site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेफ्रीमाथि भारतीय खेलाडीको दुर्व्यवहार, संघका पदाधिकारी मूकदर्शक बनेको आरोप
SkywellSkywell

काठमाडौं । अन्य खेलमा जस्तो भलिबलमा ठूलो विवाद भएको सुनिँदैन । तर, बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डमा भने फरक दृष्य देखियो । कारण थियो, नेपाल भलिबल संघको आयोजनामा भइरहेको राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा हेल्प नेपाल र सशस्त्र प्रहरी बल (एपीएफ)बीचको खेलमा रेफ्रीमाथि भएको दुर्व्यवहार ।

हेल्प नेपालका भारतीय खेलाडी र पदाधिकारीले रेफ्री पूर्ण चौलागाईंमाथि दुर्व्यवहार गरे । भारतीय खेलाडीले हेपाहा प्रवृत्ति देखाए । कोर्टमा ती सबै हर्कत भइरहँदा भलिबल संघका पदाधिकारी टुलुटुलु हेरेर मात्र बसे । 

बुधबार सम्पन्न पुरुषतर्फको दोस्रो खेलमा हेल्प नेपालले पहिलो दुई सेट २५–२२, २५–१९ ले जितेको थियो । हेल्प नेपाल तेस्रो पनि जितेर सोझो सेटमा विजय हासिल गर्ने लक्ष्यमा थियो । 

KFC Island Ad
NIC Asia

हेल्प नेपालले तीन भारतीय खेलाडीलाई अनुबन्ध गरेको छ । लिग भएकाले उनीहरू अंक गुमाउन चाहँदैनथे । तर, तेस्रो सेटमा एपीएफले हेल्प नेपाललाई ३०–२८ ले हरायो । प्रतिस्पर्धात्मक बनेको सेटमा हार्न लागेपछि उनीहरूले रेफ्रीलाई अपिल गरे । त्यसक्रममा रेफ्रीको निर्णयप्रति हेल्प नेपालका खेलाडीले असहमति जनाउँदै आक्रोश पोखेका थिए । त्यसै क्रममा हेल्प नेपालका भारतीय खेलाडीले अन्तर्राष्ट्रिय रेफ्री चौलागार्ईंलाई गालीगलौज गर्ने तथा नेटको जाली तान्नेजस्ता उच्छृंखल गतिविधि गरेका थिए ।

खेल अनुशासनविपरीत गतिविधि गरेपछि चौलागाईंले हेल्प नेपालका भारतीय खेलाडीलाई रेड कार्डको दर्शन गराए । रातो कार्ड पाएपछि हेल्प नेपालका खेलाडी मात्रै होइन क्लबका अध्यक्ष वासु श्रेष्ठ, सहायक प्रशिक्षकसमेत कोर्टमा छिरेर रेफ्रीमाथि आक्रोश पोखेका थिए । रेफ्री स्ट्यान्डमा धक्का दिँदै रेफ्रीमाथि जाइलागेका थिए । 

Royal Enfield Island Ad

“रेफ्रीको निर्णयमा शंका लागे कानुनी प्रक्रिया अपनाउन सकिन्छ । अपिल गर्न सकिन्छ । जुरीमा उजुरी गर्न सकिन्छ । तर, उनीहरूले कोर्टमै ममाथि आक्रमण गरे । नेटमा झुन्डिने तथा तान्ने काम गरे,” रेफ्री चौलागाईंले भने, “रेफ्रीमाथि कोर्टमै त्यस्तो दुर्व्यवहार हुँदा पनि भलिबल संघका पदाधिकारी टुलुटुलु हेरेर बसे । नेपाली कोर्टमा भारतीय खेलाडीले दादागिरी देखाए । हामी अन्तर्राष्ट्रिय खेलाडी हौँ भन्दै उनीहरूले  हेपाहा प्रवृत्ति देखाए ।”

रेफ्री चौलागार्ईंले थपे, “उनीहरूलाई आवतजावत र खानबस्नको सुविधासँगै पुरस्कारको पनि राम्रै रकम दिइन्छ । त्यसकारण उनीहरूलाई उपाधि जित्दा राम्रो रकम लिन पाउँछन्  र जनही थप एक लाख रुपैयाँ रकम पनि पाउँछन् । त्यसैले, उनीहरू हार्न चाहँदैनथे ।”

तर, नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले रेफ्रीको आरोप निराधार भएको बताए । उनले भलिबल संघका पदाधिकारीकै समन्वयमा खेल पुनः सञ्चालन भएको बताए । 

“आरोप त जसले जसलाई लगाए पनि हुन्छ । तर, भलिबल संघका पदाधिकारी त्यहाँ नभएको भए खेल पुनः सञ्चालन हुँदैन्थ्यो होला नी !,” महासचिव चन्दले प्रतिप्रश्न गरे, “रेफ्रीले खेलाडीलाई आरोप लगाउँछ भने ऊ आफैँमा केही कमजोरी होला । तर, भलिबल संघका पदाधिकारी टुलुटुलु हेरेर बस्यो भन्ने आरोप नितान्त निराधार हो । यस्तो निराधार आरोप लगाउने रेफ्रीमाथि हामी कारबाही गर्छौं ।”

हेल्प नेपालले खेलेका सबै खेल जितेको छ । ऊ गतवर्षको उपविजेता टोलीसमेत हो । रेफ्री चौलागार्ईंले खेलका क्रममा कप्तान विनित कुमारलाई पहेँलो कार्ड देखाइसकेका थिए । चौथो सेटको शुरुमै चौलागार्ईंले अमितलाई रातो कार्डको दर्शन गराए, जसका कारण उनीहरूको अंक पनि खोसिएको थियो । तथापि, हेल्प नेपालले अन्तिम सेटमा २५–२३ को नतिजा निकाल्दै खेल ३–१ ले जितेको थियो । 

हेल्प नेपालका महासचिव अरुणकुमार श्रेष्ठले आफूहरूको गल्ती भएको स्वीकार गरे । तर, उनको रेफ्रीप्रति गुनासो भने कायमै थियो । उनले थपे, “नेपालको क्लब भलिबल लिगमा सुरुआतदेखि हामी सहभागी हुँदै आएका छौँ । ठूलो रकम खर्च गरेर विदेशी खेलाडी ल्याउँछौं । जसका कारण प्रतियोगिता प्रतिस्पर्धात्मक बनेको छ । तर, रेफ्रीको सानो गल्तीले हामीलाई ठूलो घाटा लाग्न सक्छ । तर, युवा टोली भएकाले आवेगमा केही गल्ती भए । त्यसलाई हामी स्वीकार गर्छौं ।”

हेल्प नेपालले भलिबल संघलाई चार बुँदे सुझाव पेश गरेको छ । हेल्प नेपालले रेफ्रीले पाँच गलत निर्णय लिएको दाबी गरेको छ । साथै, रेफ्रीले खेलाडीलाई ‘टर्चर’ दिने काम गर्नुका साथै अपशब्द प्रयोग गरी अशोभनीय ढंगले रातो कार्ड देखाएको आरोप लगाएको छ । 

हेल्प नेपालले संघलाई दिएको चार बुँदे सुझावमा भनिएको छ–

–प्रत्येक प्रतियोगितामा रेफ्रीको निर्णयको कारण अत्यधिक मात्रामा विवाद सिर्जना भई असहज परिस्थिति आएको विषयलाई मध्यनजर गरी आगामी दिनमा थप व्यवस्थित गर्न रिभ्यु सिस्टमको विकास गर्नुपर्छ ।

– प्रतियोगिता अवधिभर रेफ्री संयोजक र नेपाल भलिबल संघको विशेष अनुगमन टिमको प्रत्यक्ष उपस्थिति हुनुपर्छ । 

– प्रमुख रेफ्री, सहायक रेफ्री, लाइन जर्ज र अन्य अफिसियलहरूबीच राम्रो समन्वय भएमा विवाद न्यूनीकरण हुनुका साथै आफ्नै सहकर्मीले गरेको निर्णयलाई लिएर टाउको हल्लाउनु पर्ने, ओठ फर्काउनुपर्ने र प्रशिक्षकले रेफ्रीलाई इंकित गर्दै भुइँतर्फ थुक्क–थुक्क गरेका दृष्यहरूको अन्त्य हुनेछ ।

–डिजिटल स्कोर बोर्ड सम्बन्धमा कुनै पनि टिमले स्कोर प्राप्त गरेको अवस्थामा पुनः अर्को सर्भिस गर्नुअगावै प्राप्त स्कोर डिस्प्ले भइसक्ने व्यवस्था गराउनुपर्छ । साथै, समग्रमा खेलाडीहरूसँगै यस क्षेत्रमा आबद्ध व्यक्ति समयसापेक्ष परिवर्तन हुन र अनुशासनमा रहनु पर्ने आजको प्रमुख आवश्यकता हो । 

रेफ्रीसँग दुर्व्यवहार भएपछि सबै रेफ्रीले पनि भलिबल संघमा उजुरी दिएका छन् । उनले आफ्नो सुरक्षाको प्रत्याभूति नहुँदासम्म बिहीबार खेल सञ्चालन गर्न अस्वीकार गरेका थिए । संघले हेल्फ नेपाललाई कारबाही हुन्छ भनेपछि आफूहरू खेल खेलाउन राजी भएको रेफ्रीले बताए ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro