काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आफूले सञ्चालन गर्नेबाहेक अरू कुनै पनि लिगलाई मान्यता नदिने निर्णय गरेको छ । यही जेठ १० गते बसेको क्यानको बोर्ड बैठक यस्तो निर्णय गरेको हो ।
एभरेस्ट प्रिमियर लिग (ईपीएल)का फ्रेन्चाइज क्लबका मालिकहरूले आफूहरूको लिगलाई मान्यता दिनुपर्ने माग गरिरहेको अवस्थामा क्यानले उक्त निर्णय गरेको हो ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले यसअघि नै क्यानले नेपाल ट्वान्टी–२० लिगको आयोजना गर्ने भएकाले अरू लिगलाई मान्यता नदिने बताएका थिए । त्यसपछि ईपीएलका तर्फबाट जेठ ९ गते पत्रकार सम्मेलन गरी क्यानको कार्यक्रममा कुनै सहयोग नगर्ने घोषणा गरिएको थियो ।
क्यानले नेपाल ट्वान्टी–२० लिगको पाँच टिमको नाम पनि तय गरेको छ ।
क्यानले गरेका निर्णयहरू-
१. नेपाल टी–२० लिगको लागि निम्नानुसारको टिमको नामहरू तय गरेको छ– विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा, फार वेस्टर्न ।
२. नेपालमा हालसम्म सञ्चालनमा रहेका अन्य फ्रेञ्चाइज्ड लिगहरूले नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने र संघको आफ्नै आधिकारिक लिग सञ्चालन हुने भएकोले अन्य कुनै पनि लिगहरूलाई राष्ट्रिय मान्यताप्राप्त लिगको रूपमा मान्यता नदिने तर क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिन सकिने निर्णय गरियो ।
३. अप्रिल १, २०२२ देखि लागु हुने गरी राष्ट्रिय क्रिकेट टिमका पुरुष तथा महिला खेलाडीहरू, मैदान कर्मचारीहरू, मैदान कार्यालय सहयोगी र टीयू मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक निम्नानुसार वृद्धि गरिएको छ–
क. राष्ट्रिय क्रिकेट टिमका (पुरुष) सेन्ट्रल कन्ट्रयाक्टमा रहने सम्पूर्ण खेलाडीहरूको मासिक पारिश्रमिक १० हजार रुपैयाँले वृद्धि गरिएको छ ।
ख. महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड ‘सी’मा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक पाँच हजार, ‘बी’ र ‘ए’ ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजार रुपैयाँले वृद्धि गरिएको छ ।
ग. त्यसैगरी, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक तीन हजार रुपैयाँले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक पाँच हजार रुपैयाँले वृद्धि गरिएको छ भने टीयू मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजार रुपैयाँले वृद्धि गरिएको छ ।