काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी (आईजी)ले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका राजु अर्याललाई आज दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच उल्लेखित दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । मन्त्रिपरिषद्को यही वैशाख १३ गतेको निर्णयबाट उनी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा पदोन्नति भएका हुन् ।
त्यसक्रममा महानिरीक्षक केसीले पदोन्नति भएका अर्याललाई बधाई दिए । कार्य सफलताको शुभकामना समेत व्यक्त गरे ।
यस्तै, शान्ति सुरक्षा, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, विपद् उद्वारलगायत सांगठनिक जिम्मेवारीहरूमा खरो रूपमा उत्रिन सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन पनि दिए ।
वि.सं. २०५४ साल चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका राजु अर्याल ०५८ मा सशस्त्र प्रहरी बल नेपालतर्फ स्थानान्तर भएका थिए ।