काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ का ३५ वर्षीय कान्छा लामा तामाङको कुटपिट गरी हत्या गरेको आरोपमा एक महिलासहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मकवानपुर वाग्मती गाउँपालिका–६ फापरबारी सानो कायरका ४५ वर्षीय ठोकर कान्छा भनिने कान्छामान ठोकर र ललितपुर गोदावरी नगरपालिका–६ लेलेकी ४० वर्षीया गायत्री नगरकोटी रहेका छन् ।
दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक वाग्मती नदी किनारमा जेठ ५ गते कान्छा लामाको शव सडेको अवस्थामा फेला परेको थियो । सोही घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका–१६ नयाँबजार विष्णुमती पुल नजिक बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसर भित्र रहेको भवनको कोठामा बैशाख २८ गते कान्छा लामालाई कान्छामान ठोकर, गायत्री नगरकोटी र मकवानपुर वाग्मती गाउँपालिका फापरबारी ठुलो कायर घर भएको दिपक वाइबा तामाङसमेत मिलेर कुटपिट गरी टाउकोमा हम्मरले हानेर घाँटीमा सलले कसेर हत्या गरेको खुल्न आएको छ ।
हत्या पछि सलले बाँधी शवलाई तन्ना र म्याट्रिसले बेरेर प्लास्टिकको डोरीले बाँधी कान्छामान ठोकर र गायत्री नगरकोटीले विष्णुमती खोलामा लगि फालेको खुल्न आएको छ ।