पोखरा । नागरिक उड्डयन प्राधिकरणका पोखरा प्रमुख विक्रमराज गौतमको संयोजकत्वमा बनेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थानान्तरण तथा सञ्चालन कार्यदलले दिएको सुझाव कार्यान्वयन भएको भए यतिबेला पोखराका आन्तरिक र अन्तर्राष्ट्रिय उडान नयाँ विमानस्थलबाट भइरहेका हुन्थे ।
यो कार्यदलले गत जनवरी १ देखि आन्तरिक उडान र २०७९ वैशाख १ देखि अन्तर्राष्ट्रिय उडान पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भर्न सकिने सुझाव दिएको थियो ।
यही सुझावको आधारमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि वैशाख १ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु हुने घोषणा एक कार्यक्रममार्फत गरेका थिए ।
सञ्चारमाध्यममा आएका तीनै कुराको भरमा गत वैशाख १ गते चाउथेमा रहेको विमानस्थल गेटमा यात्रु पुगे । सुरक्षामा खटिएका प्रहरीसँग उनीहरुले भने, “हामी त टिकट लिन आएका हौँ, अब त यहीँबाट उडान सुरु भयो रे त ।”
सुरक्षाकर्मीले ‘विमानस्थल बनेर सकिएको छैन, अहिलेलाई तपाईंहरु क्षेत्रीय विमास्थलमै जानुहोस्’ भनेर, हाँस्दै उनीहरुलाई फर्काइदिए ।
ल्यान्डफिल साइटको ४ करोडसहित पोखरा महानगरले साढे १८ करोड रकमान्तर गरेको खुलासा
जग्गा अधिग्रहणको ४४ वर्षपछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक स्वरुप बनेको छ ।
९२ प्रतिशत भौतिक कार्य सकिइसकेपछि गत चैत १२ गते चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गर्यो ।
नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई विमानस्थलको साँचो हस्तान्तरण गरे ।
विमानस्थलको साँचो अब नेपालको हातमा छ । विमानस्थल कहिले सञ्चालन गर्ने भन्ने जिम्मेवारी पनि अब नेपालकै हातमा छ ।
चिनियाँ कम्पनीले विमानस्थल बनाइदियो, तोकिएको म्यादसम्ममा उसले परियोजनाका सबै काम सक्नेछ ।
तर, विमानस्थलको साँचो हातमा लिएको नेपालले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कहिलेदेखि सञ्चालनमा ल्याउला त ?
यो प्रश्न चाहिँ अब सरकारतिरै फर्केको छ ।
वैशाख १ गते उडान भर्ने घोषणा गरेको सरकारको प्रवृत्ति र विमानस्थलमा देखिएका चार समस्या समाधानमा गरेको पहल हेर्दा यो वर्षपनि पोखराको आकाशबाट अन्तर्राष्ट्रिय उडान हुने छाँटकाँट भने देखिएको छैन ।
शुक्रबार विमास्थल पुग्दा टर्मिनल, ह्याङ्गर, म्यानेजमेन्ट, बोडिङ ब्रिजलगायतका सम्पूर्ण कार्यहरु सकिएका थिए । विमास्थलको टर्मिनल भवन अगाडि ब्युटिफिकेसनको कार्य चल्दै थियो ।
आयोजनाका निमित्त प्रमुख इ. कृष्ण पौडेलले सुरुमा नै भने, “आयोजनाको तर्फबाट तोकिएकै समयमा विमानस्थल निर्माण सकिन्छ, सञ्चालनको जिम्मा चाहिँ अब सरकारकै हातमा छ ।”
उनले यसो भन्नुको तात्पर्य चाहिँ विमास्थलमा सामान्य चार समस्या छन् । ती प्रक्रियामा पनि गइसकेका छन् ।
तर, जुन गतिमा समन्वय हुनुपर्ने हो त्यो हुन सकेको छैन ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि डाँडा काट्नुको विकल्प छैन, ६०० रुख काट्नुपर्ने’
अन्यथा, जुलाई १०, २०२२ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनको लागि ल्याण्डफिल साइटले रोक्ने थिएन, रिठेपानी डाँडाले विमानको उडान छेक्ने थिएन, सिँचाइले बनाएका नहरले विमानस्थलको जमिन कटान गर्ने थिएन अनि आयल निगमले आफ्नो डिपो राखिसकेको हुन्थ्यो ।
यी चार समस्याको समाधान नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कहिले सञ्चालन हुन्छ भन्ने नयाँ मिति हो ।
“सम्झौता चाहिँ जुलाई १० सम्म छ । त्यो म्यादभित्र हामीले विमानस्थलको काम चाहिँ सकिसक्छौँ । विमानस्थलभित्र त खासै समस्या छैन । मुख्य समस्या भनेकै बाहिरको देखिएको छ,” पौडेलले भने, “त्यो पनि हामीले गर्ने भन्दा पनि सम्बन्धित निकायले समन्वय गर्नुपर्ने खालको छ । तोकिएको समयमा विमानस्थल त बन्छ । तर, यससँग सम्बन्धित अन्य निकायले गर्नुपर्ने काम बाँकी छन् ।”
तत्कालका लागि पहिलो र मुख्य समस्या नै ल्यान्डफिल साइटको हो ।
यसको व्यवस्थापन गर्ने भनेको पोखरा महानगरपालिकाले हो । महानगरको एकमात्र ल्यान्डफिल साइट अहिले पोखरा १४ बाच्छेबडुवामा छ । यो भनेको विमानस्थलको दुई किलोमिटरको दुरीमा पर्छ ।
त्यहाँ ल्यान्डफिल साइट हुँदा चराचुरुङ्गीको गतिविधि पनि उत्तिकै छ । विमानस्थलमा चराचुरुङ्गीको गतिविधि बढ्नु भनेको सुरक्षाको दृष्टिले जोखिमपूर्ण अवस्था हो । यो दुरीमा ल्यान्डफिल साइट राख्न मिल्दैन । यो स्थानान्तरण अर्को ठाउँमा गर्नुपर्ने हुन्छ ।
स्थानान्तरणको लागि सुरुदेखि नै पत्राचार गरिरहेको उनले जानकारी दिए ।
“हामीले महानगरलाई सुरुदेखि नै पत्राचार गरिरहेका छौँ । तर, उहाँहरुबाट अप्रोच चाहिँ अलिक ढिला भएको छ,” उनले भने ।
यो ल्यान्डफिल साइटमा १०८ प्रजातीका चराहरु आउने अध्ययनकर्ताहरुले बताएका छन् । यहाँ विश्वमै दुर्लभ मानिएका गिद्ध, महाचिल, सेतो गिद्ध, डंगर, सानो खैरो गिद्ध लगायतका चराहरुको वासस्थान पनि छ ।
ल्यान्डफिल साइट सारेता पनि चराहरुको बानी तत्कालै सर्दैन । यही पेरिफेरिमा घुमिरहन्छन् । चराहरुलाई अन्यत्र जानको लागि, बानी पर्न ८÷१० महिना त लागिहाल्छ ।
“त्यो हिसाबले हेर्दा धेरै ढिला भइसकेको छ । उहाँहरुले पनि विकल्प त हेर्नुभएको छ । तर, निर्णय भने भएको छैन,” पौडेलले भने ।
तर, पोखरा महानगरपालिकाले चाहिँ अन्तिम नगरसभाबाट ल्यान्डफिल साइटको लागि विनियोजित चार करोड बजेट रकमान्तर गरेर विभिन्न टुक्रे योजनामा बाँडेको छ । पोखरा २० मा ल्यान्डफिल साइट स्थानान्तरण गर्ने भनिएता पनि त्यो त्यत्तिकै अलपत्र परेको छ ।
विमास्थलको अर्को समस्या भनेको विमान उड्नको लागि समस्या हो ।
विमानस्थलको पूर्वमा रिठेपानी डाँडा छ । यो अप्रोचमा पर्दछ । अप्रोचमा पर्दा सबैभन्दा अग्लो भागबाट ४० मिटर र सुरुको डाँडालाई चाहिँ १२ मिटर डाउन गर्नुपर्ने हुन्छ ।
डाँडा कटानको लागि हामीले पूरक वातावरणीय प्रभाव मूल्यांकन नागरिक उड्डयन प्राधिकरणले गरेर वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ ।
“अब हामी चाहिँ मन्त्रालयको स्विकृतिको पर्खाइमा छौँ । स्वीकृत हुनासाथ टेन्डर गर्छौँ र डाँडाको कटान प्रक्रिया सुरु हुन्छ । मन्त्रालयले स्वीकृत चाहिँ कहिले गर्छ भन्ने थाहा छैन,” उनी भन्छन्, “प्रक्रियामा जाँदा र कटान गर्दा पनि समय लाग्छ । अन्तर्राष्ट्रिय जहाज उडान र अवतरणका लागि यो डाँडा बाधकका रूपमा देखिएको छ ।”
उनका अनुसार अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि यो डाँडा ४० मिटरसम्म कटान गर्नुपर्ने भए पनि सरकारी वनतर्फको रूख कटानको बाटो खुलेको छैन । क्यालिब्रेसन फ्लाइटका लागि १२ मिटर डाँडा तत्काल कटान गर्नुपर्ने हुन्छ ।
डाँडा कटानको विषय चाहिँ अहिले वन तथा वातावरण मन्त्रालयमा पुगेर रोकिएको छ ।
विमानस्थलमा नेपाल आयल निगमले बनाउने भनिएको इन्धन भण्डारण कक्षको काम पनि सुरु भएको छैन ।
पौडेल भन्छन्, “आयल निगमको डिपो राख्नको लागि जग्गा छुट्याएका थियौँ । त्यहाँ आएर संरचना बनाउने भनेको निगमले हो । व्यवस्थापन भवन पछाडि जग्गा छुट्याएका छौँ । उहाँहरुको काम पनि ढिलाई भइसकेको छ । यतिबेला सकिइसक्नुपर्ने थियो । तर, खै के विवाद भयो रे ।”
निगमले चाहिँ विमानस्थल सञ्चालको लागि अहिले आन्तरिक विमानस्थमा रहेको डिपो र अर्को डिपो थपेर अप्रेसनलाई बाधा नपुग्ने प्रतिबद्धता जनाएको उनले बताए ।
वर्षातको भल विमानस्थलमा पस्दा पूर्वी विजयपुर खोलातर्फको भाग कटानमा पर्यो । पहिलो यो एरियामा खेती हुन्थ्यो । अहिले खेती छैन । तर, त्यतिबेला खेती हुँदाका सिँचाई प्रणाली अहिलेसम्म हटेका छैनन् । त्यो पानी सीधै विमानस्थलतिर आउँछ ।
वर्षातमा त झन् व्यवस्थापन गर्न गाह्रो हुन्छ । यसले सिँचाइले बनाएको नहर भरिएर विमानस्थलको जमिन कटान गरेको छ ।
गत वर्षायाममा ठूलो वर्षा हुँदा सिँचाइ नहरमा भल मिसिँदा नहर भत्केर बगेको पानीले विमानस्थलनजिकै पूर्वतफर्कको विजयपुर खोलाको डिल भत्कायो ।
उनी भन्छन्, “यही अवस्था रहे विमानस्थललाई नै क्षति पुग्छ । विमानस्थल माथिको भेग र दक्षिणको लागि चाहिने सिँचाई प्रणालीमात्र पठाउनू भनेका छौँ । उहाँहरुले बजेट माग गरेको बताउनुभएको छ ।”
तर, विमानस्थल अपरेसन गर्नको लागि चाहिँ ड्रेनको क्षमता बढाइएको र आउँदो वर्षातको लागि सहज पानी निकासको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
“उता (सिँचाई) बाट गर्दा ढिला हुने देखेर हामीले यो परियोजना हेर्ने सीसीएमसीलाई बाहिरबाट गर्दा ढिला हुन्छ, विमानस्थल सञ्चालन गर्नको लागि चाहिँ तिमीहरुले नै गर्नुपर्छ भन्यौँ । परियोजनाले पहिले बनाएको ड्रेन भत्काएर अहिले ठूलो क्षमताको, सबै पानी आउँदा पनि पानी विजयपुरसम्म डाइभर्ट गर्न सकिने गरि ड्रेन निर्माण काम भइरहेको छ । विमानस्थलभित्र आउने भलको क्रम त रोकिने भएन, तर आएको भल चाहिँ हामीले सुरक्षित तरिकाले यस वर्षातमा विजयपुर खोलासम्म डाइभर्ट गर्न सक्ने भएका छौँ,” उनले भने ।
तर, दीर्घकालीन रुपमा हेर्दा चाहिँ स्रोतबाट नै कम गर्नुपर्छ । विमानस्थलमा पानी आएको राम्रो हुँदैन । पानीमात्रै होइन, सिनो फोहोर पनि बगाएर ल्याउने गरेको छ । यसले भविष्यमा विमानस्थललाई समस्या हुन सक्छ ।
हामी आयोजनाको हिसाबले हेर्दा, हामीले तोकिएकै समयमा सबै काम सक्छौँ ।
जुन बाहिरी निकायसँगको काम चाहिँ उहाँहरुको गतिमा नै भर पर्छ ।
पौडेलका अनुसार अहिले रनवे, ट्याक्सी वे, जहाज पार्किङ गर्ने एप्रोन, आइसोलेटेड एप्रोन, टर्मिनल भवन, कन्ट्रोल टावर, ह्याङ्गर, कार्गो, रेस्क्यु, कस्टम इमिग्रिसेन, भेइकल पार्किङ, विमास्थल प्रवेश सडक सहित विभिन्न १४ वटा भवन निर्माण भइसकेका छन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालमा नै पहिलोपटक दुईवटा बोडिङ ब्रिज जडान गरिएको छ । यी ब्रिज अन्तर्राष्ट्रिय उडानमा अराइभल र डिपार्चरमा यात्रुहरुले प्रयोग गर्नेछन् ।
सन् २०१४ को मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएको थियो । २०१६ मार्च २१ मा नेपाल र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भयो ।
नेपाल सरकार र प्राधिकरणबीच २०१६ जुन ५ मा अनुदान ऋण सम्झौता भयो । एक्जिम बैंकले २०१७ मे ३१ बाट ऋण प्रवाह गर्यो । २०१७ जुलाई ११ बाट काम सुरु भयो ।
उक्त कम्पनीसँग भएको सम्झौताअनुसार आयोजना निर्माणको काम २०२१ जुलाई १० भित्र सक्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण विमानस्थलको सम्झौता अवधी १ वर्ष थप गरिएको थियो । जुन म्याद आगामी जुलाई १० मा सकिनेछ ।
चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा २२ अर्ब रुपैयाँको लागतमा आयोजना निर्माण भइरहेको छ । हालसम्म आयोजना निर्माणको काम ९५ प्रतिशत सकिएको उनले बताए ।
अन्तर्राष्ट्रिय उड्ययन संस्था (आइकाओ)को मापदण्डभित्र रहेर फोरडी मोडलमा बनिरहेको यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन् ।