पोखरा । गण्डकीको एकमात्र र भूगोलको आधारमा देशकै ठूलो पोखरा महानगरपालिकाको मतपरिणाम सुरुदेखि नै एमालेलाई सुखद छैन ।
०७४ को स्थानीय तह निर्वाचनमा एमालेका मानबहादुर जिसीले झन्डै १४ हजार मतान्तरले कांग्रेस माओवादी गठबन्धनका उमेदवारलाई पराजित गरेका थिए ।
तर, अहिले नेकपा एकीकृत समाजवादीका धनराज आचार्य सुरुदेखि नै एमाले उमेदवार कृष्ण बहादुर थापाभन्दा अगाडि छन् । मतान्तर बढिरहेको छ ।
वडाको परिणाम पनि एमालेको पक्षमा छैन । सातवटा वडाको परिणाम सार्वजनिक हुँदा एमालेले अघिल्लोपटक जितेका वडा गुमाएको छ । गढ मानिएका वडाबाटै अपेक्षित मत एमालेले पाएको छैन भने मेयरमा पनि समाजवादीले नै अग्रता लिएको छ ।
यही परिणामले गर्दा एमालेजनमा निराशा छाएको छ भने, कास्कीमा एमालेभित्रको द्वन्द्व पनि निकै पुगेको छ । एमाले कास्कीले विज्ञप्ति जारी गरेको छ भने सांसद राजीव पहारीले पनि बुधबार विज्ञप्ति जारी गरेका छन् ।
गत सोमबार मात्रै पोखरामा दुइवडा अडियो भाइरल भए । ती अडियो अरु कसैको नभई एमालेकै कार्यकर्ताको थियो । उक्त अडियोमा प्रष्टैसँग एमाले सांसद राजीव पहारीसँग निकट रहेका मनोज पहारी र धनराज आचार्यका भतिज प्रशान्त आचार्यको थियो ।
अर्को अडियो चाहिँ एमालेको युवा संघका नेता महेश अर्याल र कांग्रेस नेता दीपक मल्लबीच थियो । अर्याल पोखरा महानगर वडा नं. ३३ को एमाले कमिटीका उपाध्यक्षसमेत हुन ।
यी अडियो भाइरल चाहिँ एमाले उमेदवार कृष्ण थापा पक्षधर नेता कार्यकर्ताले फैलाएका हुन् ।
अडियो भाइरल हुनुपूर्व निर्वाचनको सुरुवाती प्रक्रियामा एमालेबाट दीपक पौडेलले पोखरा महानगरको टिकट पाएका थिए ।
तर, उनले टिकट पाएको २४ घण्टामै मनोनयन दर्ता हुने बिहान उनको टिकट खोसियो र बहालवाला प्रदेश सांसद कृष्ण थापा राजीनामा दिएर उमेदवारी दर्ता गराए ।
पौडेलले टिकट पाएकै दिनदेखि पोखरामा औँठी चोरेको भन्दै एउटा सीसीटीभी फुटेज सार्वजनिक भयो । एमालेकै कार्यकर्ताहरुले त्यसलाई सेयर गर्दै आलोचना र विरोध गरे ।
वर्षौँ पहिलेको उक्त फुटेज पौडेलको हो वा होइन, अनुसन्धानपछि नै खुल्ला तर, उक्त फुटेजले पौडेलको टिकट भने खोसियो ।
सांसद थापा पनि मेयरको लाइनमा रहँदै गर्दा गण्डकीमा कुनै पनि समयमा सरकार बन्न सक्ने भन्दै सांसदलाई उमेदवार नबनाउने सचिवालय बैठकपछिको निर्णय सुनाउँदै पृथ्वीसुब्बा गुरुङले उनको च्याप्टर क्लोज गरिदिए ।
त्यसपश्चात रुष्ट बनेका थापाले पृथ्वीसुब्बा गुरुङले आफूलाई मनोगत षड्यन्त्र गरेको भन्दै सार्वजनिक रुपमा आपत्ति जनाए ।
टिकट पौडेलले पाउनुमा चाहिँ पोखरामा एमालेभित्रको गुटीय राजनीति कारक थियो ।
प्रदेश राजधानी कास्कीमा पहिल्यैदेखि एमालेकै ओली समूहभित्र पनि संगठन विभाग प्रमुख खगराज अधिकारी र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको शक्तिसंघर्षको लडाईं छ ।
पोखरामा आफ्नो प्रभाव जमाउन यी दुवैले कुनै कसर बाँकी राख्दैनन् ।
पौडेलले टिकट पाउनुमा पनि उनी गुरुङ पक्षधर थिए भने उनले टिकट पाएपछि औँठी चोरेको भिडियो भाइरल गराउनेमा चाहिँ अधिकारी पक्षधर नेता कार्यकर्ता थिए ।
औँठी प्रकरण पश्चात पौडेलको सट्टामा अधिकारी पक्षधर नेता कृष्णबहादुर थापाले टिकट पाए ।
तर, औँठी प्रकरण उचालेर आफ्नो चरित्रहत्या गरिएको भन्दै रुष्ट बनेका पौडेल पछिल्ला चुनावी गतिविधिमा सक्रिय देखिएनन् ।
एमाले उपाध्यक्ष ईश्वर पोखरेलले घरमै पुगेर भेटेता पनि उनी सक्रिय भएर लागेका छैनन् । अर्कातर्फ, गुरुङ पक्षधर नेता कार्यकर्ताहरु चाहिँ थापाले टिकट पाएपछि रुष्ट बन्न पुगे ।
त्यही प्रकरणमा मतगणनाको दोस्रो दिन अडियो काण्ड सार्वजनिक भएको हो ।
१३ मिनेट ५४ सेकेण्डको अडियोमा प्रष्टैरुपमा एमालेका कृष्ण थापालाई हराउन संगठित रुपमा नै एमाले कार्यकर्ताहरु लागेको पुष्टि हुन्छ ।
यस्तो छ अडियो संवाद :
प्रशान्त : धनराज मेरा अंकल हुन् । राजनीतिक रुपमा जे भएपनि कांग्रेससँग मिले । बोल्न पनि मिलेन । हाम्रो युवा क्लबले उहाँलाई सहयोग गर्छौं । त्यसको लागि पैसा माग्नुपर्यो । मैले सीधै पैसा लेऊ भन्न मिलेन ।
मनोज : व्यावसायिक हिसाबले एउटै हो । म कुरा गर्न सक्छु ।
प्रशान्त : राजीव दाइले कुरा गर्नु हुन्छ त ? हामीले भन्दा दाइले कुरा गरिदिए सजिलो हुन्छ ।
मनोज : ३३ बाट कति भोट काट्न सकिन्छ ? म कुरा भोलि गर्छु ।
प्रशान्त : २ सय भोट प्रभाव पर्छ । ७० जना हाम्रै भोट छ । डेढ सय भोट यताउति गर्दा २ सय २० जति पुग्छ ।
मनोज : पैसाको कुरा पनि गर्छु । हाम्रा पछाडि ...
प्रशान्त : पैसाका कुरामा मेरा नाम आउनै हुँदैन । नत्र बर्बाद हुन्छ । कोर एमालेका २ सय भोट आउँछ भन्नुपर्यो ।
मनोज : मलाई त डर छैन । कारबाही गरेपनि केही फरक छैन । पिएसले गर्नुहुन्न, पद्याले गर्नुहुन्न, कास्की जिल्लाको अध्यक्ष र इन्चार्जले गर्नुहुन्न । त्यो भएपछि मलाई केही फरकै पर्दैन । अरु मान्छे भए त हामीले विषय पनि उठाउँथेनउ । अपराधीलाई पार्टीले प्रोत्साहन गरिदियो, हामी कार्यकर्ताले आची खान भएन । धेरै पहिलेदेखि चिनेको मान्छे, ३२ सालदेखि । कृष्ण थापा सत्तामा गएर पनि काम नगर्ने हो । यसलाई सजाएँ दिने बेला यही हो भनेर लागेको छु । २१ मा डेढ दुईसय भोट काट्छु । २४ मा २ सय काट्छ । १९ ले खुलेर हिडेपनि सहयोग गर्दैनन् ।
इश्वर पोखरेललाई त मैले लिएर गएको हुँ, दीपकलाई भेट्न । त्यहाँबाट कत्ति भोट आउँदैन । उसको (थापा) आफ्नै वडाबाट आउँदैन । अरुमा त कांग्रेस पनि बलियो छ । सबैतिरबाट धनराज सरलाई जसरी चुनाव जिताउने भनेर लागेका छौं । कृष्ण थापालाई हराउन बेस्सरी लागेको छु । कसैले रोकेर पनि रोकिन्नँ ।
प्रशान्त : तिमीले यसरी काम गर्दा राजीव पहारीलाई अप्ठेरो पर्न भएन ।
मनोज : अप्ठेरो पर्दैन । हामी वडा कमजोर छैन, जित्छौं । मेयर मात्रै हार्ने हो । यसरी मेयर मात्रै हार्दा क्याण्डिडेट राम्रो नभएर हारेको भन्ने बुझ्छन् । यसले नचिढाएको कसलाई छ र रु दलितले भोट हाल्दैनन् । उसले हार्दा पार्टीलाई पनि अप्ठेरो पर्दैन, हामीलाई पनि अप्ठेरो पर्दैन ।
अवैध जन्मिएको पार्टीबाट उम्मेदवार हुनुभो । धनराज सरलाई सपोर्ट गर्ने एमालेलाई नै हो । व्यवसायिक मान्छेपनि मेयरमा आउँदा राम्रो हुन्छ । भुगोलको मान्छे, राजनीतिक मान्छे भनेर हो । म आफैँलाई माग्ने होइन । मैले पनि कुरा मिलाएरै गर्नुपर्छ ।
प्रशान्त : कसले कुरा गर्छ त ?
मनोज : म मेरा मान्छे छन् भनेर कुरा गर्छु नि दाइ । जे गरेपनि कृष्ण थापालाई त हराउनुपर्यो नि ।
प्रशान्त : यसले राजीवलाई असर नगरोस् मेरो कुरा त्यत्ति हो । हामी व्यवसाय गर्ने हो, राजीव दाइ त राजनीति गर्ने मान्छे हो ।
मनोज : कृष्ण थापाको त अन्तिम हो नि, ६४ वर्ष भैसक्यो । राजीव दाइलाई अप्ठेरो नपर्ने गरी काम गर्ने हो । थाहा त खगे चोरलाई नि थाहा छ, थापा काजीलाई नि थाहा छ, मनोजले असहयोग गर्छ भनेर ।
प्रशान्त : मनोजले बोल्यो भन्दा नि राजीव बोल्यो भन्ने पर्छ है । ख्याल गर्नु ।
मनोज : राजीव दाइको निकट भन्दा नि व्यवसायिक हिसावले सम्बन्ध छ नि । पहिले नै चिनजान मान्छे हो नि । बरु राजीव दाइपछि चिनेको हो । कृष्ण थापाले चुनाव हारे त जसरी नि दोष लाउने त राजीव दाइलाई हो, पृथ्वीसुब्बालाई हो, माधव बास्तोलालाई हो, भीम कार्कीलाई हो, मनबहादुर गुरुङलाई हो । कुरा त क्लियर नै छ ।
प्रशान्त : कृष्ण थापाले चुनाव जित्छन् कि जित्दैनन् ?
मनोज : कृष्ण थापाले चुनाव कुनै हालतमा जित्दैनन् । नचिढ्याएको मान्छे कोही छैन । आफ्नो क्षेत्र छोड्यो भन्ने छ, २ (ख) मा । २ (क) मा यसले धोका दियो भन्ने छ । भाषण पनि ढाँटेको रहेछ, सांसद हुँदा काम गरेन । ०३२ सालदेखि कोही मान्छे रहेनछन् कि पार्टीमा भन्ने छ । दलितका भोट सबै काटिन्छ, क्रिमिनल बाटोबाट दीपकको टिकट खोस्यो । लेखनाथमा हाम्रो पार्टीबाट उपमेयर छैनन्, गठबन्धनले उपमेयर त दिएको छ नि । कृष्ण थापा हार्ने आधार धेरै छन् ।
प्रशान्त : राजीव दाइको कत्तिको साथ र सहयोग छ ?
मनोज : यो कुरा म भेटेर गर्छु । यो कुरामा सिरियस लाग्नु है, अपराधीलाई असहयोग गर्नुपर्छ । अनि सुन्नु त, धनराज सर मेयर हुनका लागि उता जानुभएको हो । उहाँको मेयर बन्ने एम नै हो । कृष्ण थापा पुर्व मेयर हुम भनेर अहिले पनि पोखरा काठमाडौं प्लेन खर्च उले (महानगर) गर्छ के । धनराज सर त पोखरा बनाउन भनेर आउनुभएको हो । यिनिहरूको उद्देश्य ७ अर्ब देखेको छ, झिलिमिली । श्रोत दुरुपयोग गरमला, विदेश घुमुम्ला र रमाम्ला भनेको छ ।
गोप्य कुरा भन्दिन्छु, अख्तियारले छापा हान्यो भने सबैभन्दा धेरै भ्रष्टाचार रुपामा छ । नवराजलाई थाहा छैन, खगेले त्यस्तो गरेको छ । खगेले मेयर पोखरामा कृष्ण थापालाई बनाम्ला, भोली मुख्यमन्त्री आफु हुम्ला । सत्तामा भएपछि ११ जिल्लाका मान्छे पछि लाग्छन् । पिएसलाई सिध्याम्ला भन्ने उद्देश्य छ । धनराज सरको त एम हो नि । त्यो भएर सबेलाई यसरी बुझाएर हिडेको छु, कृष्ण थापालाई जसरी नि हराउने हो । दुई दिन सुतिन्न ।
यो बाहेक अर्को ६ मिनेटको अडियो पनि बाहिरिएको छ । यी दुवै अडियो संवादमा एमालेकै नेताहरुले गुट फरक भएका कारण हराउन लागेको खुलेको छ ।
मतपरिणाममा पनि पछि परेको र अडियो काण्ड सार्वजनिक भएपछि एमाले कास्कीले विज्ञप्ति जारी गर्दै छानबिन गर्ने बताएको छ ।
अडियो प्रकरणमा एमालेकै उमेदवारलाई हराउन भूमिका खेल्ने पात्रमध्ये स्वयम एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङको नाम पनि जोडिएको छ ।
उनले यसलाई अफवाह भनेका छन् ।
गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बजारमा कसैले नियोजित हल्ला चलाउँदैमा त्यस्ता विषयहरूलाई पार्टी जीवन र नेतृत्वसँग जोडेर प्रचारित गर्ने प्रवृत्ति ज्यादै खतरनाक छ । कसैको निजी संवादलाई प्रचारित गरेर राजनीतिलाई अपराधिकरण गर्ने यस्ता प्रवृत्तिप्रति पार्टी सदैव सचेत छ । यस्ता अफवाहहरूको पछि नलाग्न समग्र पार्टी पंक्ति र आम जनसमुदायलाई एमाले कास्की हार्दिक अपिल गर्दछ ।”
सार्वजनिक भएको अडियोमा कृष्ण थापालाई हराउन पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सचिव पद्मा अर्याल, केन्द्रीय सदस्य राजीव पहारी, केन्द्रीय सदस्य एवं इन्चार्ज भीम कार्की, कास्की जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, एमाले प्रदेश कार्यालय सचिव माधव बाँस्तोला लागेको दाबी गरिएको छ ।
यता बुधबार सांसद राजीव पहारीले विज्ञप्ति जारी गरेका छन् ।
कुनै समय उनीसँंगै रहेका मनोज पहारीले नै अडियो संवादमा राजीव पहारीको नाम धेरैपटक लिएका छन् । केन्द्रीय सदस्य, प्रदेश सांसद तथा कास्की सहइञ्चार्ज रहेका पहारीले विज्ञप्ति जारी गर्दै मनोज पहारी आफ्नो सचिवालयमा नरहेको प्रष्टाएका छन् ।
एमाले उमेदवार जिताउन आफूले जिम्मेवारी पूरा गरेको पनि उनको दाबी छ ।