पोखरा । सिद्धार्थ राजमार्ग सडकखण्डको भीरकोट नगरपालिका कटेपछि घरहरू गुलाबी देखिन्छन् । यी घरहरू १२८.४ं० वर्ग किलोमिटर क्षेत्रभित्र देख्न पाइन्छ । पूर्वमा बिरुवा र चापाकोट नगरपालिका, पश्चिममा पर्वतको सीमाना तथा गल्याङ नगरपालिका र दक्षिणमा पनि गल्याङसहित चापाकोटको केही भू–भागभित्र यही गुलाबी नगरपालिका छ ।
लगातार दोस्रोपटक उत्कृष्ट नगरपालिकाको उपमा पाएको यही वालिङ अहिले चुनावमय भएको छ । अघिल्लोपटक स्मार्ट सिटीको नारा लिएर चुनावमा होमिएका र नगरप्रमुख भएका कांग्रेसका दिलीपप्रताप खाँण दोस्रोपटक पनि चुनावमा होमिएका छन् । खाँणकै कार्यकालमा वालिङ नगरपालिका संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उल्लेख्य कार्य गरेकाले ‘उत्कृष्ट नगरपालिका पुरस्कार २०७८’ बाट पुरस्कृत भयो ।
कुराकानीमा खाँणले वालिङ उत्कृष्ट बन्ने तर त्यसका लागि २० वर्ष समय र २४ अर्ब लागत लाग्ने बताउँदै आएका छन् । त्यसलाई पूरा गर्ने उनको अठोट सार्वजनिक गर्दै पनि आएका छन् ।
उनै खाँणसँग अहिले एमालेका तर्फबाट कृष्ण खाँण चुनावमा भिड्दै छन् ।
रोचक के छ भने, यी दुवैजना बाल्यकालदेखिका सहपाठी हुन् । दुवैले एकैसाथ कक्षा पढे र पढाए पनि । २०५४ सालको स्थानीय निकायमा पनि यी दुवै फरक दलबाट चुनावमा प्रतिष्पर्धा गरेका थिए । त्यतिबेलै वालिङमा मेयरमा प्रतिष्पर्धा गरेका कृष्ण खाँण पराजित हुन पुगे भने उपमेयरमा दिलीपप्रताप खाँण भने विजयी बने । २०७० को संविधानसभा निर्वाचनमा टिकट पाएका कृष्ण त्यतिबेला कांग्रेसका कमल पंगेनीसँग पराजित हुन पुगेका थिए । उनी अहिले स्याङ्जा एमालेका उपाध्यक्ष छन् भने कांग्रेसका दिलीपप्रताप क्षेत्र नं. २ का क्षेत्रीय सभापति हुन् ।
अढाई दशकपछि फेरि यी क्लासमेट फरक–फरक दलबाट चुनावी मैदानमा उत्रिएका छन् ।
कांग्रेसका खाँणलाई गठबन्धनको काँध छ भने एमालेका खाँण एक्लै चुनावी प्रतिष्पर्धामा छन् । अघिल्लोपटक नै एक्लै चुनाव लड्दा पनि जीत हासिल गरेका दिलीपप्रताप चुनाव जितिनेमा विश्वस्त देखिन्छन् भने कृष्ण पनि आफूले नै चुनाव जित्ने दाबी गर्छन् ।
दुई बालसखासँग बाह्रखरीले फोन सम्पर्कमार्फत कुराकानी गरेको छ । त्यसको संक्षिप्त अंश :
कृष्ण खाँण : जनताको माया र सद्भाव छ
पटक-पटक पराजित भए पनि अहिले पुनः मेयरको उमेदवारको रुपमा अगाडि आउनुभएको छ । तपाईँको उमेदवारी किन ?
बाह्रवटा स्मार्ट सिटीमध्ये वालिङ पनि एउटा हो । यो स्मार्ट सिटीको सैद्धान्तिक पक्ष छ, यसलाई व्यवहारिक रुपमा नै कार्यान्वयन गर्नुपर्ने आवश्यक छ । वालिङ नगरपालिकाको जुन स्मार्ट सिटीको नारा छ, यसलाई सार्थक बनाउनको लागि मेरो उमेदवारी हो ।
स्मार्ट सिटीको नारा त विपक्षीले अघिल्लै चुनावमा प्रयोग गरेका थिए । त्यही नारा लिएर चुनाव पनि जित्नुभयो । तपाईँले पनि त्यही नारा लिएर जनतामाझ जाँदा सहज हुन्छ ?
उहाँले स्मार्ट सिटी बनाएको होइन, वालिङ नगरपालिका स्मार्ट सिटी घोषणा भइसकेपछि बल्ल स्थानीय तहको निर्वाचन भएको हो । त्यही नारालाई उहाँले अगाडि त बढाउनुभयो तर नाराको रुपमा मात्र अगाडि बढाउनुभयो । त्यसलाई सार्थक बनाउन उहाँको अलिक ध्यान गएन । के–के गर्नुपर्छ भन्नेतिर कम ध्यान गएजस्तो लाग्छ मलाई । स्लोगन मात्र भयो । वास्तविक रुपमा जुन ढंगले काम गर्नुपर्ने हो त्यो भएन । विकास निर्माण जुन ढंगले हुनुपर्ने हो, भौतिक निर्माण जसरी हुनुपर्ने हो त्यसरी हुन नसकेकै कारण मेरो उमदेवारी हो ।
जीतका आधार के छन् ? विपक्षमा गठबन्धन पनि छ ।
वालिङमा गठबन्धनको अप्ठ्यारो नै छैन । प्रभाव नै छैन । ०५४ सालमा पनि उठेको हो । त्यतिबेला झिनो मतले पराजित भएँ ।
निरन्तर मैले यही समाजमा रहेर यही क्षेत्रकन लागि ७० वर्षसम्म मेरो जे क्षमता, च्यानल, योग्यता थियो, अनुभव थियो । त्यसलाई मैले जनताको सकेसम्म सेवा गरेँ । त्यही पनि अहिले जनताले जुन ढंगले माया गर्नुभएको छ मलाई, त्यो मेरो जीवनको लागि अत्यन्त महत्वपूर्ण पक्ष हो । त्यही आधारमा पनि म निर्वाचन मेरो पक्षमा आउँछ भन्नेमा ढुक्क छु ।
तपाईँहरू क्लासमेटदेखि सँगै अध्यापन पनि गर्नुभएको, सँगै चुनावमा होमिदै आउनुभएको छ । पहिले पनि जनताले तपाईंलाई मत दिएनन् । अहिले झन तालमेलसहित विपक्षी आउँदा चुनावी परिणाम आफ्नै पक्षमा आउँछ भन्नेमा कसरी विश्वस्त हुनुहुन्छ ?
कक्षा ८ देखि कक्षा १२ सम्म सँगसँगै अध्ययन गरेका हौँ । आइएस्सी पृथ्वीनारायण क्याम्पसमा पढ्यौँ । त्यसपछि म ०४४ सालदेखि पूर्णामृत भवानी विद्यालयमा अध्यापनमा लागेँ । ०४९ सालमा दिलीपजी पनि नियुक्त हुनुभयो ।
त्यसपछि ०५४ सालमा हामीले एकैदिन राजीनामा दियौँ । म एमालेबाट मेयरको उमेदवार बनेँ, दिलीपजी कांग्रेसबाट उपमेयरको उमेदवार बन्नुभयो । तर, पार्टीको आन्तरिक कारणबाट पराजित हुन पुगेँ । जनाधार नभएर होइन पार्टीको आन्तरिक कलहले विजयी हुन सकिनँ । त्यसपछि फेरि लगातार २० वर्षसम्म जनप्रतिनिधि नभए पनि निरन्तर काम गरेँ । आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूले माया गर्नुभएको छ, मैले जित्ने आधार नै त्यही हो ।
दिलीपप्रताप खाँण : हाम्रै मिहिनेतले जित्छौँ
विपक्षीले त वालिङमा गठबन्धनको प्रभाव नै छैन भनेका छन् नि ?
विपक्षीले त्यसो भन्नु स्वभाविक नै हो ।
स्मार्ट सिटीको एजेण्डा फेरि लिएर हिँड्नुभएको छ । तर, जे हुनुपथ्र्यो त्यो हुन सकेन भन्ने आरोप छ नि ?
त्यो परिणामले देखाइसकेको छ । सूचकले देखाएको छ, मूल्यांकनले देखाएको छ । उहाँहरूलाई के भयो भनेर हुने हो भन्ने कुरा उहाँहरुलाई नै सोध्दा उपयुक्त होला । हामीहरूले मापनयोग्य चिज बनाएका छौँ । समान बजेटमा उहाँहरूले एकैपटक अमेरिका सिंगापुर खोज्नुभएको छ भने सकिँदैन । स्मार्ट सिटीमा उहाँहरूले राजनीतिक प्रतिशोधका कारण हाम्रो बजेट रोकिदिनुभयो । अहिलेसम्म हामीले १ अर्ब पाउनुपर्ने रकम पाएका छैनौँ । तर पनि, सीमित स्रोत साधनले जे गर्न खोजेका छौँ, त्यो गरेका छौँ । हाम्रो बजेट पनि अरु नगरपालिकाकै समान हो । तर पनि हामीले त्यसलाई नै अधिकतम प्रयोग गरेर अधिकतम काम गरेका छौँ ।
नगरपालिकाले गर्नुपर्ने १०६ वटा कानुनबमोजिमका कार्य छन् । ती सबै विधामा हामीले काम गरेका छौँ । सबैमा कानुन निर्माण गराएर, विधिको शासन स्थापित गरेका छौँ । भौतिक पूर्वाधार पनि एकदमै दूरदृष्टि राखेर निर्माणकार्य गरेका छौँ ।
विपक्षीले गरेका काम आफैँ भएका हुन्, नभएका काम चाहिँ यिनले गरेनन् भन्ने स्वभाव छ ।
स्मार्ट सिटी त चुनाव अघि नै घोषणा भएको हो, तपाईंले त नारामात्र भजाएर हिँड्नुभयो भन्ने आरोप छ नि ?
त्यो उहाँहरूकै कुरा हो । पहिला ११ वटा स्मार्ट सिटीमध्ये वालिङलाई पार्न सफल भयौँ । दुईवटा पछि थपिएका हुन् । तपाईँहरूले सहरी विकास मन्त्रालयमा पनि बुझ्न सक्नुहुन्छ । स्मार्ट सिटीको २० वर्षको प्लानिङ विथ बजेट पेश गर्ने वालिङ नगरपालिका मात्र हो ।
बालसखासँग प्रतिष्पर्धा गर्दै हुनुहुन्छ, साथीसँगको प्रतिष्पर्धा कस्तो हुँदोरहेछ ?
राजनीति गर्ने नै समकक्षीसँग हो । साथित्वको भावना आफ्नो ठाउँमा छ राजनीति आफ्नो ठाउँमा छ । उहाँ फरक पार्टीबाट हुनुहुन्छ । पार्टीले दुवैलाई टिकट दियो । राजनीतिमा साथीको ठाउँ साथीकै ठाउँमा छ ।
गठबन्धन भएपछि त सहज भएको होला नि ?
गठबन्धन राष्ट्रिय परिस्थितीले बन्यो । त्यही परिस्थितिलाई मध्यनजर गरेर वडाहरूमा कतिपय ठाउँमा आफैं मिल्नुभएको छ । यसलाई गठबन्धन गर्योभन्दा पनि सहकार्य गरेको भन्ने छ । कतिपय वाडामा सहज छ, कतिपय ठाउँमा छैन । गठबन्धन होस् अथवा नहोस् हामीले चुनाव जित्छौँ र अगाडि बढ्छौँ । यो ठाउँमा हामीले गरेका प्रयास र मिहिनेत नागरिकले बुझ्नुभएको छ भन्ने लाग्छ ।