युक्रेनमा मानवीय महाविपत्ति देखापर्दैछ र बाँकी विश्व त्यसकाे देखी जान्ने साक्षी भएकाे छ । भ्लादिमिर पुटिनले युक्रेनका नागरिकविरुद्ध विवेकहीन युद्ध थाेपरेका छन् । मारिउपाेलमा रुसयन सेनाकाे विध्वंशात्मक कब्जा तथा जानजान मातृशिशु अस्पतालमा गरिएकाे बम वर्षा यस आतङ्ककाे प्रतिनिधि उदाहरण हाे । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेजस्तै याे हाम्राे मुलुकमा गरिएकाे नरसंहारकाे प्रमाण पनि हाे ।
आक्रमण सुरु भए यता मारिउपाेलमा मात्रै २ हजार १ सयभन्दा बढी मानिस मारिएका छन् । युक्रेनभर रसियन फौजले लाखाैं जनतालाई बन्धक बनाएका छन् । उनीहरूलाई एकातिर सहर छाड्न दिइएकाे छैन भने अर्कातिर पूर्वचेतावनीसमेत नदिई उनीहरू भएका ठाउँमा बम वर्षाइएकाे छ । करिब २८ लाख मानिसहरू देश छाडेर भागेकाे अनुमान गरिएकाे छ अरू दसाैं लाखले ज्यान जाेगाउन घरबार छाडेर शरणार्थी बन्नपर्ने अवस्था छ । मानिसहरू कैयाैं दिन सीमा क्षेत्रमा लाममा बसेका छन् भने कतियले सुरक्षाका लागि छिमेकी र अपरिचितहरूकाे घरमा समेत शरण लिनुपरेकाे छ । हजारौं जनसमुदाय ताताे, बिजुली र पानीविना बाँच्न विवश भएका छन् । मानिसहरूले आहालकाे पानी खाएकाे र बालबालिका पानी नपाएर मरेकाे समाचार आएकाे छ ।
पुटिनकाे २२ वर्षे शासनकाभर विश्वलाई आणविक हतियारकाे डर देखाएर ‘ब्ल्याकमेल’ गर्दा पनि रुसले दण्डहीनताकाे सुविधा पाएकाे छ । अन्तर्राष्ट्रिय समुदायले पुटिनकाे शासनले चेचेन्या र जर्जियामा अहिले युक्रेनमा गरेजस्तै विध्वंश मच्चाएकाे, क्रिमियामा अवैध कब्जा गरेकाे र विश्वका अरू मुलुकहरूमा छद्म युद्ध मच्चाएकाे देखेकाे छ । क्रेमलिनले समर्थन गरेकाे सिरियाली शासनले देशकाे ९० प्रतिशत नागरिकलाई गरिबीकाे रेखामुनि धकेलेकाे छ । संयुक्त राष्ट्रसंघका अनुसार कुल १ कराेड ७५ लाख जनसङ्ख्यामा १ कराेड ४६ लाखका लागि मानवीय सहायता आवश्यक छ । अहिले युक्रेन पुटिनसँग पश्चिमकाे माेलताेलकाे थलाे बनेकाे छ ।
अन्तराष्ट्रिय सुरक्षा प्रणाली क्षतविक्षत भएकाे छ र मानवीय कानुनकाे पटक पटक उल्लङ्घन गरिएकाले अहिले युक्रेनलाई हवाई सुरक्षाका लागि प्रक्षेपास्त्र प्रणाली र हतियार तत्काल आवश्यक भएकाे छ । परन्तु, सैनिक, आर्थिक र मानवीय सहायताका साथै युक्रेनका लागि विश्वले पुटिनलाई कानुनी कारबाही गरेर एक्ल्याउनु पनि उत्तिकै आवश्यक छ ।
यसैले भ्रष्टाचारविरुद्ध नीतिसम्बन्धी युक्रेनियन संसदीय समितिले फाइनान्सियल एक्सन टास्क फोर्स अन मनीलाउन्डरिङलाई साेमबार रसियन फेडरेसनलाई निष्कासन गर्न र कालाेसूचीमा राख्नका उच्च जाेखिमकाे कार्यक्षेत्रमा समावेश गर्न आह्वान गरेकाे छ । यस अन्तर्राष्ट्रिय निकायले आतङ्ककारी कार्यमा लगानी गरेकाे र सम्पत्ति शुद्धीकरण गरेकाे अभियाेगमा कारबाही चलाउनेबित्तिकै रुससँग काराेबार गर्न असम्भव प्रायः हुनेछ र त्यसले गर्दा रुसकाे युद्धकाे इन्जिन थला पर्नेछ । यद्यपि, मारिउपाेलमा गरिएकाे अपराधमा कारबाही गर्न फिनान्सियल एक्सन टास्क फोर्स विफल भएकाे छ ।
जी सेभेनले सन् १९८९ मा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी गतिविधिमा लगानीबाट विश्व आर्थिक प्रणालीमा उत्पन्न जाेखिमविरुद्ध कानुनी कारबाही तथा नियमनका लागि स्थापना गरिएकाे थियाे । यस संगठनमा रुसियन फेडरेसनलगायत ३९ सदस्य र अरू दुई सयभन्दा बढी सदस्य क्षेत्राधिकारमा छन् । यसका सदस्यहरूकाे मूल जिम्मेवारीहरूमा (यसकाे ४० र थप ९ सिफारिसहरूमा लेखिएअनुसार) ‘आतङ्कवादलाई लगानी तथा त्यससँग सम्बद्ध सम्पत्ति शुद्धीकरण’लाई अपराध बनाएर ‘आतङ्ककारीकाे सम्पत्ति’ जफःत र राेक्का गर्ने हाे ।
फिनान्सियल एक्सन टास्क फोर्सका अरू कार्यहरूमा अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा जाेखिम उत्पन्न गर्ने सम्पत्ति शुद्धीकरण तथा आतङ्कमा लगानीजस्ता अपराधविरुद्ध नियमहरूकाे कार्यान्वयन कमजाेर भएमा तिनलाई उच्च जाेखिमकाे क्षेत्राधिकारमा राख्नु पनि हाे । रुस सम्पत्ति शुद्धीकरणविरुद्धका अन्तर्राष्ट्रिय उपायहरू कार्यान्वयनमा पटक पटक विफल भएपछि सन् २०००मा कालाेसूचीमा राखिएकाे थियाे भने कार्यान्वयनमा सुधार देखिएकाले २००२ मा कालाेसूचीबाट हटाइएकाे थियाे । सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी गतिविधिमा गरिएकाे लगानी सम्बन्धमा उपलब्ध जानकारीका आधारमा रसियन सरकारले हासिल गरेकाे प्रगति पनि उल्टिइसकेकाे देखिन्छ ।
गल्ती नगरौँ : रुसले युक्रेनमा गरेकाे कारबाही आतङ्क हाे । कथित डोनेट्स्क पिपल्स रिपब्लिक र लुहान्स्क पिपल्स रिपब्लिक रुसकाे प्रत्यक्ष नियन्त्रणमा आठ वर्षदेखि आतङ्ककारी गतिविधिमा संलग्न रहिआएका छन् । सन् २०१४ काे जुलाईमा रसियन बुक प्रक्षेपास्त्रले पूर्वी युराेपमा मलेसिया एअरलाइन्सकाे उडान १७ खसाल्दा २९८ यात्रु र चालक दल मारिएका थिए । डच पब्लिक प्राेसेक्युसन सर्विसले तीन जना रसियन इगाेर जिर्किन, सर्गेई दुबिन्स्की र ओलेग पुलाताेव तथा एक जना युक्रेनियन नियाेनिद खार्चेन्काेमाथि हत्याकाे अभियाेगमा मुद्दा चलाएकाे छ ।
पफरबरी २४ का दिन रुसले युक्रेनमा पूर्ण आक्रमण सुरु गरेयता गैरसैनिक नागरिकमाथि अनगिन्ती प्रहार भएकाे छ । यसमा किभ, खार्किव, सुमी, चेर्निहिभ तथा अन्य जनसंख्या धेरै भएका ठाउँमा आवासीय भवनहरू, अस्पतालहरू, शिशु विद्यालयहरू, अनाथाश्रमहरूमा रकेट आक्रमण आदि पर्छन् । रसियन फौजले चेर्नाेबिल र जापाेरिझ्या आणविम ऊर्जा केन्द्रमा तथा किभकाे भण्डारमा पनि चरम बहुलठ्ठी देखाउँदै आक्रमण गरेका छन् । यी सबै गतिविधि आतङ्ककाे परिभाषामा पर्छन् । गैरसैनिक नागरिकलाई मार्ने, घाइते बनाउने र तर्साउने रुसकाे नियाेजित राजनीतिक उद्देश्यअन्तर्गत पर्छन् ।
यसरी रुसले आतङ्कवादलाई वित्तीय लगानी निषेधसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि १९९९ र आणविक आतङ्कवादी गतिविधि नियन्त्रणका लागि अन्तर्राष्ट्रिय महासन्धि २००५ काे स्पष्ट उल्लघङ्न गरेकाे छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्काे प्रस्ताव सङ्ख्या १३७३ (२००१)अनुसार आतङ्ककारी गतिविधिमा वित्तीय लगानी गर्ने कार्य सबै राष्ट्रले राेक्नुपर्छ तर रुसले भने लुहान्स्क र डाेनेट्स्कमा उल्टै आतङ्ककारी कार्यलाई आर्थिक सहयाेग गर्दैआएकाे छ ।
यस परिस्थितिमा फिनान्सियल एक्सन टास्क फोर्सकाे सदस्यका रूपमा रुसकाे निरन्तरता अन्तर्राष्ट्रिय कानुनकाे अवमान हाे । फिनान्सियल एक्सन टास्क फोर्सका अध्यक्ष मार्कस प्लेयर र जी सेभेनका सरकारहरूले “आणविक विस्तारमा लगानी, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारीलाई आर्थिक सहयाेग नियन्त्रणमा गम्भीर रणनीतिक कमजाेरी” देखिएकाले रुसलाई संगठनबाट निष्कासन गर्न उच्च जाेखिमकाे क्षेत्राधिकारमा समावेश गर्न अग्रसर हुनुपर्छ ।
फिनान्सियल एक्सन टास्क फोर्सले अहिलेसम्म युक्रेनकाे अवस्थाप्रति ‘गम्भीर चासाे’ व्यक्त गरेकाे छ र संगठनभित्र ‘रुसकाे भूमिकाका सम्बन्धमा समीक्षा’ गर्ने सङ्केत देखाएकाे छ । परन्तु, जुनभन्दा पहिले यसकाे बैठक बस्नेछैन भने याे संस्था कार्यतालिकामा अडिग रहने देखिएकाे छ । यस प्रकारकाे अकर्मण्यताले पुटिनलाई नै बल पुग्छ । समयैमा लागु र कार्यान्वयन नगर्ने हाे भने अन्तर्राष्ट्रिय सन्धिहरू निरर्थक हुन्छन् ।
इतिहासबाट नसिकिएकाे एउटा ठूलाे पाठ के हाे भने तुष्टीकरणले काम गर्दैन । मेरा ९३ वर्षीय हजुरबाले किव छाड्न मानेनन् । सन् १९४१ मा नाजीहरूले याे सहर कब्जा गर्दा उनी ठिटै थिए । सत्यकाे सामना गर्नेबेलामा तयार नहुने हाे भने ‘अब यस्ताे कहिल्यै हुँदैन’ भनेर ८० वर्ष बिताउनुकाे अर्थ के रह्याे र ? पश्चिमले कम्तीमा गैरसैनिक नागरिकहरूलाई जानजान निसाना बनाएकाेमा पुटिनलाई उत्तरदायी बनाउन सक्छ । फिनान्सियल एक्सन टास्क फोर्सकाे निर्णायक कदम राम्राे सुरुआत हुनेथियाे ।
विश्वले नियालिरहेकाे छ । रसियन विदेशमन्त्री सर्गेई लावराेवले मारिउपाेलकाे अस्पतालमाथि बम प्रहारकाे आलाेचनालाई ‘दयनीय’ भने । एक अर्थमा त उनी सही नै हुन् । यस्ताे जघन्य कुकृत्यकाे शाब्दिक प्रतिक्रियामात्र व्यक्त गर्नु दयनीय नै त हाे । दाेस्राे विश्वयुद्धकाे नरसंहार ‘फेरि कहिल्यै नहाेस्’ भन्नुकाे अझै कुनै अर्थ छ भने पश्चिमले त्यसलाई सुनिश्चित गर्न थप केही गर्नुपर्छ ।
(युक्रेनकाे संसद्की भ्रष्टाचार विराेधी समितिकी प्रमुख)