काठमाडौं । नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर उमेदवार केशव स्थापितले शनिबार भित्री सहरका ११ वडामा एकै पटक पदयात्रा तय गरे ।
भित्री सहरका १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी ११ वटा वडामा एमालेको तर्फबाट स्थापित र उपमेयरकी उमेदवार सुनिता डंगोलको घरदैलो कार्यक्रम अगाडि बढ्यो । मतदाताको घर–दैलोमा पुगेका उनले आफ्नो प्रतिस्पर्धी नै नभएको भन्दै जितेजस्तो अनुभव भएको बताए ।
यही वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा कसले बाजी मार्ला भन्ने ‘विशेष चर्चा’ चलिरहेको छ । चुनावलाई लक्षित गर्दै उमेदवारहरूले गरेको घरदैलो कार्यक्रममा आफूले नै जित्ने दाबी गरिरहेका छन् ।
मतदाताले घर–घर, चोक–चोक र गल्ली–गल्लीमा पदयत्रामा विभिन्न उमेदवारलाई स्वागत र विजयीको शुभकामना दिइरहेका छन् ।
जैशीदेवल नजिकै स्थापितकाे टाेली पुग्दा ७५ वर्षीया मोतिदेवी महर्जनले मेयर–उपमेयर पदका उम्मेदवारलाई एकछिन रोकेर सगुनसहित जितको शुभकामना दिइन् । माेतिदेवीलगायत स्थानीयले अण्डा, माछा, ऐलासहित नेवारी सगुन दिएर गरेकाे स्वागत स्वीकार्दै स्थापितले प्यालामा प्रसाद ग्रहण गरे । त्यसपछि स्थापितले भने, ‘‘हजुरको हातबाट सगुन खायौँ अब जित सुनिश्चित भयो ।”
एमाले उपमेयरकी उमेदवार डंगोलले पनि मतदाताहरूसँग आफूहरूको जित सुनिश्चित भएको बताइन् । ‘‘म वडा–२१ कै मतदाता हुँ, यहाँका मतदाताले देखाएको अपार स्नेह र सद्भावले हामी थप उत्साहित भएका छौँ,” डंगोलले भनिन्, “हाम्रो जित सुनिश्ति छ ।”
स्थापित र डंगोलसँग वडाका उमेदवार पनि सहभागी थिए । उनीहरूले पनि पुरानो र रैथाने नेवार बस्तीको उत्साहजनक सहभागिता भएको भन्दै जित सुनिश्चित भएको दोहोर्याए ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष काठमाडौँ महानगर निर्वाचन परिचालन निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले सूर्य चिन्हमा मतदान गरी एमाले तर्फका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए ।
काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धन, एमालेलगायत पार्टी र स्वतन्त्र उमेदवारबीच प्रतिस्पर्धा हुँदैछ । गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंह मैदानमा छन् । राप्रपाले मदनदास श्रेष्ठलाई मेयर उमेदवार बनाएको छ । महानगर हाँक्नका लागि विवेकशील साझाकी उमेदवार समीक्षा बास्कोट र स्वतन्त्रको तर्फबाट बालेन शाह पनि लागिपरेका छन् । मेयर पदका लागि ५६ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।
यस्तै, उपमेयर पदका लागि एमालेकी डंगोलसहित, गठबन्धनको तर्फबाट रामेश्वर श्रेष्ठ, राप्रपाबाट विनिता मगैया र विवेकशील साझाबाट कीर्ति (कंसाकार) तुलाधरलगायत ३३ जना प्रतिस्पर्धामा छन् । २२१ जनाले वडाध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्नेछन् ।