site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हु इज केपी ओलीको जवाफ हुन् ‘धनराज’
SkywellSkywell

पोखरा । उनी हर्क साम्पाङ होइनन्, न बालेन हुन् । जनकपुरका मनोजकुमार वा धनगढीका गोपाल हमाल पनि होइनन् ।

तर, उनी केपी ओलीको 'अहंकार, व्यङ्ग्य, झरेको रौँ, माधव नेपालको नाममा मुख कुल्ला गर्छु, भन्ने अभिव्यक्ति र हु इज केपी ओली भन्ने दम्भी भाषण'को जवाफ हुन् ।

‘धनराज’ । उर्फ, पोखराका १५ औँ नगरप्रमुख ।

KFC Island Ad
NIC Asia

कलम चुनाव चिन्हबाट निर्वाचन लडेका धनराज आचार्य अब पोखराका नगरप्रमुख मात्र होइनन्, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका आड दिने लौरो हुन्, विश्वासका पात्र हुन् । जसले दशकौँसम्म एमालेको राजनीति गरेर, एमालेमा नै विद्रोह गरेर, नयाँ पार्टीमा लागेर एमालेलाई नै पराजित गरे ।

एमालेको गढ मानिने पोखरा महानगरमा ‘अनटेस्टेड’ पार्टी हार्छ भन्नेलाई उनले ब्यालेटबाट जवाफ दिएका छन् ।

Royal Enfield Island Ad

विद्रोही स्वभाव र मन नपरेको अवस्थामा बाटो बदल्न सक्ने क्षमता उनको छ । त्यही स्वभावले उनले बाटो बदले र लक्ष्यमा पुगे ।

९ बजे नै सुतिसक्ने उनका बुवा ऋतुनाथ आचार्य ७२ वर्षको उमेरमा छोराको विजय र्यालीमा सहभागी हुन भन्दै सहिदचोकमा आएका छन् । उनै आचार्यले छोराको विद्रोही स्वभावबारे हामीलाई बताए । “उ कहिल्यै दोश्रो भएन, एकपटक भनेपछि सम्झिन्थ्यो, चाहेमा बाटो बदल्न सक्ने उसको क्षमता छ,” छोराको स्वभावबारे उनले भने ।

तर, एमालेमा हुँदा सँधै माधव नेपालको ट्याग लागेर किनाराकृत गरिएका आचार्य अहिले बाटो बदलेरै एमालेसँग बदला लिएका छन् ।

पार्टी राजनीतिमा तीन दशकबढी सक्रिय हुँदा पनि उनले लाभको पदको टिकट कहिल्यै पाएनन् । पोखरामा धु्रवीकृत ओली गुटले उनलाई एमालेमा रहँदा कहिल्यै अगाडि बढाएन । तर, उनले माधव नेपालको साथ छाडेनन् । दुईदुई पटकको संसद विघटन देखि एमालेमा विग्रह देखिएर समानान्तर कमिटी गठन हुँदासम्म उनी माधव नेपालकै पक्षमा उभिए र उनलाई गण्डकीको राजधानीबाट समर्थन दिए ।

पछि एमाले नै फुट्यो, फुटेको एमालेमा धेरै नेता गएनन्, तर माधव नेपालको नेकपा (एकीकृत समाजवादी)लाई उनले कास्कीबाट थामिदिए । त्यही उपक्रममा बनेको गठबन्धनले पोखराको प्रमुख समाजवादीलाई दियो । त्यही समाजवादीबाट देशकै ठुलो महानगरको अभिभारा पाँचवर्षको लागि आचार्यको काँधमा आएको छ ।

वैशाख २७ गते पोखराको अमरसिंह चौरमा एमालेको सभालाई सम्बोधन गर्न आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई बाँदरको संज्ञा दिँदै ३० गतेपछि एमाले के हो हेर्नु भन्ने चुनौती दिएका थिए । त्यसको १२ औँ दिनको मध्यरातमा मतदाताले ब्यालेटमार्फत ओलीलाई जवाफ दिएका छन् ।

पोखरामा आचार्यले सुरुदेखि नै अग्रता लिँदै गर्दा उनलाई ‘एमाले समर्थित गठबन्धनका उमेदवार’ भनेर सामाजिक सञ्जालमा चर्चा गरिएको थियो । एमालेभित्र अन्तर्घात र अन्तरसंघर्ष, उमेदवारको टिकट खोसिएर अर्का उमेदवार फेरिँदा यहाँ देखिएको गुटगत प्रतिस्पर्धा र रुष्टतामा खेलेर नै उनले जीतलाई सहज बनाएको सत्य हो । अर्कातर्फ, पार्टी जीवन नै एमालेमा बिताएपछि पोखरेली एमालेको नाडी छामेका आचार्यलाई एमालेकै एक तप्काले सहयोग गरेको चर्चा पनि व्यापक छ ।

“हामीले एमालेमा विद्रोह गरेर आएका हौँ, एमालेका कमजोरी हामीलाई थाहा छन्, हामीले एमालेको अंश छुटाएर ल्याएका छौँ, एमालेलाई हराउन सक्ने भनेकै हामी हो,” उमेदवार नबन्दै धनराजले गठबन्धनको कार्यक्रममा यही वाक्य बोल्दै आएका थिए । त्यसमा उनी केही हदसम्म सफल पनि भए ।

धनराजले जित्दै गर्दा एमालेले चाहिँ निर्मम समिक्षा गर्ने र पार्टीमा ‘डिजास्टर’ भएको अभिव्यक्ति दिन थालेको छ ।

अर्कातर्फ गठबन्धनको लाभ पनि धनराजले जित्ने अर्को आधार बनेको सत्य हो । गठबन्धनको सबैभन्दा ठुलो दल कांग्रेसले सुरुमा नेतृत्व आफूले नै पाउनुपर्ने भन्दै धनराजलाई रोक्नका लागि कास्कीमा गठबन्धन तोडिएको भन्ने विज्ञप्तिबाजी समेत गर्न पुग्यो । कास्कीका कांग्रेसी टोली बालुवाटारदेखि सानेपासम्म धर्ना दिन पुगे ।

तर, कुनै पनि हालतमा पोखरा नछाड्ने माधव नेपालको अडान कायमै रह्यो । त्यो अडान कायम रहनुमा पनि धनराजको भूमिका छ । माधव कुमार नेपाल पर्वतको कार्यक्रममा गएर पोखरा फर्किँदा धनराजले एउटा ८३ पेजको डकुमेन्ट (दस्तावेज) बुझाएका थिए । त्यो डकुमेन्टमा वडागत रूपमा नेकपा (एकीकृत समाजवादी)का मतदाताहरूको नाम नम्बरसहितको विवरण थियो ।
१४ हजार मतदाता आफ्नो पक्षमा रहेको भन्ने डकुमेन्ट बुझाएपछि गठबन्धनका बैठकमा माधव कुमार नेपालले त्यसैलाई आधार बनाएर पोखराको नेतृत्व समाजवादीकै पक्षमा पार्न सफल भए ।

टिकट निश्चित भएपछि नै धनराजले सार्वजनिक कार्यक्रममा ‘जय नेपाल’ भन्दै मतदाता फकाउने नीति अख्तियारी गरे । यसले कांग्रेसी कार्यकर्ता चिढिएनन् । एमालेलाई उनले कहीँपनि गाली नगरी सहानुभुति कायमै राखे ।

गठबन्धनको मत, एमालेभित्रको आन्तरिक कलहको फाइदा उठाउँदै मध्यरातमा नेकपा (एकीकृत समाजवादी)को भागमा परेको पोखरा महानरमा उनले आफ्नो साख जोगाउँदै राजनीतिक उदयको सन्देश दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी)को ब्राण्डको रूपमा उनको उदय भएको छ । समाजवादीको उदाहरणको रूपमा उनी उदाएका छन । भलै उनले यो जिम्मेवारी, गठबन्धनको खिचातानी, दल र तिनका कार्यकर्ताहरूलाई कसरी ‘फेस’ गर्लान्, यो पछिको कुरा हो ।

उनी पोखराको अभिभावक बन्दै गर्दा पूर्वप्रमुख मानबहादुर जिसीकी छोरीले भावुक स्टाटस लेख्दै ७ बुँदे सुझाव दिएकी छन् ।
त्यसमा मानबहादुर जिसीलाई कसरी फसाउन खोजियो देखि अस्पतालसम्म पुर्याउन सक्छन् भन्ने उल्लेख गरेकी छन् ।

महानगरमा अनेकौँ चुनौती र समस्या छन्, त्यसबारे उनी जानकार पनि नभएका होइनन्, तर त्यसलाई चिरेर कसरी अगाडि बढ्छन् भन्ने आगामी दिनले नै देखाउला ।

एमाले छाड्नासाथ पोखराको प्रमुख

साढे तीन दशक एमालेको राजनीतिमा सक्रिय धनराज आचार्यले एकपटक पनि लाभको पद पाएनन् । पार्टीको सांगठनिक जिम्मेदवारीमा अगाडि बढाएता पनि न उनले कुनै संसदीय निर्वाचनको स्वाद लिन पाए, न पार्टीले उनलाई टिकट नै दियो ।

कारण, उनी एमालेमा माधवकुमार नेपाल समूहका थिए । पोखरा ओली समूहको उर्वरभूमि नै भएका कारण पटकपटक निर्वाचनमा उमेदवार हुने आकांक्षा राखेपनि उनी गुटगत शिकार हुन पुगे ।

ओली प्रवृत्ति नै सहन नसकेपछि माधवकुमार नेपालले गत साल पार्टी नै विभाजन गरे । एमालेमा विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि धनराज आचार्यले कास्कीमा समाजवादी पार्टीबाटै बाँकी राजनीति अगाडि बढाए ।

स्थानीय चुनावमा पहिलोपटक भाग लिएका समाजवादीका उमेदवार आचार्यको राजनीति पनि पृथ्वीनारायण क्याम्पसबाटै सुरु भएको हो ।

१३ वर्षको उमेरमा नै अनेरास्ववियुको सदस्य बनेका आचार्य २०४५ सालमा अनेरास्ववियुको कास्की जिल्ला सदस्य बने ।अनेरास्ववियु कास्कीको अध्यक्ष बनेपछि २०४८ सालमा अनेरास्ववियुको गण्डकी अञ्चलको नेतृत्व लिँदै केन्द्रीय सदस्यसम्म बने ।

पार्टीगत राजनीतिमा भने उनी २०४४ सालमा नै तत्कालीन नेकपा (माले)को सदस्यता लिइ जेल विभागमा आबद्ध भएका थिए ।
नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्यका रूपमा २०५२ सालमा जिम्मेवारीमा रहँदाको बखत एमाले विभाजन भएपछि उनी २०५४ सालमा मालेमा आबद्ध भएका थिए । त्यतिबेला उनीसँग नेता रवीन्द्र अधिकारी, कृष्ण थापा पनि सँगै मालेमा लागेका थिए ।

तर, पछि एमालेमै फर्किए ।

पार्टीमा उनले २०६० सालमा नेकपा (एमाले) कास्कीको उद्योग व्यवसाय विभाग प्रमुखको भूमिका पाए भने २०६४ सालदेखि पाँच वर्षसम्म फ्रयाक्सन सचिवको जिम्मेवारीमा रहेका थिए ।

२०६९ सालदेखि २०७६ सालसम्म नेपाल उद्योग व्यवसायी महासंघको स्थायी कमिटी सदस्य र २०७१ सालदेखि चार वर्षसम्म नेकपा (एमाले) केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य, २०७५ सालदेखि २०७८ सालसम्म नेकपाको उद्योग तथा व्यवसाय विभाग सदस्य रहेर राजनीतिमा सक्रिय थिए ।

एमाले विभाजनपछि उनको राजनीतिक लाइन फेरियो । २०७८ सालामा नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको सामानान्तर कमिटीको अध्यक्ष भए । पार्टी विभाजनपछि उनी अहिले एकीकृत समाजवादीमा सक्रिय छन् ।

आचार्यले एमबीए र एमएड अध्ययन गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  ०१:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro