काठमाडौं । लागुऔषध कारोबारीले तस्करीका नयाँ–नयाँ तरिका अपनाउँछन् । तस्करीका अनेक तरिकामध्ये एक तरिका प्रहरीले पत्ता लगाएको छ, लागुऔषध मिसाएको चकलेट ।
चक्लेटका रूपमा भित्र्याउँदा शंका नहुने भएपछि तेस्रो मुलुकबाट नेपालको विमानस्थल हुँदै भित्रिन्छ, लागुऔषध । वीरगन्जमा लागुऔषध मिसिएको चकलेटसहित एकजना पक्राउ परेपछि यस्तो रहस्य बाहिरिएको हो ।
प्रहरी अनुसन्धानका क्रममा लागुऔषध मिसाएको चकलेट बेलायत र जर्मनीबाट नेपाल आइपुगेको पाइएको छ । बेलायत र जर्मनीबाट आएको लागुऔषध मिसाएको चकलेटसहित पर्सामा ती व्यक्ति पक्राउ परेका हुन् ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बेलायत र जर्मनीबाट पार्सलका रूपमा हुलाक कार्यालयमार्फत ती चकलेट ल्याइने गरिएको थियो । ब्युरोले गएको चैत २६ गते वीरगन्ज महानगपालिका–८, पर्साबाट २२ वर्षीय राजशिखर गुप्तालाई पक्राउ गरेको थियो । गुप्ताको साथबाट चरेस मिसिएको चार किलो ४१८ ग्राम चकलेट प्रहरीले बरामद गरेको थियो ।
यसबाहेक ट्याब्लेटका रूपमा रहेको ५०० ट्याब्लेट एम्फेटामाइन समेत बरामद गरिएको ब्युरोले जनाएको छ ।