काठमाडौं । नेपाली चलचित्रकी नायिका करिष्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गर्ने तयारी गरेकी छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेकी उनले केही समयमै एमालेमा प्रवेश गर्ने बताएकी छन् ।
औपचारिक रूपमै कार्यक्रम गरेर पार्टी प्रवेशको तयारी रहेको छ । “मैले धेरै सोचविचार र छलफल तथा तयारी गरेँ । राजनीति नै गर्ने हो भने कुन पार्टीबाट गर्दा ठिक हुन्छ भनेर पनि सोचेँ,” करिष्माले बाह्रखरीसित भनिन्, “त्यसैले एमाले अध्यक्षसँग पटक–पटक छलफल पनि भयो । उहाँले मलाई राजनीतिबारे धेरै कुरा भन्नुभएको छ । त्यहीअनुसार मैले आन्तरिक तयारी पनि गर्नुछ ।”
एमाले प्रवेश गरे पनि आफूले ठूलो अपेक्षा भने नराखेको बताइन् । यद्यपि, तीनै तहका निर्वाचनको पूर्वसन्ध्या भएकाले यो उचित समय भएको आफ्नो आकलन रहेको उनले स्पष्ट पारिन् ।
उनी यसअघि तत्कालीन नयाँ शक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य थिइन् । तर, पछि उनले उक्त पार्टी परित्याग गरेकी थिइन् ।
“नयाँ शक्तिमा रहेर काम गरे पनि नयाँ पार्टीमा काम गर्दा फरक अनुभव र संघर्ष गर्नुपर्छ । हरेक पार्टीमा आफ्नो स्पेश आफैंले बनाउँदै जाने हो,” करिष्मा भन्छिन्, “म एमालेमा जाँदा त्यहाँ मैले आफ्नो स्पेश आफैँ बनाउँनुपर्छ । त्यसैले मैले धेरै अपेक्षा गरेको छैन ।”