प्रवासी नेपालीहरूको दुई दशक लामो इतिहास भएको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) आज किन यस्तो परिस्थितिमा गुज्रिएको हो ? यो गम्भीर प्रश्न हो । आजका समस्या निरुपण गर्न यसको उत्तर खोजिनुपर्छ ।
एउटा स्थापित संस्था । सबै प्रवासी नेपालीको हक, हित, रीतिरिवाज, भाषासंस्कृतिलगायत आर्थिक र राजनीतिक अधिकार समेतको रक्षाका लागि स्थापित यो संस्थाको अवस्था गम्भीर बनाइएको छ । आजको अवस्थामा पुर्याउन र पुग्न जानीनजानी लागेका अग्रजलगायत वर्तमान समितिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेतृत्वले जिम्मा लिई सम्पूर्ण नेपालीलाई एक बनाउन लाग्नुपर्ने बेलामा जिम्मेवार व्यक्तिबाटै एकले अर्कोलाई खुइल्याउने कार्य भएको छ ।
यसले नेपालीलाई थप विभाजन गरिरहेको छ । संस्थालाई झन् कमजोर पारिरहेको छ । यो देख्दा साधारण पन्जीकृत सदस्यहरूको मन कटक्क खान्छ । र पनि मूकदर्शक भएर बस्नुपर्ने अवस्था छ ।
कुनैपनि संस्थालाई जीवन्त र गतिशील बनाइराख्न निर्वाचन अभिन्न अभ्यास हो । निर्वाचनबाट भाग्ने, तर्किने बहाना बनाउनु हामीजस्तो विकसित राष्ट्र, प्रजातान्त्रिक मुलुकमा बस्ने र प्रजातान्त्रिक पद्धति चाहनेहरूलाई सुहाउने कुरो होइन ।
संस्थाको नेतृत्व मतदाताले रोज्ने हो । उमेदवारले मतदाताको मन जित्न सक्नुपर्छ । यो मेरो भोट र त्यो अर्काको भोट भन्ने कुरै हुँदैन । किनभने मतदाताले त राम्रो काम गर्ने, विगतमा गरेको र नेतृत्व गर्नसक्ने जस्लाई देख्छन् उसैलाई रोज्छन् । मतदाताको मन मत हाल्ने अन्तिम क्षणमा पनि बदलिन सक्छ । त्यसैले उमेदवारले यसको मत र त्यसको मत भनेर बस्न मिल्दैन ।
प्रवासी नेपालीको हकहितमा काम गर्छु, सेवा गर्छु भन्ने कसम खाएर आएका एनआरएनएको कुनै पनि तहमा रहेका नेतृत्वले सोच्नुपर्ने बेला छ । नेतृत्व हात पार्न केही बेर झुट बोले पनि त्यसले अन्ततः आफ्नै मन पोल्नसक्छ । छाती चसक्क पार्न सक्छ ।
एनआरएनएको नेतृत्व गरिसकेका पूर्वअध्यक्षहरूले मानसम्मान राम्रो पाएको थिए । संस्थाका सदस्यको उनीहरूसँग अपेक्षा पनि थियो । तर उनीहरूले आफूलाई दिइएको सम्मान जोगाउन सकेनन् । ती अपेक्षा पूरा गर्न सकेनन् । उनीहरूकै क्रियाकलापले गैरआवासीय नेपालीले दिएको अपेक्षा पूरा नभएको हो ।
त्यस्तो किन भयो ? कारण स्पष्ट छ । कुनै अमुक ब्यक्तिको पछाडि लागेर संस्थालाई बन्धक बनाए । पूर्वअध्यक्ष र संस्थापकहरूके भूमिका हेर्दा त्यही देखिन्छ ।
नेपालका केही पार्टीको निकट पुग्ने र कथित ठूला नेताको पछि लागेर, तिनलाई खुसी बनाएर पार्टीको नाम बेची सामाजिक संस्थाको नेतृत्व हत्याउन खोज्ने प्रवृत्ति गलत हो । संलग्नता र स्वार्थ पार्टीतिर अनि नेतृत्व सामाजिक संस्थाको कसरी सुहाउँछ ? यस्तो दोहोरो चरित्रलाई कसरी मतदाताले पत्याउने ? राजनीतिक पार्टीको स्वार्थमै नेतृत्व हत्याउन खोजेपछि राजनीति र सामाजिक कर्मलाई अलग देख्न चाहनेले कसरी स्वीकार्न सक्छन् ?
हुनत प्रजातान्त्रिक पार्टीमा रहे पनि सामाजिक काम गर्ने व्यक्तिलाई नेतृत्वमा लैजान सामान्य मतदाता, एनआरएन तयारै छन् । तर एनआरएनएजस्तो सामाजिक संस्थामा प्रवेश गरेपछि पार्टीको नाम बेचेर संस्थालाई दुर्गन्धित बनाउन र पार्टीको नाम बेचेर खान भने पाइँदैन । एनआरएनएभित्र कुनै पनि राजनीतिक पार्टीको हस्तक्षेप, दबदबा, मनपरी र निहित स्वार्थ प्रवेश नहोस् ।
आजका एनआरएनए अभियन्ताहरू कुन कुन प्रजातान्त्रिक आन्दोलनबाट खारिएर आएका हुन् ? विगतमा त्यस्ता राजनीतिक आन्दोलनबाट आए पनि होलान् । त्यो राम्रो हो । तर एनआरएनएमा त सामाजिक सेवा गर्न प्रवेश गरिन्छ हो, राजनीति होइन ।
एनआरएनएलाई पार्टी राजनीतिबाट परै राख्नुपर्छ । जतिखेर राजनीतिक पार्टीलाई प्रवासी नेपालीको खाँचो पर्छ त्यो बेला उनीहरु एनआरएनए खोज्दै आउँछन् । हामीले यो संस्थाको त्यही हैसियत, अडान र गौरवको बनाई राख्न सक्नुपर्छ । त्यसैले हामी जाने होइन राजनीतिक पार्टी खोज्दै । उनीहरू आउनुपर्छ एनआरएनए खोज्न । यस्तो संस्था बनाउने पनि हामीले नै हो ।
एनआरएनएको नाम बेचेर केही व्यक्तिबाट एनआरएनएलाई कुनै न कुनै बहानामा व्यापार र लगानीका नाममा वितृष्णा फैलाउने काम गरिएको छ । एनआरएनएलाई यो स्वार्थबाट पनि अलग राख्नुपर्छ । यस्ता व्यक्तिलेपनि सयौं, हजारौं एनआरएनले बनाएको यो संस्थालाई दुरुपयोग गरिरहेका छन् ।
विश्वभर छरिएका नेपाली कसैका दास होइनन् । कुनै व्यापारी वा राजनीति प्रेरित व्यक्तिका खेताला बन्न तयार छैनन् । हजारौं हजारले सामाजिक सेवा भावले बनाएको यो संस्थालाई राजनीतिक वा व्यापारिक स्वार्थमा राइँदलो गर्न दिने पक्षमा पनि छैनन् ।
गैरआवासीय नेपालीलाई राम्रोसित थाहा छ मत कस्तो व्यक्तिलाई दिनुपर्छ भन्ने । ती अबुझ छैनन् । मतदाताको ठेक्का लिए झैं गर्नु, तिनलाई भजाउन खोज्नु जरुरी छैन । जसलाई नेतृत्वको तीर्खा लाग्छ उसले तिनको मन जित्नसक्नुपर्छ ।
वैधानिक संस्थाको नीति नियम हुन्छ । उसले विधान र नियमावली बनाएको हुन्छ । त्यो उसको प्राणवायुजस्तै हो । रक्तसंचार गराउने मुटु हो, धमनी हो । त्यसले सदस्य, नेतृत्वकर्ता सबैलाई बाँधेको हुन्छ । संस्था त्यसैका आधारमा चल्छ । त्यही विधि र विधानअनुसार चलिदिए संस्था अगाडि बढ्छ । नेतृत्व गर्न चाहनेलाई पनि सहज हुन्छ ।
अहिले केही मानिस भनिरहेका छन् - हामी एनआरएनए केन्द्रलाई तिर्नुपर्ने दस्तुर तिर्दैनौं । केन्द्रलाई तिर्छौं, आवद्धताबापत ।
अन्तर्राष्ट्रिय संस्थाको छवि र ओजप्रयोग गरेबापत । त्यही संस्थाको नाममा नेतृत्व गरेबापत तिर्छौं भनेर साधारण सदस्यबाट लिएको रकम अहिले तिर्दैनौं, दिन्नौं भनिरहेका छन् । साधारण सदस्यबाट जुन प्रयोजनका लागि लिएको हो त्यो नदिनु बेइमानी, सदस्यहरूप्रतिको विश्वासघात र फट्याइँ होइन ? अन्तर्राष्ट्रिय संस्थामा बसेर नेतृत्व गर्ने, मान र पहुँच प्रयोग गरिसकेपछि शुल्क नै दिन्न भन्नु संस्थालाई फुटतिर लैजाने प्रयास हो ।
पूर्व र वर्तमान नेतृत्वकर्ताले एक पटक छातीमा हात राखेर सोच्नुपर्छ, यो संस्थाको दूर्गति, विवाद, मानसम्मानमा पुगेको चोट र किचलो देख्दा हाम्रा सन्ततीले के भन्लान् ? यतिबिघ्न आरोप र प्रत्यारोप, झैझगडा देख्दा हाम्रा छोराछोरीले हामीलाई के भन्दाहुन् ? भन्न नसक्नेले के सोचेका होलान् ?
देश, समाज र सामान्य प्रवासी नेपालीके हितमा केही गर्न संस्थामा पदै लिनुपर्छ भन्ने पनि छैन । संस्था रहे पद रहने हो । त्यसैले पहिले त संस्था रहनुपर्यो । त्यो संस्था सम्मानित, गौरव महसुस गर्ने अवस्थामा रहनुपर्यो । संस्था रहे पो पद । इज्जत जोगाए पो इज्जतिलो पद । त्यसैले एक कदम पछि हटेर पनि संस्था जोगाउनतिर लागौँ । संस्था रहे पद फेरि फेरि लिउँला, नेतृत्वमा बसौंला भन्ने बेला हो यो ।
एनआरएनएमा के मतदाता, चुनाव, महाधिवेशन र अझ मुख्य एजेण्डा भनेकै दुई वर्षको नेतृत्वका लागि मात्रै जस्तो गरिएको छ ।
नेतृत्वका लागि मात्रै बहस, हल्ला, किचलो र आकांक्षा देखिन्छ । के एनआरएनए भनेको नेतृत्वमा पुग्ने भर्याङ मात्रै हो त ?
नेपाली नागरिकताको निरन्तरता, युवा वर्गको नेतृत्व, ज्ञान र सीपको परिचालन, महजदूरका हक र बिमाको व्यवस्था, भाषा र संस्कृतिको संरक्षण, आर्थिक लगानी के हुन् यी विषय ? कता गए यी सवाल ? यी तमाम मूल विषयलाई विषयान्तर गरेर जतिखेर पनि नेतृत्वकै मात्रै चर्चा ? के एनआरएनए नेतृत्वकर्ताकालागि मात्रै हो र ?
यो संस्थामा युवालाई माया, अग्रजलाई सम्मान, एक अर्काप्रति सम्मानित व्यवहार, दयालु र मायालु भाव, आफ्ना तर्कको शिष्ट प्रस्तुति र उठान । के यस्तो गर्न सकिँदैन ? सबैले सोचौँ ।
अहिले देखिएको समस्या खासमा प्रतिनिधि छनौटको पनि होइन । यो त संस्था कसले कब्जा जमाउने भनेर निकालिएको विवाद हो । यसलाई विवाद बनाएर निर्वाचनकै विरोध गर्नु भने निर्वाचनबाट भाग्न खोज्ने प्रवृत्ति हो । यो प्रवृत्ति प्रजातान्त्रिक होइन । मान्न सकिँदैन ।
सामाजिक संस्थामा पक्ष र प्रतिपक्ष भन्ने पनि हुँदैन । हुनुहुँदैन त्यस्तो । निर्वाचनबाटै भाग्न खोजेर पनि कहिँ नेतृत्व चयन हुन्छ ?
भाग खोजेर पाइन्छ ? प्रजातान्त्रिक तरिकाले निर्वाचित भएर पो नेतृत्व, पद खोज्ने हो । सहमति, सहकार्य र सहयोग हुनुपर्नेमा यहाँ त माग र भागको बोलवाला छ । यस्तो कार्य सामाजिक संस्थामा हुनसक्दैन ।
वर्तमान समिति काम चलाउ पनि होइन । विधिसम्मत निर्वाचित भएर आएको र विधानतः कार्यकाल थपिएको समिति पूर्ण अधिकारप्राप्त हुन्छ । विधानतः अधिकारप्राप्त र वैधानिक । निर्वाचित र विधानत बनेको कार्य समिति कसरी काम चलाउ हुन्छ ? यस्तो समितिलाई पूर्ण अधिकार हुन्छ ।
त्यसैले सबैले आफ्नो ईर्ष्या, दम्भ र अनावश्यक विवाद छोडौँ । यो संस्थालाई सबैको साझा बनाऊँ । सत्तरी लाख नेपालीकै साझा संस्था बनाऊँ । आफ्नो शक्ति, राजनीतिक नारा, व्यापारको स्वार्थ त्यागेर, दम्भ छोडौं । संस्थालाई एकजुट बनाउन हामी सबै लागौं ।
(एनआरएनए केन्द्रीय समितिका मानार्थ सदस्य तथा एनआरएनए अमेरिकाका पूर्वकेन्द्रीय हुन्)