काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाह निवासमा पुग्ने गरेको आरोप लगाएका छन् । शुक्रबार आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रममा उनले ओलीले सत्ता गठबन्धन तोड्न लागेको आरोप पनि लगाए ।
“गठबन्धन तोड्न ओली लागिपरेका छन् । उनी पनि गठबन्धन गर्दैछन् । सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन् । विदेशीहरुको दलाली गर्न खोज्ने पार्टीसँग तालमेल गर्न खोजिरहेका छन् । किनभने उनीहरु दक्षिणपन्थी शक्ति हुन्,” उनले भने, “दक्षिणपन्थी शक्तिहरु दक्षिणपन्थीसँग मिल्छन् । हामी वामपन्थी शक्ति हौं । लोकतान्त्रिक र वामपन्थी शक्तिसँग मिलेर अघि बढ्छौं ।”