पोखरा । अघिल्लो निर्वाचनमा पोखरा महानगरपालिकाका ३३ मध्ये २२ वटा वडा जित्दै एमालेले महानगर कार्यपालिका र सभा दुवैमा एक्लै दुई तिहाई बहुमत पाएको थियो ।
उतिबेला बहुमत वडा जितेकाे एमाले नेतृत्वको महानगरमा विधेयक, कार्यविधि, बजेट, नीति कार्यक्रम पारित गर्न अन्य कुनै दलको सहयोग नै चाहिएन । आफूले चाहेको निर्णय गराउन महानगरमा ११ वडामा खुम्चिएको प्रमुख प्रतिपक्षी दल कांग्रेसले चाहेर पनि रोक्न सक्ने स्थिति थिएन ।
तर, ५ वर्षपछिको परिस्थिति फेरिने संकेत देखिएको छ ।
महानगरमा अहिलेसम्म ५८ हजार मतगणना भइसकेको छ । अझै ८५ हजार मतगणना गर्न बाँकी नै छ । सार्वजनिक मतपरिणाम अनुसार एमालेका उमेदवार कृृष्णबहादुर थापा निरन्तर पछाडि छन् । गठबन्धनबाट लडेका नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले पछिल्लो समय मतान्तर बढाएर दुई हजार ८४५ पुर्याएका छन् ।
अघिल्लोपटक झन्डै १४ हजार मतान्तरले जितेको एमालेलाई यो नतिजा पक्कै सुखद छैन ।
अर्कातर्फ उसले वडा पनि गुमाउँदैछ । हालसम्म १३ वटा वडाको नतिजा सार्वजनिक हुँदा एमाले जम्मा ४ वडामा खुम्चिएको छ । उसले अघिल्लोपटक जितेका ५ वडा कांग्रेसले खोसिसकेको छ भने कांग्रेसले जितेको एउटा वडा चाहिँ एमालेले जितेको छ ।
अहिलेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयले पोखराका ३३ मध्ये वडा नं. १, २, ३, ४, ५ र ६ वडाको नतिजा सार्वजनिक गरेको छ । यसबाहेक वडा नं. १२ र १३ तथा २०, २३, २४, २५ र वडा नं. २६ को पनि नतिजा सार्वजनिक भइसकेको छ ।
अघिल्लोपटक एमालेले वडा नं. १, ५, १३, २३, २४, २५ र २६ मा विजयी भएकाे थियो । तर, अहिले एमालेले १३, २३, २४, २५ र २६ वडा गुमाएको छ । तालमेलबिनै चुनावमा होमिएको कांग्रेसले यी वडा एमालेबाट खोसेको छ । त्यसमा पनि मतान्तर फराकिलो छ ।
वडा नं २६ मा कांग्रेसका नरेन्द्र थापा एक हजार १५ को फराकिलो मतान्तरले विजयी भएका छन् । त्यस्तै वडा नं. १३ मा कांग्रेसकै किरण बरालले एमालेका वसन्तराज बराललाई ७०६ को फराकिलो अन्तरले पराजित गरे । वडा नं २३ मा कांग्रेसका रामकाजी गुरुङ, २४ मा भरतबहादुर अधिकारी, २५ मा मोतीराज तिमिल्सना अघिल्लोपटक एमालेले जितेको वडामा विजयी भएका हुन् ।
कांग्रेसले चाहिँ अघिल्लोपटक जित हासिल गरेको वडा नं ६ गुमाएको छ । कांग्रेसका भरतराज पहारीलाई एमालेका विष्णु बहादुर भट्टराईले पराजित गरे ।
वडा नं. १, ५ र २० भने एमालेले जोगाएको छ । यी दुवै वडामा अघिल्लोपटक एमालेले जित हासिल गरेको थियो । वडा नं. १ मा एमालेकी शाहारा प्रधानले कांग्रेसकी सीता गुरुङलाई पराजित गरिन् । वडा नं. ५ मा पनि एमालेका विष्णुप्रसाद बरालले फराकिलो मतान्तरले कांग्रेसका प्रमोद कोइरालालाई पराजित गरे । यस्तै, बिहीबार साँझ सार्वजनिक मतपरिणाम अनुसार वडा नं. २० मा गंगा बहादुर खत्रीले महेन्द्र अधिकारीलाई पराजित गरे । यो वडामा कांग्रेसका बागी समेत थिए ।
कांग्रेसले अघिल्लोपटक जितेका २, ३ र ४ वडा जोगाउन सफल भयो । वडा नं. २ मा दिवसमान प्रधानाङ्ग, ३ मा प्रकाशमान उदास र ४ मा देवकृष्ण पराजुली कांग्रेसबाट निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले ७, ८, ९, १४, २७, २८ र २९ नं. वडाको मतगणना भइरहेको छ ।