काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल हुन नसक्ने बताएका छन् । डा. महतले सत्तारूढ दलहरूबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन् ।
स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन हुने भएकाले दलहरूले आ–आफ्नै ढंगले उमेदवारी दिने उनको तर्क छ । यद्यपि, यस विषयमा सत्तारूढ दलभित्र कुनै छलफल नभएको उनले बताए ।
तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको बताए । उनले भने, “त्यसका लागि सरकार अघि बढिसकेको छ ।”
अमेरिकी सहयोग परियोजना (एमसीसी)का कारण सत्तारूढ गठबन्धनमा भएको मतभेद अन्त्य भएको भन्दै गठबन्धन अब स्वाभाविक रूपमा अघि बढ्ने पनि बताए । “अब वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ, यसमा कुनै द्वविधा छैन । यो निर्वाचन गठबन्धनकै नेतृत्वमा अगाडि बढछ,” उनले भने ।
सभामुख अग्निप्रसाद सापकोटा र माधवकुमार नेपालसहित १४ सांसदको विषय अदालतमा विचाराधीन रहेको बताउँदै उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सहमतिमा लिएर संसद् सुचारु गराउन प्रयास भइरहेको उल्लेख गरे ।
आगामी बजेट अधिवेशनमा विपक्षी दलको सक्रिय सहभागिता आवश्यक भएकाले चालु अधिवेशन अन्त्य गरेर एमालेसँग सहमति गरी संसद् सुचारु गराउने प्रयास भइरहेको जानकारी दिए ।