काठमाडौं । आज विश्व स्वास्थ्य दिवस । ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।
यो वर्ष स्वास्थ्य दिवसको नारा वातावरण र मानव स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित रहेर निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विश्वमा वायु प्रदूषणजन्य रोगका कारण बर्सेनि ७० लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ ।
विश्वमा दुई अर्ब मानिस सुरक्षित पिउने पानी र ३.६ अर्ब मानिस सुरक्षित सरसफाइको अभावमा छन् । यस्तै, प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखाजन्य रोगबाट आठ लाख २९ हजार मानिसको ज्यान जाने गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा बर्सेनि वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सुर्तीजन्य रोगका कारण २७ हजार १०० मानिसको अकालमै मृत्यु हुने गरेको तथ्यांक छ ।
नेपालमा वायु प्रदूषण, जलवायु परिवर्तनप्रेरित प्रकोपहरू (बाढी, खडेरी, अत्यधिक गर्मीका कारण हुने वन डढेलो) र असुरक्षित पानीको प्रयोगले मृत्यु र रोगलाई बढाउने गरेको मन्त्रालयले जनाएको छ ।
यस्तै, राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिलगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।