आज २१ मार्च, विश्वभर “भ्वाईसेज फर एक्सन अगेन्स्ट रेसिज्म” भन्ने नारासहित “सबै प्रकारका विभेदहरुको अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस” मनाइँदैछ ।
सन् १९६० को मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल भन्ने सानो नगरमा त्यहाँको सरकारले ल्याएको “रंगभेदी कानुन”को विरोधमा निकालिएको शान्तिपूर्ण र्यालीमा उत्रिएका सयौँ नागरिकमाथि प्रहरी दमन हुँदा ६९ जना अश्वेत नागरिकको ज्यान गएको थियो ।
त्यस घटनाले विश्वको ध्यानाकर्षण गर्यो । उक्त घटनाको सर्वत्र विरोध भयो । त्यसपछि संयुक्त राष्ट्र महासभाले विश्वका सबै मुलुक एवं अन्तर्राष्ट्रिय समुदायलाई यस विषयमा गंभीर बन्न आह्वान गर्नुका साथै सबै प्रकारका विभेदको अन्त्यको दिशामा ठोस प्रयास बढाउनका लागि आग्रह समेत गर्यो । संयुक्त राष्ट्रसंघको महासभाले २१ डिसेम्बर १९६५ मा एउटा अवधारणा अघि सार्दै यसमा हस्ताक्षरका लागि सबै राष्ट्रलाई आग्रह गर्यो । अक्टोबर २६, १९६६ मा संयुक्त राष्ट्रसंघको महासभाले एउटा संकल्प प्रस्ताव पारित गर्यो ।
उक्त सार्पभिल्ल घटनाको दिन “मार्च २१” लाई संयुक्त राष्ट्रसंघले मनाउने अन्य दिवस सरह घोषणा गर्दै ४ जनवरी १९६९ देखि यो महासन्धि कार्यान्वयनमा गयो । हाल यस महासन्धिका ८८ सदस्य राष्ट्र छन् भने १८२ पक्ष राष्ट्र रहेका छन् । त्यस यता उक्त घटनामा मारिएका ती ६९ जना अश्वेतहरुको सम्झना गर्दै प्रत्येक वर्ष २१ मार्च लाई “सबै प्रकारका विभेदको अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस”का रुपमा विश्वभर नै मनाउने गरिएको छ ।
विभेदका नकारात्मक परिणामहरुलाई सम्झने र नस्लीय विभेद (रेसियल डिस्क्रिमिनेसन)सँग जुध्न व्यक्ति, समाज, समुदाय, राष्ट्र एवं अन्तर्राष्ट्रिय समुदायलाई उनीहरुको कर्तव्य अनि प्रतिबद्धतालाई झक्झक्याउनु नै यस दिवस मनाउनुको उद्देश्य हो ।
विभेदको आरम्भ र विस्तार
विश्वमा विभेदको सुर कसरी भयो वा फैलियो भन्ने सन्दर्भमा केही राखौँ । विशेषगरी जब युरोपेली उपनिवेशवाद विश्वभर फैलँदै गयो तब संसारभर विभेद फैलदै गएको देखिन्छ । जहाँ जहाँ युरोपियनहरु उपनिवेश फैलाउँदै गए त्यहाँ त्यहाँ उनीहरुले विभेदका स्वरुपहरुको पनि विकास गर्दै “फुटाऊ र शासन गर” भन्ने सिद्धान्त अपनाउँदै गए । एसिया, अफ्रिका, अस्ट्रेलिया, अमेरिकालगायतका महादेश एवं देशहरुमा उनीहरुले गरेको त्यही हो । युरोपियनहरु जहाँ जहाँ गए त्यहाँको प्राकृतिक सम्पदा, संस्कृति एवं सभ्यतामा कब्जा जमाउँदै त्यहाँका रैथानेमाथि आफ्नो शासन लाद्दै गए । उनीहरुले त्यहाँका रैथानेमाथि शासनमात्र गरेनन् बरु उनीहरुबीचमै विभाजनको रेखा कोरिदिए । तीक्ष्ण दिमाग भएका मानिने उनीहरुले जुन ठाउँमा कस्तो प्रकारको विभेदको रेखा कोर्न सकिन्छ त्यहीअनुसारको रणनीति अगाडि सार्दै गए । अफ्रिकामा “रंगभेद”, अमेरिकामा “उत्पत्तिको भेद” दक्षिण एसियामा “जातीय विभेद” आदि ।
एसिया र युरोपको मध्य भागमा पर्ने ककेसस पर्वतबाट पश्चिम एसिया हुँदै एसियामा आइपुगेका ककेसियन अर्थात् आर्यहरुले सिन्धु नदीको घाँटीमा विकास भएको सभ्यता (सिन्धु घाटीको सभ्यता) माथि आक्रमण गरी त्यहाँको प्राकृतिक सम्पदा, स्रोत साधन एवं सभ्यता आफ्नो कब्जामा लिई “मनुस्मृति” (जसलाई मानव धर्मशास्त्र पनि भनिन्छ)जस्तो ग्रन्थ निर्माण गर्दै सुनियोजितरुपले जातीय विभाजनको बीजारोपण (“मनुस्मृति”मा गरिएका व्यवस्थाहरु मध्ये जातीय व्यवस्था प्रमुख थियो) गरे । आज आएर दक्षिण एसियाका नेपाल, भारत, बंगलादेश, पाकिस्तानलगायतका मुलुकमा त्यही विभेदको विभिन्न स्वरुपहरु अभ्यासमा छ ।
विभेदविरुद्ध भएका केही महत्त्वपूर्ण आन्दोलन
एकातिर विश्वभर विभेद फैलिँदै गयो भने अर्कोतिर सँगसँगै त्यस्ता विभेदविरुद्ध विभिन्न समयमा आन्दोलनहरु भएका छन् । विभिन्न शताब्दीहरुमा आन्दोलन हुँदै गएको भए पनि बीसौं शताब्दीमा केही उल्लेखनीय आन्दोलनहरु भएको पाइन्छ । पन्ध्रौं शताब्दीको अन्त्यतिर अमेरिका एवं क्यारेबियन भूमिहरुमा ठूलो संख्यामा अफ्रिकी मुलका कामदार लगिएका थिए । त्यहाँ उनीहरुमाथि कार्यस्थलमै विभेद गरिन्थ्यो । साथै उनीहरुसँगै काम गर्ने अन्य कामदारहरुलाई राम्रो पदमा भर्ना गरिन्थ्यो भने अफ्रिकन कामदारहरु निकै कमसल पदमा भर्ती गरिनुका साथै कठिन कामगर्न बाध्य पारिन्थे ।
त्यस विभेदविरुद्ध सन् १५०२ मै “एबोलिसन मुभमेन्ट” सुरु गरिएको थियो जुन आन्दोलन सन् १८८८ सम्म जारी रह्यो । त्यसैगरी महिलामाथि हुने लैङ्गिक विभेद पनि मानव सभ्यताको सुरुदेखि नै समाजमा व्याप्त भएको इतिहास छ । पछि अफ्रिकन मूलका महिलाहरु दोहोरो विभेदको सिकार हुन थाले । पहिलो, महिला हुनुको विभेद र दोस्रो अश्वेत महिला भएको विभेद । यसरी महिलामाथि हुने विभेद एवं हिंसाविरुद्ध पनि सबै महिला एकै ठाउँमा आएर सन् १७९० मै “फेमिनिज्म एन्ड रेस मुभमेन्ट” सुरु गरेका थिए जुन आज पर्यन्त पनि कायम नै छ । करिब १७ देखि २० हजार वर्षअघि रुसको साइबेरियाको “बेरिङ ल्यान्ड ब्रिज” पार गरी हाल अमेरिकाको अलास्का हुँदै उत्तर अमेरिका प्रवेश गरेका आदिवासीलाई पछि “रेड इन्डियन” भनियो । तिनैलाई हाल आएर “अमेरिकन इन्डियन” भनिन्छ । उनीहरुलाई उपनिवेश फैलाउने क्रममा अमेरिका प्रवेश गरेका युरोपियनले धेरै लामो समयसम्म विभेद गरेका थिए । यो कुरा ती आदिवासीहरुलाई मान्य थिएन र उनीहरुले युरोपियन अत्याचारविरुद्ध संघर्ष गर्नुपर्यो । उनीहरुले आफ्नो हक अधिकारका लागि सन् १९६८ मा संगठित आन्दोलन सुरु गरे जसलाई “अमेरिकन इन्डियन मुभमेन्ट” भनिन्छ । अमेरिकामा हाल उनीहरुका धेरै अधिकार सुनिश्चित गरिएका छन् । साथै उनीहरुले सम्पूर्ण आदिवासीहरुको हकअधिकारका लागि विश्वका अन्य आदिवासी संगठनहरुसँग पनि सहकार्य गरिरहेका छन् ।
यता संयुक्त राज्य अमेरिकामा अश्वेतहरुलाई अफ्रिकाबाट बन्दी वा दासको रुपमा पन्ध्रौं शताब्दीमा नै ल्याइएको थियो । त्यस यता उनीहरुमाथि रंगभेद त छँदै थियो । साथसाथै “लेसर ह्युमन बिइङ”को रुपमा समेत व्यवहार गरिँदै आइएको थियो । समयको क्रमसँगै उनीहरुमा चेतनाको विकास भयो र त्यसयता उनीहरु संगठित ढंगले लगातार आफ्नो हक अधिकारका लागि विभिन्न समयमा आन्दोलनमा उत्रिँदै आए । आफ्नो आन्दोलनलाई ठोस निष्कर्षमा पुर्याउनका लागि मार्टिन लुथर किङ्ग, जुनियरको नेतृत्वमा १९५४ मा “सिभिल राइट्स मुभमेन्ट” (१९५४–१९६८) सुरु गरे । यस आन्दोलनले विश्वको ध्यानाकर्षण गर्यो । यस आन्दोलनले अमेरिकामा अश्वेतहरुका धेरै अधिकारहरुलाई स्थापित गर्यो । त्यसका लागि उनीहरुले ठूलो त्याग एवं बलिदान गरेको इतिहास साक्षी छ ।
त्यसैगरी दक्षिण अफ्रिकामा पनि अश्वेतहरुमाथि रंगभेदको चरम यातना एवं ज्यादती कायमै थियो । उनीहरु आफैँ पनि रंगभेद नीतिविरुद्धमा आन्दोलित भइरहेका थिए । पछि उनीहरुले गरिरहेको आन्दोलनलाई सहयोग गर्न सन् १९४८ मा एउटा “एन्टी अपारथाइड मुभमेन्ट” नामको व्रिटिस संस्था अगाडि आयो । यसले उत्पीडनमा परेका अफ्रिकाका अश्वेतहरुलाई भरमगदुर सहयोग गर्यो र आन्दोलनले एउटा निर्दिष्ट दिशा पायो । त्यसै आन्दोलनको चरमोत्कर्ष रुप थियो २१ मार्च १९६० को सार्पभिलको घटना ।
सार्पभिलको घटना किन चर्चामा रह्यो त ?
विश्वभर नै विभिन्न स्वरुपका विभेदहरु व्याप्त थिए । अर्कोतिर प्रथम विश्वयुद्ध (१९१४–१९१८) र दोस्रो विश्वयुद्ध (१९३९–१९४५) पछि भने विश्वको अवस्था फेरिएको थियो । विशेषगरी दोस्रो विश्वयुद्धसम्म आइपुग्दा विश्वको धेरै जाति, समुदाय एवं देशहरु स्वतन्त्र हुने दिशामा उन्मुख थिए । स्वतन्त्रता, मानव अधिकार, नस्लीय विभेद, लैङ्गिक विभेद, विकास, गरिबी, अशिक्षा, स्वास्थ्य, बेरोजगारीजस्ता मुद्दा अगाडि आइरहेका थिए । दोस्रो विश्वयुद्धपछि विश्वमा विकसित सामाजिक राजनीतिक परिवर्तनले यी कुरालाई थप बल दिइरहेको थियो । फलस्वरुप दोस्रो विश्वयुद्ध सकिएलगत्तै अक्टोवर २४, १९४५ मा सान् फ्रान्सिस्को, क्यालिफोर्नियामा संयुक्त राष्ट्रसंघजस्तो साझा संस्थाको जन्म हुनगयो । त्यसको तीन वर्षपछि अर्थात् डिसेम्बर १०, १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्रसमेत जारी भयो ।
यता संयुक्त राज्य अमेरिकामा वर्षौदेखिको नस्लीय विभेदविरुद्ध मार्टिन लुथर किङ, जुनियरलगायतकाको नेतृत्वमा नागरिक अधिकारको आन्दोलन अगाडि बढिरहेको थियो । उता दक्षिण अफ्रिकामा भने नेल्सन मन्डेला, डेस्मन्ड टुटुलगायतको नेतृत्वमा रंगभेद विरुद्धको आन्दोलन (१९४८–१९९४) चलिरहेको थियो । यी देशहरुमा देशभित्र र बाहिरको दबाबले गर्दा आन्दोलनहरुलाई सहयोग पुगिरहेको थियो । अन्तर्राष्ट्रिय स्तरमा समेत यी आन्दोलनहरुले समर्थन तथा चर्चा पाइरहेका थिए । यसैबीचमा सन् १९६० को मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल नगरमा सरकारले ल्याएको बहुसंख्यक अश्वेतहरुको गतिविधी एवं यात्रालाई बन्देज लगाउने “पासबुक”सम्बन्धी अमान्य कानुनको विरोधमा उत्रिएका करिब तीन हजार अश्वेतहरुमाथि प्रहरीले दमन गर्नुका साथै गोली चलायो । नरसंहारमा ६९ जना अश्वेतहरुको ज्यान गयो । त्यसपछि एकाएक यो घटना विश्वभर फैलियो र चर्चामा आउन पुग्यो । उक्त घटनापश्चात विकसित घटनाक्रम उल्लेख गरिसकिएको छ ।
जात व्यवस्था प्रवेशको नेपाली सन्दर्भ :
सिन्धु घाटी हुँदै भारत र त्यसपछि नेपाल प्रवेश गरेको हिन्दु वर्णाश्रमअन्तर्गतको जातीय व्यवस्था नेपालमा पनि अभ्यासमा छ । यस व्यवस्थाले “शुद्र” भनिएको समूहलाई मात्रै गाँजेको छ वा उनीहरुलाई मात्रै जातीय उत्पीडन दिएको छ भन्ने बुझाइ धेरैको रहेको पाइन्छ । हो, “शुद्र” हरु यस व्यवस्थाको पिँधमा भएको सही हो तर वर्णाश्रमअन्तर्गतका अन्य ब्राह्मण, क्षेत्री र वैश्यसमूह समेत यस व्यवस्थाको जाँतोमा पिसिएका छन् । एकातिर यस व्यवस्थाले प्रत्येक समूहलाई एक आपसमा विभाजन त गरेकै छ अर्कोतिर प्रत्येक समूहभित्र पनि फेरि विभाजन एवं विभेदको रेखा कोरिएको छ । हामीले समाजमा अलि गहिरिएर हेर्यौँ भने त्यो सजिलै देख्न सक्छौँ । त्यसकारण यो वर्णाश्रम व्यवस्थाले सम्पूर्ण समाजलाई नै गाँजेको छ र समाजमा सद्भाव, समानता, सहअस्तित्व बिथोलेको छ ।
२१ मार्चको नेपाली सन्दर्भ :
नेपालले “सबै प्रकारका विभेदहरु अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि”को सदस्य राष्ट्रका हैसियतले प्रत्येक २–२ वर्षमा पठाउनुपर्ने प्रतिवेदन नियमितरुपमा र समयमा पठाएको विगतले देखाउँदैन । यसबाट नेपाल सरकार मानव अधिकारसँग जोडिएका यस्ता विषयमा आवश्यक मात्रामा गंभीर छैन भन्ने प्रष्ट हुन्छ । अर्को, नेपालमा यस दिवसलाई मनाउने अहिलेसम्मको प्रचलन भनेको राष्ट्रिय दलित आयोगले संयोजन गर्ने अनि संयुक्त दलित राजनीतिक संघर्ष समिती र दलित नागरिक समाजले मिलेर संयुक्तरुपमा एउटा कार्यक्रम गर्ने रहेको छ । अब यस परम्परालाई अलिकति परिमार्जित गर्दै अलि बृहत् बनाउन आवश्यक छ । विभेद बृहत् परिवृत्त भएको विषय हो । अझ भनौ नेपालजस्तो सामाजिकरुपमा विभेद, असमानता एवं सबैको मानव अधिकारको व्यावहारिक सुनिश्चितता नभएको समाजमा यो सबैको चासो र सरोकारको विषय हुनुपर्ने हो । तर, त्यसो नभई एउटा समुदाय विशेष र त्यसका लागि निर्माण भएका संस्थाले मात्रै यो दिवस मनाउँदो दिवसले नै गिज्याएको अनुभव हुन्छ । त्यसकारण सम्बन्धित सबै सरोकारवाला यस विषयमा गंभीर बन्नु आवश्यक छ ।
अमेरिकी लेखक पादरी जोसेफ फोर्ट न्युटनले भनेजस्तै मानिसले मानव सभ्यताको विकासक्रममा विभेद अनि असमानताका विशाल खाडल एवं पर्खाल त बनायो तर ती खाडल पुर्ने/जोड्ने सिँढी बनाउने बारेमा भने कहिल्यै सोचेन । हुन पति के एउटा मानिस अर्को मानिसभन्दा सानो वा ठूलो हुन सक्छ र ? एउटा मानिस कालो गोरो हुनसक्छ, अग्लो होचो हुनसक्छ, धनी वा गरिब हुन सक्छ, शिक्षित अशिक्षित हुनसक्छ, गाउँ वा सहरमा बस्न सक्छ, फरक लिङ्गको हुनसक्छ, फरक जात वर्णको हुनसक्छ, फरक क्षेत्रको हुन सक्छ । तर के साँच्चै एउटा मानिस अर्को मानिसभन्दा “मान्छे” भन्ने जीवका रुपमा सानो वा ठूलो हुनसक्छ र ? कदापि हुनसक्दैन । कुनै पनि व्यक्ति स्वतन्त्र रुपमा नैसर्गिक कुराहरुको उपभोग गर्न र आफ्नो जीवन यापन गर्न योग्य रहन्छ । मानवको रुपमा जन्म लिनु नै उसको नैसर्गिक सर्वोच्चता हो । किन उसको धर्म, जात, लिङ्ग, वर्ण, रङ्ग, क्षेत्र आदिको आधारमा विभेदका रेखाहरु कार्ने ?
सम्मान, सद्भाव र सहअस्तित्वलाई स्वीकार गरिएमात्र समाज समृद्ध र आधुनिक बन्छ । अब बेला आएको छ – एक्काइसौं शताब्दीको उच्चतम मानव ज्ञान, शिक्षा, चेतनाले मानवले नै बनाएको असमानताको खाडललाई पुर्ने र विभेदको पर्खाललाई भत्काउने । अनिमात्रै एक्काइसौं शताब्दीको मानवले गरेको विकास र आर्जन गरेको ज्ञानको सार्थकता रहन्छ । एउटा मानिसले अर्को मानिसलाई आफू समान देख्न र समान व्यवहार गर्न थालेपछि संसारनै बदलिन्छ । त्यही बदलिएको सुन्दर, सभ्य र समतामूलक संसार हाम्रा सन्तानलाई उपहार दिने जिम्मेवारी हाम्रो हो ।