काठमाडौं । खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड, २०७७’ दशक अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटेल ग्रुपसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ ।
सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटेल ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
१८औँ संस्करणको पल्सर अवार्ड आउँदो चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।
सह–प्रायोजक बनेबापत प्लाजा होटेल ग्रुपले अवार्डका कार्यक्रममा लागि आउने अतिथिका लागि आवास सुविधको व्यवस्था गरिदिने सम्झौतामा उल्लेख छ । त्यससहित मञ्चले आयोजना गर्ने कार्यक्रमहरूका लागि स्थान उपलब्ध गराउने छ ।
सम्झौता कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था निरन्तर सहयात्रामा रहन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए ।
मञ्चका अध्यक्ष सुवेदीले प्लाजा होटेल ग्रुपसँगको सहकार्यलाई निरन्तरता दिएकोमा धन्यवाद व्यक्त गरे ।
स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा सन्तोषी श्रेष्ठ (एथलेटिक्स), एन्जिला तुम्बापो सुब्बा (फुटबल), एलिना महर्जन (टेबलटेनिस), कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) रहेका छन् । अन्य विधाका विजेता कार्यक्रमकै दिन घोषणा हुनेछ ।