काठमाडौं । आज विश्व औलो दिवस नेपालमा पनि ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ मनाइँदैछ । सरकारले सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पुर्याउने लक्ष्य राखेको छ ।
आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ पश्चात नेपालमा औलो महामारीको रुपमा देखिएको छैन । त्यसयता सो दर निरन्तर घट्दो क्रममा छ । पछिल्लो वर्ष ३७७ जना औलोका बिरामी उपचारमा आएको स्वास्थ्यत तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
सन् २०२१ मा गरिएको औलोको जोखिम क्षेत्र निर्धारणका लागि गरिएको सुक्ष्म स्तरिकरणको प्रतिवेदन अनुसार अझै करिब ३९ प्रतिशत जनसंख्या औलोको जोखिम क्षेत्रमा बसोबास गर्दछन् । त्यसमध्ये अधिकांश बिरामी भारतबाट आउने नेपाली रहेको प्रतिवेदनमा उल्लेख छ ।
लामखुट्टेको टोकाइबाट बचौं औलोबाट जोगिऔं
सामान्य रुपमा औलो भनेर चिनिने मलेरिया, एनोफिलिज जातको संक्रमित पोगी लामखुट्टेको टोकाइबाट फैलिने गम्भीर प्रकारको रोग हो । १० देखि १५ दिनसम्म निरन्तर ज्वरो आउनु, टाउको दुख्नु, शरीरका भित्री अंग सुन्निनु, जोर्नी दुख्नु, शरीरमा रगतको मात्रा कम हुनु तथा थकित महसुस हुनु औलोका लक्षण हुन् ।
औलोको शंका लागेमा रगत परीक्षण गरी पोजिटिभ देखिए सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार लिन सकिन्छ । लामखुट्टेको टोकाइबाट जोगिनु नै औलोबाट बच्ने मुख्य उपाय हो ।