पोखरा । पोखरा महानगरपालिकामा बिस हजार ७८१ मत बदर हुँदा विद्रोही पोखरेली उमेदवारले जमानत पनि जोगाउन सकेनन् । साक्षर जिल्लाका शिक्षित मतदाता भएपनि मतदाता शिक्षा नपुगेका कारण महानगरका मतदाताको प्रमुख पदमा मात्रै १४.५२ प्रतिशत मत बदर हुन पुग्यो ।
यो मुख्य निर्वाचन कार्यालयले दिएको तथ्यांक हो ।
निर्वाचन आयोगले दिने यस्तै तथ्यांकले पूर्वी धरानदेखि राजधानी काठमाडौं, मधेसको जनकपुरदेखि सुदूरपश्चिमको धनगढीमा चामत्कारिक मत विद्रोही उमेदवारले पाएका छन् ।
मुख्य सहरमा देखिएका विद्रोहका बाछिटा पोखरामा आइपुग्न भने समय लाग्यो । यसपटकको स्थानीय तह चुनावमा पोखरेलीले विद्रोही रोजेनन्, दलभित्रै विकल्प खोजे र धनराज आचार्यलाई पोखराको अभिभावक बनाए ।
नेपाली शब्दकोषले विकल्पलाई, “दुई वा बढी विषयमध्ये कुनै एक विषय छान्ने काम,” भनेर परिभाषित गरेको छ ।
पोखराको प्रमुखका ती २३ वटा विकल्प छान्दा पोखरेलीले स्थानीय चुनावमा पहिलोपटक भाग लिएको नयाँ दल नेकपा एकीकृत समाजवादीलाई रोजे । ‘कलम’ को विकल्प पोखरेलीले रोज्दा काठमाडौं, धरानमा ‘लौरो’ ले विद्रोह गर्यो भने धनगढीमा ‘आँप’ चुनाव चिह्नधारी उमेदवारलाई मतदाताले रोजे ।
एउटा भनाइ छ, “नागरिक अनाज्ञाकारिता वा केही दायित्वहरूको पालना गर्न असफल हुनु भनेको विद्रोहको कार्य गर्न प्रायः सबैभन्दा सूक्ष्म तरिका हो ।”
हो, पोखरेली मतदाता पनि राज्यले गरेको अनाज्ञाकारिताबाट रुष्ट पक्कै थिए । तर, त्यसको विकल्प उनीहरूले विद्रोही उमेदवारलाई देखेनन् । पोखरेलीले दललाई नै विश्वास गरे र दलीय विद्रोहबाट पुराना पार्टी र दोहोरिएका उमेदवारको सट्टामा नयाँ व्यक्तिलाई जिताइदिए ।
पोखराको निर्वाचनमा मतदालाई पनि यी चुनाव चिह्नको विकल्प मतपत्रमा दिइएको थियो । उमेदवार पनि थिए ।
तर, देशभरिमा हिट भएको लौरो चुनाव चिह्नधारी पोखराका उमेदवार खडकराज पौडेल (गनेस)ले तीन हजार ३० मत मात्रै ल्याए । जबकि चुनावअघि उनले ५५ हजार मत ल्याएर विजयी हुने आकलन गरेका थिए ।
निर्वाचन परिणामअनुसार उनले पाएको मत भनेको कुल सदर मत एक लाख २२ हजार ३२९ को दुई दशमलव ४८ प्रतिशत मात्रै हो ।
भरतपुरमा बागीको रूपमा भुइँकटर लिएर विद्रोहमा उत्रिएका जगन्नाथ पौडेले १४ हजार ७३८ मत ल्याउँदा पोखराको विद्रोही बन्न चाहेका पौडेलले विवेकशील साझा, मंगोल नेसनल अर्गनाइजेसन जस्ता साना पार्टीका उमेदवारलाई मात्रै जिते ।
यो चुनावले पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पाँच हजार ६७४ मतसहित तेस्रो शक्तिको रूपमा उदय गरायो । भलै उसका उमेदवारले पनि जमानत चाहिँ जोगाउन सकेनन् ।
पोखराको प्रमुखमा निर्वाचित धनराज आचार्यलाई पाँच दलको साथ थियो । तर, ती पार्टीलाई छाड्दा आफू पनि बालेन वा हर्क साम्पाङ नै भएको अभिव्यक्ति उनले दिएका छन् ।
बीबीसीका पत्रकार नारायण दाहालले पोखरामा किन स्वतन्त्र उमेदवारलाई मतदाताले साथ दिएनन् भन्ने प्रश्नमा भनेका छन्–
वास्तवमा स्वतन्त्र उठ्ने भन्ने कुरा यो दलीय व्यस्थामा असाध्यै कठिन कुरा हो । मान्छे स्वतन्त्र रहनै दिँदैनन् । धेरै गाह्रो छ । एक किसिमले भन्ने हो भने यो पार्टी, त्यो पार्टीमा विभाजित नभइकिन बाँच्न पनि गाह्रो छ ।
प्रमुखमा उपप्रमुखमा भन्दा बढी बदर
पोखरामा खसेको भन्दा बढी मत बदर देखिएको हो । दुई लाख ७ हजार ७१२ मतदाता रहेको पोखरामा ६८.९० प्रतिशत मात्रै मत खसेको थियो । कुल १ लाख ४३ हजार ११० मत खसेको पोखरामा १४.५२ प्रतिशत मत बदर भएको छ । जुन अन्य पालिकाको भन्दा बढी हो । गठबन्धनबाट मेयरमा विजयी भएका एकीकृत समाजवादीका धनराज आचार्यले ५८ हजार ८९३ मत प्राप्त गरे । छ हजार ४५ मतान्तरले कृष्ण थापालाई हराएका हुन् । एमालेबाट प्रत्यासी रहेका कृष्ण थापाले ५२ हजार ८४८ मत प्राप्त गरे ।
मेयरमा एकलाख २२ हजार ३३९ मत सदर हुँदा २० हजार ७८१ मत बदर भएको छ । जसमध्ये सम्पूर्ण रूपमा बदर मत संख्या ८९० रहेको छ ।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ दोस्रो पटक विजयी भइन् । उनले तीन हजार ८४६ मतान्तरले कोपिला रानाभाटलाई हराइन् ।
मञ्जुले ६० हजार ५४६ मत प्राप्त गर्दा कोपिला रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गरिन् । उपमेयरमा एक लाख २३ हजार ४ सय ३८ मत सदर हुँदा १९ हजार ६७२ मत बदर भएको छ ।
उपमेयरमा पूर्ण बदर मत भने रहेको छैन ।
एक लाख ४३ हजार ११० मत गणना हुँदा मेयरमा कस्ले कति पाए ?
१. धनराज आचार्य गठबन्धन (कलम)– ५८८९३
२. कृष्ण थापा एमाले (सूर्य)–५२८४८
३. शंकर खराल राप्रपा (हलो)–५६७४
४. गणेश पौडेल स्वतन्त्र (लौरो)–३०३०
५. शुसिला केसी अधिकारी विवेकसिल साझा (तराजु) –३३८
६. प्रेमप्रसाद गुरुङ मंगोल नेसनल अर्गनाइजेसन (कुखुराको भाले) –५४६
७. मुना बानियाँ अमुल परिवर्तन मसिया पार्टी नेपाल (हृदय)– १४९
८. संजय तिमिल्सिना मौलिक जरोकिलो पार्टी ( किबोर्ड सहितको कम्प्युटर )–४९
९. किसान सिंह गुरुङ स्वतन्त्र (पुतली) –१३५
१०. सुनिल बहादुर कोइराला स्वतन्त्र (हास) –२७
११. मुक्तिनाथ सुवेदी नेपाली जनता दल (चक्का पांग्रा) – १२२
१२. भोजराज खनाल सचेत नेपाली पार्टी (सिंह) –१०८
१३. नवराज बास्तोला स्वतन्त्र (आँप) –३९
१४. रामराज अधिकारी स्वतन्त्र (खरायो) –११०
१५. अनिल कुमार राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (दापसहितको खुकुरी) –४४
१६. आशिष थापा उन्नत लोकतन्त्र पार्टी ( खुल्ला पुस्तक )–६४
१७. शरण सिंह मोक्तान जनमत पार्टी (लाउड स्पिकर )–२५
१८. गोविन्द प्रसाद शर्मा नेकपा समाजवादी (कार) –१४
१९. भोजराज त्रिपाठी नेकपा माओवादी समाजवाद (महिला पुरुष)–२६
२०. दिलबहादुर गुरुङ स्वतन्त्र (गुलाबको फुल)– ३४
२१. विमल बहादुर कार्की (भुइकटर)– १७
२२. सृजना देवी रिजाल कार्की राष्ट्रिय नागरिक पार्टी (चंगा)–३२
२३. रनबहादुर दमै देशभक्त समाज बाह्रसिगे (जरायो) – ५