काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्यले पैसा छैन भन्दै भ्यु टावर बनाउन फजुल खर्च गरिरहेको बताएका छन् ।
आइतबार तनहुँको बन्दीपुरमा सिमलटार खानेपानी आयोजनाको उद्घाटन गर्दै उनले राज्यले सडक, खानेपानी, अस्पताललगायत क्षेत्रमा लगानी गर्न छाडेर भ्यु टावर बनाउन फजुल खर्च भइरहेको बताएका हुन् ।
“तनहुँजस्तो जिल्लामा त डोकामा पानी बोक्नुपर्ने अवस्था छ भने दुर्गम जिल्लामा अवस्था कस्तो होला, यसले देश कहाँ छ छर्लंग पार्छ,” उनले भने, “फजुल खर्च भ्यु टवारमा बनाउन भएको छ । मधेसमा सडक–सडकमा गेट बनाउन खर्च भएको छ ।”
उनले पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउँदा भ्यु टावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्न आग्रह गरे ।
“भ्युटावर बनाउँदा जति खर्च लाग्छ, त्यो खर्च अस्पतालमा, विद्यालयलगायतमा खर्च गर्ने गरी घोषणापत्र बनाउनुभयो भने त्यो नै प्रभावकारी हुन्छ,” उनले भने ।
उनले चुनावी तालमेलका विषयमा तल्लो तहमै छलफल गरेर टुंगोमा पुर्याउन पनि आग्रह गरे ।