सम्पदा
– अधिकार सम्पन्न सम्पदा समक्षण अयोग गठन गरिनेछ ।
– सांस्कृतिक सम्पदास्थल वरिपरि घरहरूको जीर्णोद्धार र पुनःस्थापना गरी आफ्नो शैली अनुसार मुहार फेरिनेछ ।
– पुराना मन्दिर, स्तूप, गुम्बालाई पुराना वैज्ञानिक प्रविधिहरू जस्तैः लिच्छवी वा मल्ल कालअनुसार पुनःनिर्माण गरिनेछ ।
– नेवा छेको प्रवर्दधनका निम्ती इन्जिनियरिङ र आर्किटेक्चर पाठ्यक्रममा त्यस शैलीको विज्ञानलाई जोड दिइनेछ ।

१२. कृषि
– अर्गानिक फोहोरको रूपान्तरणबाट नजिकको कृषिप्रदान नगरपालिकाहरूमा जैविक मल उपलब्ध गराइनेछ ।
– तरकारी उत्पादन गर्न र काठमाडौंको ८० लाख जनसंख्यालाई उपभोग गराउन देशैभरी रहेका कृषियोग्य खाली जग्गा भाडामा लिइ फलफूल तथा तरकारी खेती गरिनेछ ।
– त्यस्ता गाउँपालिका तथा नगरपालिकाहरुमा बीउ उपलब्ध गराई कृषि उत्पादन तथा रोजगारीको सिर्जना गरिनेछ । उत्पादन भएका फलफूल तथा तरकारीका लागि कोल्ड स्टोर निर्माण गरिनेछ ।
– शैक्षिक पृष्ठभूमि नभएता पनि युवालाई कृषि तालिम र काठमाडौं महानगरपालिकाले भाडामा लिएको जग्गामा रोजगारी दिइनेछ ।

१३. खेलकुद
– वडा तहमा खेलकुद मैदान र खेलकुद केन्द्र निर्माण गरिनेछ ।
– खेलकुद र युवा सशक्तिकरणको प्रवर्द्वन गर्न बैंकहरूसँग उनीहरूको संस्थागत सामाजिक उत्तरदायित्व समावेश गर्न सहकार्य गरिनेछ । 
– स्थानीय खेलाडीलाई विद्यालयदेखि वडातहमा तालिम दिन राष्ट्रिय खेलाडीलाई तलब स्केल उपलब्ध गराइनेछ ।
– अन्तर्राष्ट्रिय खेलकुद क्लबहरूसँगको सहकार्यमा युवा लिगहरु आयोजना गरिनेछ । 
– पर्यटन र अर्थशास्त्रलाई प्रत्यक्ष प्रवद्धन गर्न अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स खेलाडीलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरमा ई–स्पोर्ट्स प्रतियोगिता आयोजना गरिनेछ ।

१४. खुला ठाउँ र हरियाली
– नक्सालसहित ४२ देखि ४५ खुला ठाउँलाई तिनीहरूको आकार अनुसार पार्क, खेलकुद मैदान, व्यायाम र दौड गर्ने ठाउँमा रूपान्तरण गरिनेछ ।
– शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्न क्यालिस्थेनिक पार्कहरूको निर्माण गरिनेछ । 
– सन्ध्याकालीन खेलकुद प्रवर्द्वन गर्न खुला ठाउँमा फ्लड लाइट जडान गरिनेछ ।
– पानी रिचार्जको लागि खुला ठाउँहरू प्रयोग गरिनेछ ।
– सडकको हरियाली सुधार गर्न फुटपाथ तथा सडक मध्य पट्टी वृक्षरोपण गरिनेछ ।
– विद्यालय, अस्पताल, सरकारी कार्यालय, मल र मनोरञ्जन पार्कजस्ता सार्वजनिक स्थानमा हरियाली क्षेत्र तोकेर हरियाली प्रवर्द्वन गरिनेछ ।
– एक घर एक रुख अभियान सुरु गरिनेछ । 
– नदी कोरिडोरमा वृक्षरोपण गरिनेछ । 

१५, अनलाइन सेवा 
 – सबै वडा र नगरपालिकास्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गरिनेछ ।
– जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्र विवाहदर्ता प्रमाणपत्रजस्ता फारमहरुको लागि सबै अनलाइन आवेदन भर्न प्रावदान मिलाइनेछ ।
– जग्गा कर, घर कर, भाडा कर कम्पनी कर आदिका लागि अनलाइन सेवाहरू सुरु गरिनेछ । 
– सूचनाको हकका लागि डिजिटल पारदर्शिता अपनाइनेछ । 
– डिजिटल माध्यमबाट खरिद टेन्डर प्रक्रिया र बजेटको परदर्शिता गराइनेछ ।
– कार्यपालिकाको महत्वपूर्ण बैठकहरू निर्णयहरू प्रत्यक्ष प्रशारण गरिनेछ ।
 
१६. होम डेलिभरी सरकार
– जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र तथा अन्य कागजातको होम डेलिभरी गरिनेछ ।
– वृद्ध भत्ताको होम डेलिभरी गरिनेछ ।
– होम डेलिभरीका लागि रोजगारी सिर्जना गरिनेछ ।

१७. आइडिया बैंक
– अदक्ष जनशक्ति, दक्ष जनशक्ति लगानीकर्ता र उद्यमशीलता विशेषज्ञहरूको तथ्यांक गरी रोजगारी र उद्यमशीलताका अवसरहरू उपलब्ध गराउन सहकार्य गरिनेछ । 
– सिड मनि र तालिम प्रदान गरी स्थानीय उत्पादन, साना तथा मझौला घरेलु उद्योग, हस्तकलाको प्रवर्द्वन गरी बजार प्रदान गरिनेछ । 
– प्रत्येक मार्टमा स्थानीय उत्पादनहरूका लागि २० प्रतिशत ठाउँको विनियोजन गरिनेछ । 
– युवाहरूलाई उनीहरूको व्यक्तिगत करिअर मार्ग पता लगाउन मद्दत गर्न करिअर परामर्श र कोचिङ उपलब्धता गराइनेछ ।
 

१८. दक्ष उद्यमशीलता र इनोभेसन केन्द्र
– स्थानीय जनताको सीप, प्रविधि सुधार गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिनेछ ।
– सीप र उद्यमशीलता प्रशिक्षण दिइनेछ ।
– काठमाडौं महानगरका समस्या समाधान गर्न राष्ट्रिय आविष्कार केन्द्रलाई अनुदान दिइनेछ ।
– काठमाडौं महानगरपालिकामा आविष्कार केन्द्रका शाखा सञ्चालनमा ल्याइने छन् प्रारम्भिक चरणमा उद्यमशीलता मानसिकता सुरुवात गराउन इनोभेसन केन्द्रसँग स्थानीय विद्यालयहरूलाई सहकार्य गराइनेछ ।

१९. नेपाल भाषा, रञ्जना लिपि र नेपाल संवतको प्रवर्द्वन 
– स्थानीय भाषा र संस्कृतिको प्रवर्धन गर्न स्थानीय एनिमेसन, चलचित्रहरू र स्थानीय पात्रहरूको परिचय गराइनेछ ।
– कक्षादेखि ८ सम्मको पाठ्यक्रम पुस्तकमा नेपाल भाषा, रञ्जना लिपि र नेपाल संवतको परिचय राखिनेछ । 

२०. ग्रेटर नेपाः भ्याली कस्मोपलिटन
– काठमाडौं महानगरपालिका वरपरका सबै नगरपालिकालाई एउटै चिनारी नेपा उपत्यकाका रूपमा  प्रवर्द्वन गर्न अन्य सबै नगरपालिकासँग सहकार्य गरिनेछ ।
– सडक, ढुवानी, फोहोर व्यवस्थापन करिडोर र नदीको सन्दर्भमा सहकार्य सुधार गरिनेछ । 

२१. प्रशासन र व्यवस्थापन
– सबै सरकारी कार्यालयमा सीसीटिभी जडान गरिनेछ ।
– सरकारी कार्यालयमा बिहानको सिफ्ट सुचारु गरिनेछ । 
– सरकारी कार्यालयहरूमा प्रभावकारी सेवा डेस्क दिइनेछ ।
– काठमाडौं महानगरपालिकाको मेयर कार्यालयको प्रत्यक्ष नियन्त्रणमा प्रभावकारी गुनासो वाकस राखिनेछ । 
– स्थानीय सरकारलाई स्थानीय जनता र स्थानीय निकायसँग प्रत्यक्ष जोडिनेछ ।
– सरकारी प्रक्रियाको अनुगमन र फिल्टर गर्न स्थानीय जनतासँग सेयरको मासिक वडा बैठक गराइने छ ।

२२. भ्रष्टाचार विरोधी ब्यूरो
– काठमाडौं महानगरभित्र भ्रष्टाचारविरुद्धको विशेष फोर्स सबै निजी, सार्वजनिक र सरकारी क्षेत्रका लागि तयार पारिनेछ । 
– भ्रष्टाचार विरोधी साइबर ब्यूरो, अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सहकार्य गरिनेछ ।
– मेयर कार्यालयसँग सिधै जोडिएका सबै सरकारी कार्यालयमा गुनासो बाकस राखिनेछ । 

२३. मेट्रो साइबर ब्यूरो
– साइबर अपराध नियन्त्रण र मानसिक स्वास्थ्य समस्याहरूको नियमनका लागि आफ्नै साइबर ब्यूरो कल सेन्टरद्वारा नियमन गरिनेछ । 
– वकालतका विभिन्न तहहरूमा स्थानीय जनताहरू बीच डिजिटल साक्षरताको प्रवर्द्वन गरिनेछ ।

२४. कल केन्द्र
– स्वास्थ्य एम्बुलेन्स, पूर्वाधार एम्बुलेन्स, पशु एम्बुलेन्स, फायर ब्रिगेड र विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसहित कल सेन्टर सञ्चालन गरिनेछ ।
– कल केन्द्रहरूमार्फत प्रकोप चेतावनी अलार्महरूको जडान गरिनेछ ।
– मानसिक स्वास्थ्य समस्याहरू र तुरुन्त परामर्शको साथ मानिसमा आत्महत्या गर्ने प्रवृत्ति घटाउने प्रयास गरिनेछ ।
– पुनर्वास केन्द्रहरूलाई कल सेन्टरहरूसँग जोडिने छ । घरेलु हिंसा उत्पिडन र बाल दुर्व्यवाहार संचारको स्थापना गरिनेछ ।

२५. प्रकोप जोखिम व्यवस्थापन
– नियमित र अनिवार्य विपद् सचेतना र उद्धार अभ्यास गरिनेछ । 
– जुद्ध बारुण यन्त्र र अन्य उद्घार अपरेटरहरू अपग्रेड गरिनेछ ।
– अलार्म प्रणालीद्वारा सामूहिक प्रकोप संचारको स्थापना गरिनेछ ।
– स्थानीय जनतालाई प्राथमिक उपचार तालिम दिइनेछ ।

२६. स्वास्थ्य बिमा
– करदातालाई कर रकम अनुसार स्वास्थ्य बिमा उपलब्ध गराइनेछ ।
– बिमा सेवाका लागि केन्द्रीय सरकार र अस्पतालसँग सहकार्य गरिनेछ ।

२७. मानसिक स्वास्थ्य सहायता लाइन
– कल सेन्टर नम्बरमा मानसिक स्वास्थ्य सहायता लाइन सुरु गरिनेछ ।

२८. सुरक्षा
– अपराध नियन्त्रण र निगरानीका लागि प्रारम्भिक चरणमा काठमाडौं महानगरपालिकामा १० हजार सीसीटीभी जडान गरिनेछ ।
– सुरक्षा सुधारका लागि काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई तालिम सुधार र उचित परिचालन गरिनेछ । 
– काठमाडौं महानगरपालिका भित्रको नेपाल प्रहरीसँग कलसेन्टरमार्फत जोडिने र सुरक्षा समस्यामा सहकार्य गरिनेछ ।
– नगरपालिका प्रहरीको संख्या बढाएर प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !