काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले हनुमानढोका दरबार क्षेत्र वसन्तपुर डबलीमा बनाइएका कंक्रिट संरचना भत्काउन दबाब दिएकी छिन् ।
उपमेयर खड्गी मंगलबार वसन्तपुर पुगी संरचना अवलोकनपश्चात् कंक्रिट नभत्काए मेयरसँग लफडा हुने चेतावनी समेत दिइन् ।
मंगलबार उपमेयर खड्गी, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमसहितको टोलीले अनुगमनका लागि वसन्तपुर पुगेको थियो ।
अनुगमनका क्रममा उपमेयर खड्गीले विश्व सम्पदा क्षेत्र विश्वको सम्पदा भएको बताउँदै तुरुन्त भत्काउन आग्रह गरिन् ।
‘‘संवेदनशील विश्व सम्पदा क्षेत्रको कंक्रिट संरचना भत्किनुपर्छ । देशप्रेमी हुने हो भने घर–घरमा झन्डा राखौँ । सम्पदा क्षेत्रमा होइन,” उनले भनिन् ।
पुरातत्त्व विभागले यसअघि महानगरलाई कंक्रिट संरचना नबनाउन पत्र काटे पनि महानगरले बेवास्था गर्दै संरचना बनाएको थियो ।
कंक्रिट बन्नुअघि पुरातत्त्वले रोक्कापत्र समेत काटेको थियो । तर, महानगरले त्यसको वास्ता नगरी राष्ट्रिय झन्डा राख्ने प्रयोजनले राता–रात बनाएको थियो ।