पोखरा । सोमबार मध्यरातिसम्म सम्भवतः पोखराले १५औँ नगरप्रमुख पाउँदै छ । अन्तिम नतिजा नआएपनि नगरप्रमुख को बन्ने भन्ने चाहिँ टुंगो लाग्ने छ । हालसम्मको मत गणनामा गठबन्धनका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य ४ हजार बढी मतान्तरले अगाडि छन् ।
सोमबार साँझ ६ बजेसम्मको विवरणअनुसार अब १८ हजार मत बाँकी छ । कुनै अवरोध नभए सोमबार राति वा मंगलबार बिहानसम्म पोखराका गणना सकिने छ ।
भूगोलको आधारमा देशकै ठुलो महानगरपालिकाको निर्वाचन देशभरि नै चासोको रूपमा हेरिएको छ । २०१६ सालदेखि २०७९ सम्म ६३ वर्षको अन्तरालमा पोखरा नगर पञ्चायतदेखि उपमहानगर हुँदै महानगरपालिका बन्न पुगेको छ ।
०१६ सालमा नगर पञ्चायत घोषणा भएको पोखरा अहिले भौगोलिक रूपमा देशकै ठूलो महानगर हो । ०१६ सालमा नगरपञ्चायत, ०५२ सालमा उपमहानगर हुँदै ०७३ सालमा तत्कालीन पोखरा उपमहानगर र लेखनाथ नगरपालिकासहित केही गाविस मिलेर ‘पोखरा–लेखनाथ’ महानगरपालिका बनेको थियो ।
२०१६ सालमा नगर पञ्चायत घोषणा भएपछि पहिलोपटक पोखराको नेतृत्व शिवबहादुर थापाले सम्हाले । उपप्रमुख चाहिँ भक्तबहादुर भट्टराई निर्वाचित भएका थिए । उनीहरूले ०१६ देखि ०१८ गरी दुई वर्ष कार्यकाल सम्हालेका थिए । तत्कालीन समयमा नगर पञ्चायको कार्यालय हालको रानीपौवामा थियो ।
०१९ देखि ०२४ सम्म नगेन्द्रबहादुर रायमाझी प्रधानपञ्चका रूपमा नगरपञ्चायतको दोस्रो मेयरका रूपमा कार्यकाल सम्हाले । त्यतिबेला उपप्रधानपञ्चको जिम्मेवारी अम्बरबहादुर कार्कीले सम्हालेका थिए । अघिल्लो कार्यकालमा उपप्रधानपञ्चको जिम्मेवारी सम्हालेका उनै कार्की ०२४ मा आएर प्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए । उनको कार्यकालमा विश्वमोहन गौचन उपप्रधानपञ्च भएका थिए ।
पोखराको चौथो मेयर (प्रधानपञ्च) बन्दै ०२८ देखि ०३१ सालसम्म रुद्रबहादुर कार्कीले नेतृत्व सम्हाले । उनको कार्यकालमा दिलिपकुमार पालिखे उपप्रधानपञ्चको जिम्मेवारी पाएका थिए । कार्कीको गत चैत ८ गते ९८ वर्षको उमेरमा मृत्यु भएको थियो ।
यही कार्यकालमा पोखराको पूर्वाधार निर्माणले गति लिन थालेको हो । हाल चर्चामा रहेको निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा बसपार्क, न्युरोड विस्तारका लागि जग्गा अधिग्रहणको सुरुआत उनकै कार्यकालबाट सुरु भएको थियो ।
जसमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छ भने पोखरा बसपार्कले आजसम्म पूर्णता पाउन सकेको छैन ।
कार्की नेतृत्वको उक्त तीन वर्षे कार्यकाललाई सफल भनिने गरिएको छ । पोखराको आधुनिक सहर निर्माण गुरुयोजना उनकै कार्यकालमा बनेको थियो । उनकै योजनामा टेकेर आजसम्म पोखराका विकास निर्माणका काम भइरहेका छन् ।
पोखराको पाँचौँ प्रधानपञ्चका रूपमा दिलिपकुमार पालिखेले सम्हालेका थिए । कार्की नेतृत्वको नगरपञ्चायतमा उपप्रधानपञ्चका रुपमा डम्बरबहादुर कार्की चुनिएका थिए । पालिखे २०३१ देखि ३२ सम्ममात्रै पोखराको नेतृत्व सम्हाल्ने मौका पाएका थिए । तर, उनीहरूको कार्यकाल नसकिँदै अर्को चुनाव भयो । जसमा डम्बरबहादुर कार्की उपप्रधानमै दोहोरिँदा रमशेबहादुर भट्टराई प्रधानपञ्च चुनिए । तर, उनले पनि ७ महिनामात्रै नेतृत्व सम्हाल्ने मौका पाएका थिए ।
२०३२ सालदेखि लगातार स्थानीय चुनावको सुरुआत भएको थियो । जसमा पोखराका प्रधानपञ्चमा गणेश शेरचन विजयी भए । उपप्रधानमा भने डम्बरबहादुर कार्कीकै निरन्तरता थियो । पोखराको इतिहासमा सबैभन्दा लामो समयसम्म कार्कीले उपप्रधानपञ्चको जिम्मेवारी सम्हालेका छन् । उनीहरूले ०३८ सालसम्म नगरपञ्चायतको नेतृत्व सम्हालेका थिए । उनको कार्यकाल (०३४)मा रानीपौवामा भएको कायालय हाल रहेको न्युरोडमा सरको थियो ।
पाँच वर्षपछि भएको स्थानीय निर्वाचनमा श्रीप्रसाद गुरुङले पोखरा नगर पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भए । मुस्किलले ९ महिनामात्रै नेतृत्व सम्हालेका गुरुङको उपप्रधानपञ्चमा लक्ष्मण कार्की विजयी भएका थिए । लगत्तै २०३९ सालमा भएको चुनावमा उत्तम पुन आठौँ नगरपञ्चायत निर्वाचित भए भने पुनः डम्बरबहादुर कार्की उपप्रधानपञ्चका रूपमा दोहोरिए ।
०४१ सालमा सूर्यबहादुर केसीलाई पोखराले नयाँ प्रधानपञ्च पायो । ०४४ सम्मको ३ वर्षे कार्यकालमा उपप्रधानपञ्चका रूपमा काजीमान गुरुङले जिम्मेवारी पाएका थिए । उनै केसी २०४४ मा पनि दोस्रो कार्यकालका लागि दोहोरिए । दोस्रो कार्यकालमा भने उपप्रधानपञ्चमा तीर्थ श्रेष्ठ निर्वाचित भएका थिए । केसी ०४१ देखि ४६ सम्म लगातार दुई कार्यकाल पोखरा नगरपञ्चायतको नेतृत्व सम्हालेका थिए ।
केसीको ०७७ कात्तिकमा मृत्यु भइसकेको छ । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति गरेका उनी राप्रपाबाटै पहिलो संविधानसभाको चुनावमा समानुपातिक सांसद बनेका थिए । पछि प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसमा प्रवेश गरेर समानुपातिक कोटाबाटै प्रतिनिधि सभा सदस्य भएका थिए ।
नेपालमा बहुदल आइसकेपछि भएको स्थानीय निर्वाचनबाट ०४९ सालमा नेपाली कांग्रेसका भोला थापा प्रमुख र उप्रमुखमा नरेशशंकर पालिखे उपप्रमुखमा निर्वाचित बने । उनकै कार्यकालमा पोखरा नगरपञ्चायतबाट उपमहानगर बनेको थियो ।
तत्कालीन १८ वडामध्ये ११ वटामा कांग्रेस र ६ वटा एमाले तथा एउटामा राप्रपा विजयी भएको थियो ।
०५४ सालमा नेकपा एमालेबाट कृष्ण थापा मेयरमा निर्वाचित भए । उनको कार्यकालमा मानबहादुर गुरुङ उपप्रमुख बनेका थिए । ०५९ सम्म उनीहरूले तत्कालीन पोखरा उपमहानगरको नेतृत्व सम्हालिसकेपछि लामो समयसम्म स्थानीय निर्वाचन भएन ।
१८ वडामध्ये ९ वडा कांग्रेसले जितेको थियो भने एमालेले ७ वटा वडा मात्रै जितेको थियो । दुई वडामा राप्रपा विजयी भएको थियो ।
२०६० सालमा हर्कबहादुर गुरुङ राजाबाट मनोनीत मेयर बने । उनको कार्यकालमा गणेशबहादुर भट्टराई उपप्रमुखको जिम्मेवारी पाएका थिए । पछि ०६२ सालमा निर्वाचन भएको थियो । तर, उक्त निर्वाचन ७ दलले बहिस्कार गरेपछि राप्रपाका भीमसेन थापा मेयर र जयलाल पुन उपमेयर बनेका थिए ।
उता, ०५३ सालमा गठन भएको लेखनाथ नगरपालिका पहिलो मेयरका रूपमा एमालेका शालिग्राम पौडेल मेयर बने भने गोपालमान गुरुङ उपमेयर बने । २०६० मा हरिबहादुर हरिजन मेयर र दिनेश राजभाट उपमेयर चुनिएका थिए । ०६२ सालमै राजा ज्ञानेन्द्रबाटै विष्णु पोखरेल मेयर र मोहन बहादुर बस्नेत उपमेयर चुनिए ।
पछि देश संघीयतामा गइसकेपछि २०७४ फागुनमा तत्कालीन पोखरा उपमहानर र लेखनाथ नगरपालिका गाभिएर पोखरालेखनाथ महानगरपालिका बन्यो । जसमा मेयरमा रूपमा एमालेबाट मानबहादुर जिसी र उपमेयरमा मञ्जुदेवी गुरुङ निर्वाचित बने । तत्कालीन समयमा जिसीले नेपाली कांग्रेसका रामजी कुँवरलाई करिब १४ हजार मतान्तरले पराजित गरेका थिए । जिसीले ६० हजार ११८ मत पाउँदा निकटम् प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए ।
लेखनाथ गाभिएर ३३ वडा बनेपछि ०७४ को निर्वाचनमा एमालेले २२ वडा सहित प्रमुख/उपप्रमुख जितेर इतिहास बनाएको थियो ।
तर, हालको निर्वाचनमा भने वडामा एमाले पछाडिएको छ । हालसम्म सार्वजनिक वडाको निर्वाचनमा कांग्रेसले १८ वटा जितिसकेको छ भने एमालेले ८ वडामा जित हासिल गरेको छ ।