काठमाडौं । सरकारले मलेसियाका लागि पुन: श्रम स्वीकृति दिन सुरु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले मलेसियाका लागि करिब दुई वर्षदेखि श्रम स्वीकृति रोकिएकोमा पुन: सुरु गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सचिवालयले जनाएको छ ।
मन्त्री श्रेष्ठको सचिवालयअनुसार मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको हो ।
कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरू जान पाएका थिएनन् ।
मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेको र सो अनुसार मागपत्र नेपाली कूटनीतिक नियोगबाट प्रमाणिकरण भई आएकाले श्रम स्वीकृति प्रदान गर्ने कार्य पुन: सुरु गर्ने निर्णय गरिएको हो ।