site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘कोचिङ’ जान स्कुल हिँडेकी थिइन्, बाटोमै अपराधीले हत्या गरे !

काठमाडौं । मंगलबार अर्थात् आज बिहान ‘कोचिङ’ कक्षाका लागि घरबाट हिँडेकी उदयपुरको कोशी जनता माध्यमिक विद्यालयकी १६ वर्षीया छात्रा कविता सुनुवार विद्यालय पुग्न सकिनन् ।

बिहान ६ बजेर १५ मिनेटबाट सुरु हुने कोचिङ कक्षाका लागि हिँडेकी उनी यसोदा खोलामा मृत भेटिइन् । बिहान साढे छ बजेको आसपासमा उनलाई भैसी चराउन जानेहरुले देखेका थिए ।

बेलका नगरपालिका–३ की छात्रा कविता कक्षा १० मा अध्ययनरत थिइन् । विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साहले भने,“उनी एक किशोरी साथीसँग घरबाट विद्यालय निस्किएको सुनेका छौं । तर उनी विद्यालय नै पुग्न पाइनन् । बाटोमा उनको हत्या भयो । पढाइमा उनी अब्बल थिइन् ।”

साहका अनुसार शरीरमा छाला रोगको समस्या देखिएपछि उनी केही दिनयता बिहानको कोचिङ कक्षामा अनुपस्थित रहँदै आएकी थिइन् । विद्यालयमा प्रत्येक दिन बिहान ६ बजेर १५ मिनेटदेखि अंग्रेजी, गणित र विज्ञान विषयको पढाई हुँदै आएको थियो ।

केही दिन कोचिङ कक्षा नआएकी उनी आज एकजना छात्रा साथीसँग विद्यालय जान भनेर घरबाट हिँडेको खुलेको छ । कविताको घर विद्यालयभन्दा ३ किलोमिटरको दुरीमा छ । उनी प्रायःजसो पैदल हिँडेरै विद्यालय पुग्ने गरेकी थिइन् ।

प्रधानाध्यापक साहले भने,“के भनौं पूरै अनुहारमा गाडीले नै किचेकोजस्तो देखिन्छ तर गाडीको ठक्करबाट नभइ हत्या भएको आशंका धेरैले गरेका छन् । सडकबाट २०–२५ मिटर पर शव भेटियो । विभत्स अवस्था छ ।”

निम्न वर्गीय परिवारकी कविताका बुबा सामान्य मजदुरीको काम गर्दै आएका छन् ।

विद्यालय र स्थानीयले कविताको हत्या गरिएको भन्दै अनुसन्धानको माग गरेका छन् । विद्यार्थी र स्थानीयले दोषीमाथि कारवाहीको माग गर्दै प्रर्दशनसमेत गरिरहेका छन् ।

विद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“विद्यालयमा नियमित रुपमा अध्ययनरत छात्राको विद्यालय आउने क्रममा बाटोमा भएको यो क्रुर र हिंस्रक घटनाको विद्यालय परिवार घोर भ्रत्र्सना र निन्दा गर्दछ । यस किसिमको घटनाले बेलका नगरको सुरक्षा संवेदनशिलतामा प्रश्न उठाएको छ । यस घटनाको निश्पक्ष छानबिन गरि यथासिघ्र अपराधी पत्ता लगाई कडा भन्दा कडा सजाय गर्न सरकारसँग जोडदार माग गर्दछौं ।”

घटनाबारे अनुसन्धान भइरहेको प्रदेश नम्बर–१ प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए । प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको एसपी राईले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro