आज चैत्र ७ । गिरिजा बाबुको १२ औं स्मृति दिवस ।
नेपालकाे इतिहासमा स्वर्णाक्षरले नाम लेखिएका पिता कृष्णप्रसाद काेइराला र माता दिव्या काेइरालाकाे सन्तानको रूपमा १९८१ साल असार १८ गते गिरिजाप्रसाद काेइरालाकाे जन्म भएको थियो । पिताजी,दाजुहरु बीपी,मातृका,तारिणीलगायत परिवारका सबै सदस्य राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका पक्षमा सक्रिय थिए । यही कारणले गिरिजाप्रसाद काेइराला बाल्यकालबाट नै राजनीतिक परिवेशमा हुर्कनु भयो।
गिरिजाप्रसादलाई पार्टीभित्र सबै उमेर समूहका साथीहरूले सजिलो गरी बाेलाउनु पर्दा गिरिजा बाबु भन्थे र उहाँ खुसि नै हुनुहुन्थ्यो । गिरिजा बाबु नेतृत्वमा उच्चतम् क्षमता राख्ने एक सफल नेता भएकाले सबैले उहाँको नेतृत्व काैशल मन पराउँथे ।
गिरिजा बाबु नेपालकै पहिलो मजदुर नेता हुनुहुन्थ्यो । नेपालकाे इतिहासमा पहिलोपल्ट विराटनगरमा रहेको जुटमिलमा मजदुर हडताल सम्पन्न पश्चात् उहाँलाई सबै मजदुर साथीहरूले २००३ साल फाल्गुन २० गते अध्यक्ष चुनेका थिए । उक्त मजदुर आन्दोलनलाई बीपी काेइरालाकाे सहयोग र निर्देशन थियो ।
मजदुर हडतालमा संलग्न रहेको आराेपमा राणा सरकारले उहाँलगायत बीपी काेइराला, तारिणीप्रसाद काेइराला, मनमाेहन अधिकारी, युवराज अधिकारी,गेहेन्द्रहरि शर्माहरूलाई गिरफ्तार गरी २४ दिन पैदल हिँडाए/ काठमाडौं लगेकाे थियो ।
बीपी काेइरालाकाे नेतृत्वमा गिरिजा बाबुले पार्टीको संगठनलाई गाउँगाउँमा पुर्याउनु भएको थियो । गिरिजा बाबुकाे नेपालकाे सबै राजनीतिक परिवर्तनमा अग्रणि र उल्लेखनीय भूमिका रहेकाे थियो । विसं २०४६ सालकाे राजनीतिक परिवर्तन पछाडि त उहाँले पार्टी र सरकार दुवै सञ्चालन गर्नु भएकाे थियाे ।
यसपछि उहाँ बाँचसन्जेल नेपालकाे राजनीतिमा केन्द्रीय भूमिकामा रहनुभयाे । विसं २०५२ सालमा माओवादीले हिंसात्मक विद्रोह थालेर देशकाे भौतिक र लाेकतान्त्रिक विकासमा ठूलाे अवराेध गरे । माओवादी हिंसाकाे अन्त्यका लागि उहाँ बढी नै व्यग्र हुनुहुन्थ्यो । पछि उहाँ प्रधानमन्त्री हुदाँ २०५८ जेठ १९ मा राजा वीरेन्द्रकाे वंश नै नाश हुनेगरी दरबार हत्याकाण्ड भयो । दरबार हत्याकाण्ड पछि राजा हुन पुगेका ज्ञानेन्द्रले २०५९ साल असाेज १८ जनअधिकार खोसेर शासन सत्ता लिएपछि उहाँलाई अर्को चाेट पुग्यो ।
यसैबीच उहाँ सभापति रहेकै बेला नेपाली कांग्रेस फुटाउने काम गरियाे ।
गिरिजा बाबु भने सबैकाे सम्मान हुने गरी यी सबै समस्या समाधानमा लाग्नुभयाे । विशेषगरी माओवादी हिंसालाई समाधान गर्ने र जनताकाे सर्वोच्च संस्था विघटित प्रतिनिधि सभालाई कसरी ब्युँताउने प्रयासमा उहाँ लाग्नुभयाे । यसमा उहाँले त्यतिबेलाका सात राजनीतिक दललाई सँगै हिँडाउनु भएकाे थियाे ।
सात राजनीतिक दललाई सहमत गराई भारतकाे दिल्लीमा पुगेर माओवादी नेतालाई भेटी २०५२ सालदेखिकाे हिंसाबाट ग्रस्त मुलुकलाई निकास दिने उपाय खाेज्नु भयो । फलस्वरूप २०६२ मंसिर ७ गते माओवादीसँग बाह्रबुँदे सहमति भएको थियो ।
त्यसपछि २०६२/०६३ काे जनआन्दाेलन सफल भई विघटित संसद्काे पुनःस्थापना भयो र गिरिजा बाबुकाे नेतृत्वमा सरकार गठन भयो । गिरिजा बाबुकै नेतृत्वमा देशमा अन्तरिम संविधान र अन्तरिम सरकारकाे घाेषणा भयाे । गिरिजा बाबुले प्रधानमन्त्री भए पनि राष्ट्राध्यक्षकाे समेत भूमिका निर्वाह गर्नु परेकाे थियाे ।गिरिजा बाबु नेतृत्वको सरकार र माओवादीबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भयो र २०६३ मंसिर १२ गते उहाँकै नेतृत्वमा माओवादी सरकारमा सामेल भयो ।
उहाँ भन्ने गर्नुहुन्थ्यो - याे राजनीतिक लडाइँ जितेमा देशले जित्नेछ हारेमा मैलेमात्र हार्ने छु । अन्ततः देशले जित्यो । देशकाे राजनीतिक भविष्यलाई ध्यानमा राखि उहाँले ठूलो जाेखिम उठाउनु भएकाे थियोे । उहाँको यस याेगदानलाई सम्पूर्ण शान्तिकामी नेपालीले कअहिल्यै बिर्सनेछैनन् ।
विभाजित नेपाली कांग्रेसलाई एक जुट बनाउनुपर्ने दायित्व पनि उहाँले नै पूरा गर्नुभयाे । सबैलाई संगठित गरेर २०६४ असाेज ८ गते संयुक्त महासमितिकाे बैठकद्वारा पार्टी एक भएको घाेषणा भयो । सत्ताकाे स्वाद लिइसकेका र पार्टीको हालीमुहालीमा गरिरहेका हरूले बिर्से पनि पार्टी विघटनकाे पीडामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले उहाँकाे याेगदान सम्झिरहेका छन् ।
माओवादी लडाकु र हतियारकाे व्यवस्थापन तथा संविधान सभाकाे चुनाव गराउनुपर्ने दायित्व गिरिजा बाबुकै थियो । संयुक्त राष्ट्रसघंकाे प्रत्यक्ष निगरानीमा माओवादी लडाकु र हतियारलाई क्यान्टोनमेन्टमा राखी संविधान सभाकाे निर्वाचन गर्ने नेपाली कांग्रेसले हार्ने थाहा पाए पनि दायित्वलाई पूरा गर्नुभयाे । उहाँले समयमै चुनाव नगराउँदा देशले हार्ने तर चुनाव गराउँदा कांग्रेस हार्ने भएपछि उहाँले देशलाई हार्न दिनुभएन । त्यसैले २०६४ चैत्र २८ गते प्रथम संविधान सभाकाे निर्वाचन सम्पन्न भयो ।
देशमा २३८ वर्षदेखि चलेकाे शाह वंशीय राजतन्त्रकाे विसर्जन सजिलो थिएन । अत्यन्तै जाेखिमपूर्ण थियो । उहाँले अत्यन्तै बुद्धिमताका साथ २०६५ जेठ १५ गते प्रथम संविधान सभा बैठकबाटै गणतन्त्र कार्यान्वयन गर्ने प्रस्ताव पारित गर्न उहाँ सफल हुनुभयो ।
त्यसपछि पनि गिरिजा बाबुले विश्राम लिनुभएन । कांग्रेसलाई फेरि देशकै ठूलो दल बनाउन पार्टी संगठनमा सक्रिय हुनुभयाे तर उमेरका कारण स्वास्थ्यमा समस्या पर्दै गयाे । अन्ततः कहिल्यै नथाकेका गिरिजा बाबुले २०६६ साल चैत्र ७ गते देह त्याग गर्नु भयो ।
गिरिजा बाबु सबै नेपालीकाे मनमा हुनुहुन्छ । गाउँगाउँमा झुपडीमा बस्ने नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताकाे मनमस्तिष्कमा हुनुहुन्छ ।सम्झनु पर्नेले बिर्से पनि जनताका मनमा हुनुहुन्छ ।
गिरिजा बाबुमा श्रद्धा सुमन !
(उपसभापति, नेपाली कांग्रेस जिल्ला कार्यसमिति, चितवन)