site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरामा हिजोका सहयात्रीबीच प्रतिष्पर्धा : कलमलाई रुखको भर, सूर्यलाई कलमकै डर !
SkywellSkywell

पोखरा । सोमबार उमेदवारी दर्ता गर्नुभन्दा अगाडि नै नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले एक कार्यक्रममा भनेका थिए, “हामीले एमालेमा विद्रोह गरेर आएका हौँ, एमालेका कमजोरी हामीलाई थाहा छन्, हामीले एमालेको अंश छुटाएर ल्याएका छौँ, एमालेलाई हराउन सक्ने भनेकै हामी हो ।”

उनै आचार्य आखिरमा गठबन्धनका तर्फबाट पोखराको मेयर बने र सोमबार उमेदवारी दर्ता गराए । त्यस क्रममा उनले भनेका थिए, “मेरो होइन, हाम्रो उमेदवारी हो, हामीले १८ हजारसम्मको अन्तरले चुनाव जित्छौँ ।”

चुनावमा उनले हाम्रो उमेदवारी भन्नुको तात्पर्य चाहिँ, गठबन्धनमा अन्य दल पनि छन्, ती सबैको मतले चुनाव जित्नेछु ।

KFC Island Ad
NIC Asia

आचार्यभन्दा अगाडि नै उमेदवारी दर्ता गराएका नेकपा एमालेका कृष्ण थापाचाहिँ आफूले चुनाव जित्नेमा विश्वस्त थिए । दर्तापछि उनले भने, “हाम्रो अभियान पोखरा बनाउने हो, जनताले हामीलाई विश्वास गर्नेछन् ।”

यी दुवैको दाबी आ–आफैले जित्ने दाबी भएता पनि पोखराको मेयरमा चाहिँ एमालेका थापा र पूर्वएमालेबाट विद्रोह गरेर आएका आचार्यमध्ये कसले बाजी मार्लान् भन्ने अनेक अड्कलबाजी छन् ।

Royal Enfield Island Ad

यी दुवै प्रतिष्पर्धी मात्र होइनन्, नेकपा एमाले कास्कीको सक्रिय राजनीति सँगै गरेका सहयात्री पनि हुन् ।

कम्युनिष्ट उत्पादनको केन्द्र मानिने पृथ्वीनारायण क्याम्पसमा पढ्दाताका नै एमालेको विद्यार्थी संगठनबाट राजनीतिमा सक्रिय भएका हुन् ।

एमाले, मालेदेखि फेरि एमाले र पोखरामा एमालेलाई जिताउन खटिएका यी दुई सहयोद्धा अहिले विपरीत पार्टीबाट एउटै पदमा चुनाव लड्दैछन् ।

कलमलाई रुखको भर, सूर्यलाई कलमको डर

पहिलोपटक कलम चिह्न मतपत्रमा देखिँदैछ । नयाँ चुनाव चिन्हमा मतदाताले मत हाल्लान् त ? यसमा गठबन्धनबीचका मिश्रित मतदातामा भर पर्छ । कारण, कांग्रेस गठबन्धनको सबैभन्दा ठुलो दल हो र, यो मास बेस्ड पार्टी भएका कारण मत नहाल्न सक्छन् भनेर कांग्रेसभित्रै शेखर कोइरालालगायतका नेताहरुले बोल्दै आएका छन् ।

पोखराको हकमा पनि गठबन्धनलाई सबैभन्दा ठूलो डर गठबन्धनकै हो ।

गठबन्धन भए पनि प्रमुख पाउनुपर्छ, नपाए एक्लै चुनाव लड्नुपर्छ भनेर कास्की कांग्रेसमा तालाबन्दीदेखि पदाधिकारी थुन्नेसम्मका काम भए । यो देखेर गठबन्धनका अन्य चार कम्युनिष्ट दल सशंकित हुनु स्वाभाविक नै हो ।

मेयरमा समाजवादीलाई सघाएता पनि चुनाव चिह्न रुख नै हुनुपर्छ, भन्नेसम्मका आवाज कास्की कांग्रेसले उठायो । तर, केन्द्रको हस्तक्षेपपछि पोखरामा गठबन्धनबाट कलम चुनाव चिह्नबाट नै प्रमुखमा आचार्य उठ्दैछन् । कास्कीका अन्य पालिकामा भने

गठबन्धन तोडेर केन्द्रको निर्देशनविपरीत एक्लै चुनाव लड्ने निर्णय कास्की कांग्रेसले गर्‍यो ।

पोखरा प्रमुखका उमेदवार आचार्यलाई एमालेका डरभन्दा कांग्रेसको भरमा चुनाव जित्ने आशा छ । तर, अघिल्लोपटकको भरतपुरमा उमेदवार नै नभएता पनि रुख चुनाव चिह्नमा मतदाताले मत हालेपछि पोखरामा पनि कांग्रेसमा आस्था राख्ने मतदाताले मत नहाल्ने हुन् कि भन्ने डर गठबन्धनका उमेदवारमा छ ।

त्यसकारण आचार्यले उमेदवारी दर्ताका क्रममा कांग्रेसका नेतालाई दायााँबायाँ राखेर भनेका थिए, “मेरो उमेदवारी होइन, हाम्रो उमेदवारी हो ।”

उसो त, कांग्रेसबाटै तीनजना बागी उमेदवारले पनि उमेदवारी दर्ता गराएका छन् । तर, मतपत्रमा रुख चुनाव चिह्न नभएको खण्डमा चाहिँ त्यसले प्रभाव नपार्ने विश्लेषण गठबन्धनको छ । बागी उमेदवारहरुलाई फिर्ता गराउने प्रयास पनि भइरहेको छ ।

गठबन्धनले इमानदार भएर मत हालेको खण्डमा एमालेको मत तानेर चुनाव जित्ने दाउ धनराजको छ । यसबाहेक व्यक्तिगत रुपमा उनको व्यावसायिक साझेदारी एमालेकै नेताहरुसँग  छ । त्यसको फाइदा लिन सक्ने आश आचार्यसँग छ ।

गठबन्धनभित्रैको बेमेल देखेर एमाले चाहिँ आफूले जित्नेमा ढुक्क छ । अघिल्लो निर्वाचनको मतान्तर हेर्दा पनि एमाले कास्कीमा बलियो रहेको सत्य हो । अघिल्लो निर्वाचनमा एमालेका मानबहादुर जिसीले कांग्रेस माओवादी गठबन्धनका रामजी कुँवरलाई १३ हजार ७०२ अन्तरले हराएका थिए । अहिले थपिएका ३९ हजार ६४५ मतदातामा ५० प्रतिशत मत थपिएको दाबी गरेको एमालेले अहिले पनि गठबन्धनसँग एक्लै लड्ने र चुनाव जित्ने सामथ्र्य रहेको दाबी गर्दै चुनावमा होमिएको छ।

तर, उसलाई पनि भित्रि डर चाहिँ समाजवादीको रहेको छ ।

एमाले कास्की राजनीतिमा चर्चित र प्रभावशाली रहेका आचार्यसहितको एउटा समूह समाजवादीमा लागेपछि त्यसको डर एमालेमा छ । समाजवादीले ६ हजार त संगठित सदस्य पोखरामा मात्रै रहेको दाबी गरेको छ । १२ हजार मत सुरक्षित रहेको दाबी गरिरहेको समाजवादीले तानेको मत सबै एमालेकै हो । तर, एमालेले उक्त दाबीलाई झुट भनेता पनि भित्रि डर चाहिँ समाजवादीकै हो ।

अर्कातर्फ, एमालेले सुरुमा उठाएका उमेदवार दीपक पौडेललाई टिकट नदिनको लागि सुनकाण्डलाई भाइरल बनाएका थिए ।

त्यसपछि टिकट पाएका थापा पनि सांसद रहँदा विवादित विज्ञप्ति निकालेका थिए । जातीय पक्षपोषण गरेको भन्दै उनीमाथि पार्टीमा नै कारवाहीको उजुरीसमेत परेको थियो ।

सामाजिक सञ्जालमा अझै पनि थापाको विज्ञप्तिलाई लिएर चर्को आलोचना भइरहेको छ ।

पौडेललाई हटाउनको लागि एमालेका एक समूहले सीसीटीभी फुटेज भाइरल बनाएर टिकट खोसेको आरोप चाहिँ अर्को पक्षले लगाएको छ । 

सुरुमा टिकट पाएका पौडेलले, “केही आफ्नै पार्टीका षड्यन्त्रकारी तत्वहरुले दुराग्रह भावना राखी चार वर्ष अगाडिको झुट सम्पादित भिडियो बनाई चरित्र हत्या गर्न खोजे । ...... मैले पद पाउन भनेर अर्कालाई होच्याउने कार्य कहिल्यै गरिन, अर्कालाई मिथ्या आरोप लगाएर पदको लागि मरिहत्ते गर्ने हर्कतविरुध्द म जीवनभर संघर्ष गरिरहनेछु,” भन्दै विज्ञप्ति जारी गर्दै भनेका छन् ।

पौडेल समर्थक समूहले चाहिँ उक्त भिडियो फुटेजको प्रतिशोध साँध्न एमालेकै एक तप्काले थापालाई असहयोग गर्न सक्ने विश्लेषण पोखरामा चलिरहेको छ ।

जेल, पोखराको मेयरदेखि सांसद, फेरि मेयर उमेदवार

कृष्ण थापा एमालेमा पटकपटक लाभको पदका लागि टिकट लिएका व्यक्ति हुन् । २०५४ को तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर भइसकेका थापा प्रदेशसभा सदस्य थिए । एमालेबाट अर्का उमेदवार दीपक पौडेलले टिकट पाइसेको अवस्थामा अन्तिममा थापालाई एमालेले मेयरमा खडा गरेको छ ।

गत शनिबार एमालेबाट उमेदवार घोषित पौडेल सुनकाण्डमा मुछिएपछि एमालेकै कार्यकर्ताको आलोचना र दबाबकाबीच अन्तिममा उमेदवारी फेर्ने क्रममा थापालाई मेयरको चिट्टा पर्‍यो ।

अहिले चुनावी प्रचारप्रसारमा व्यस्त थापा २०३५–०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका हुन् ।

२०४१ साल २९ भदौमा तत्कालीन नेकपा (माले)बाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०४१ सालमा अनेरास्ववियु कास्कीको छैठौं जिल्ला कमिटीको अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष चुनिए । २०४३ को जनपक्षीय चुनाव परिचालन कमिटीको संयोजकको जिम्मा उनले सम्हालेका थिए । थापा २०४३ मंसिरदेखि २०४६ पुससम्म जेल जीवन बिताए । तत्कालीन पञ्चायत राजकाज मुद्धामा पोखरा, दमौली र गोरखा गरी २९ महिना जेल जीवन बिताएका थिए । 

उनी २०४६ सालको जन–आन्दोलनमा वाममोर्चा गण्डकीको सदस्य भए । २०४६ सालदेखि दुईवर्ष अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बने । २०४९ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको सचिवालय सदस्य बनेका उनी २०५२ सालमा नेकपा एमालेको प्रथम नगर अधिवेशनबाट सचिव निर्वाचित भएका थिए । त्यसको दुई वर्षपछि भएको चुनावमा उनी तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर भए ।

२०६५ सालमा नेकपा एमाले कास्कीको सचिव भएका थापा २०७० सालमा नवौं कास्की जिल्ला कमिटीको अधिवेशनबाट अध्यक्ष निर्वाचित भए । थापा २०५१ सालमा उपत्यका नगर विकासको अध्यक्ष, २०७१ मा राष्ट्रिय ताल समिति सदस्य भएका थिए । २०५५–०७३ सम्म नेपाल नगरपालिका संघको केन्द्रीय सचिवालय सदस्य भएका काम गरेका थिए ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा थापा कास्की २ (क) बाट निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका गुरुप्रसाद बराललाई ७ हजार ४ मतले हराएका थिए । थापाले १५ हजार ३२९ मत पाउँदा बरालले ८ हजार ३२५ मत ल्याएका थिए । 

शिक्षामा स्नातक गरेका थापा स्वास्थ्यका पनि विद्यार्थी हुन् । थापाले चिकित्साशास्त्र विज्ञान संस्थान, सुर्खेतबाट सि.एम.ए (कम्युनिटी मेडिकल असिस्टेन्ट)पढाइ पूरा गरेका छन् ।

एमाले छाड्नासाथ पोखराको प्रमुख

साढे तीन दशक एमालेको राजनीतिमा सक्रिय धनराज आचार्यले चाहिँ एकपटक लाभको पद पाएनन् । पार्टीको सांगठनिक जिम्मेदवारीमा अगाडि बढाएता पनि न उनले कुनै संसदीय निर्वाचनको स्वाद लिन पाए, न पार्टीले उनलाई टिकट नै दियो ।

कारण, उनी एमालेमा माधवकुमार नेपाल समूहका थिए । पोखरा ओली समूहको उर्वरभूमि नै भएका कारण पटकपटक निर्वाचनमा उमेदवार हुने आकांक्षा राखेता पनि उनी गुटगत शिकार हुन पुगे ।

ओली प्रवृत्ति नै सहन नसकेपछि माधवकुमार नेपालले गत साल पार्टी नै विभाजन गरे । एमालेमा विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेपछि धनराज आचार्यले कास्कीमा समाजवादी पार्टीबाटै बाँकी राजनीति अगाडि बढाए ।

माधव नेपालकै चर्को अडानका कारण पोखराको प्रमुख गठबन्धन दलबाट एकीकृत समाजवादी चुनाव लड्ने भयो । पोखराको प्रमुखको लागि आकांक्षा राखेका उनै आचार्यलाई समाजवादीले टिकट दियो ।

गठबन्धनका दलहरुको साझा उमेदवार भएका कारण उनले पाँचै दलको मतले चुनाव जित्ने बताउँदै आएका छन् ।

स्थानीय चुनावमा पहिलोपटक भाग लिएको समाजवादीका उमेदवार आचार्यको राजनीति पनि पृथ्वीनारायण क्याम्पसबाटै सुरु भएको हो ।

१३ वर्षको उमेरमा नै अनेरास्ववियुको सदस्य बनेका आचार्य २०४५ सालमा अनेरास्ववियुको कास्की जिल्ला सदस्य बने ।

अनेरास्ववियु कास्कीको अध्यक्ष बनेपछि २०४८ सालमा अनेरास्ववियुको गण्डकी अञ्चलको नेतृत्व लिँदै केन्द्रीय सदस्यसम्म बने ।

पार्टीगत राजनीतिमा चाहिँ उनले २०४४ सालमा नै तत्कालीन नेकपा मालेको सदस्यता लिई जेल विभागमा आबद्ध भएका थिए ।

नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्यका रुपमा २०५२ सालमा जिम्मेवारीमा रहँदाको बखत एमाले विभाजन भएपछि उनी २०५४ सालमा मालेमा आबद्ध भएका थिए । त्यतिबेला उनीसँग नेता रवीन्द्र अधिकारी, कृष्ण थापा पनि सँगै मालेमा लागेका थिए ।

तर, पछि एमालेमै फर्किए ।

पार्टीमा उनले २०६० सालमा नेकपा एमाले कास्कीको उद्योग व्यवसाय विभाग प्रमूखको भूमिका पाए भने २०६४ सालदेखि पाँच वर्षसम्म फ्रयाक्सन सचिवको जिम्मेवारीमा रहेका थिए ।

२०६९ सालदेखि २०७६ सालसम्म नेपाल उद्योग व्यवसायी महासंघको स्थायी कमिटी सदस्य र २०७१ सालदेखि चार वर्षसम्म नेकपा एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य, २०७५ सालदेखि २०७८ सालसम्म नेकपाको उद्योग तथा व्यवसाय विभाग सदस्य रहेर राजनीतिमा सक्रिय थिए ।

एमाले विभाजनपछि चाहिँ उनको राजनीतिक लाइन फेरियो । २०७८ सालामा नेकपा एमाले जिल्ला कमिटी कास्कीको सामानान्तर कमिटिको अध्यक्षसँगै पार्टी विभाजनपछि उनी अहिले समाजवादीमा सक्रिय छन् ।

आचार्यले एमबिए र एमएड अध्ययन गरेका छन् ।

बागीको होइन, स्वतन्त्रको प्रभाव

लेखक गनेश पौडेल (खडकराज) ले सबैभन्दा पहिले पोखराको प्रमुखमा स्वतन्त्र उमेदवारी घोषणा गरेका हुन् । पोखरा कार्ययोजना पत्र पनि सुरुमा उनले नै सार्वजनिक गरे ।

“आउनुहोस्, केही त गरौँ, अति भो, अब अटेर गरौँ” नाराका साथ उनले थालनी गरेको अटेरी अभियानमा अहिले सयौँ युवा संलग्न भई स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।

पोखरामा नै प्रमुखसहित १७ जनाले विभिन्न वडाहरुमा उमेदवारी दर्ता गराएका छन् । तटस्थ, पुरानो नेतृत्वबाट परिवर्तनको आशा नभएका र नयाँ थपिएका मतदाताहरुको मत स्वतन्त्रमा जान सक्ने र त्यसको क्षति ठुला दललाई हुने आँकलन छ । कुनै राजनीतिक कार्यक्रममा नदेखिने कुमार नगरकोटी आएर पोखरामा अटेरी अभियानका उमेदवार पौडेललाई शुभकामना दिन आए ।

लेखक पौडेलको घोषणापत्रमा नयाँ कुरा छ, “यौन उदारता ।” प्रहरीले होटेलबाट रंगेहात समातेर लग्ने प्रवृत्तिको विरुद्धमा उनले घोषणापत्र निकालेका छन् । 

पोखराका रैथाने पौडेल यसअघि पनि अन्तर्राष्ट्रिय विमानस्थलले त्यहाँका स्थानीयलाई पुगेको क्षतिबारे संघर्ष गर्ने समितिको संयोजक सम्म भएर काम गरेका छन् । पोखरामा चिनिएको उनको अनुहारले मत ल्याउने र नयाँ तटस्थ मतदाताको मत उनलाई जाने आँकलन गरिएको छ ।

दुईवटा ठूला दलबाहेक पोखराको प्रमुखमा पौडेल चर्चामा छन् ।
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro