रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाही सुरु भएको घोषणा गरेलगत्तै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी सेनाले आक्रमण गर्न थालेको छ । यो समाचारले विश्वमा राजनीतिकमात्र नभई आर्थिक क्षेत्रमा समेत व्यापक फेरबदल हुने सन्देह गर्न थालिएको छ । विश्वसँगै नेपालको अर्थतन्त्रमा कस्ताे प्रभाव पर्छ भन्ने विषयमा चर्चा सुरु भएको छ ।
रुस-युक्रेन युद्धको असर नेपालको अर्थतन्त्रमा तत्कालै पर्छ र पर्न थालिसकेको छ । युद्धको आशंकामा इन्धनको मूल्य चुलिएको छ । इन्धनको मूल्य वृद्धिले समग्र वस्तुको भाउ बढाउँछ । त्यसको परोक्ष प्रभाव दैनिक जनजीवनदेखि नेपाली भन्सासम्म पुगेको छ । तेलको मूल्य वृद्धिले राष्ट्रिय चालु बचत खाता झन् खुम्चने र विदेशी मुद्रा सञ्चिति घट्ने निश्चित छ । त्यसैगरी खाने तेल र गहुँलगायत खाद्यान्नको विश्वभरको आयात -निर्यात प्रभावित हुन खोजेको छ । त्यसको प्रभाव धेरथोर रहन्छ ।
विशेषतः युद्धग्रस्त अवस्थामा प्राप्त हुने आर्थिक ऋण वा सहयोग खुम्चिने परिस्थिति रहन्छ । शक्ति राष्ट्रहरूले युद्धका लागि ठूलो खर्च गर्ने हुँदा द्विपक्षीय सहयोगमा कटौती गर्ने सम्भावना ज्यादा हुन्छ । यसले अल्पविकसित मुलुकले प्राप्त गर्ने सहयोग र विकासका कामहरू प्रभावित हुन्छन् ।
पश्चिमा मुलुकहरूले रसियाका बैंकहरूलाई ‘स्विफ्ट कोड’ कारोबारमा प्रतिबन्ध लगाएका छन् । त्यसैगरी विभिन्न मुलुकहरू विभाजित हुने र थप प्रतिबन्ध लगाउने काम जारी छ । विश्व सेयर बजारमा पनि प्रभावित भइसकेको छ । रसियन ग्यास, तेल कम्पनीको मूल्यमा गतिरोध देखापरेका छन् । यद्यपि, नेपालको सेयर बजारमा भने त्यसको असर देखिनेछैन । नेपालको आबद्धता अन्तर्राष्ट्रिय स्तरको नभएकाले यो अवस्था देखिन गएको हाे ।
नेपालको रुससँगको व्यापारमा गतिरोध आउन सक्छ । बैंक भुक्तानीदेखि पारवहनको समेत समस्या यसमा जोडिन्छन् । नेपालको व्यापार भने रसियासँग खासै धेरै छैन र त्यो नेपालका लागि फाइदाजनक पनि देखिँदैन । नेपालले रुसमा सन् २०२० मा करिब २० करोड नेपाली रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ भने १ अर्ब ७१ करोड बराबरको व्यापार गरेको छ । नेपालले सुख्खा केराउ, तोरी रुसबाट आयत गरेको छ भने चिया र कार्पेट प्रमुख निर्यातकाे वस्तु हो । निर्यात थोरै प्रभावित हुनसक्छ ।
रूस तेल र प्राकृतिक ग्यासको प्रमुख उत्पादक हो । यो विश्वको सबैभन्दा ठूलो गहुँ निर्यातक पनि हो र युरोपको लागि प्रमुख खाद्यान्न आपूर्तिकर्ता राष्ट्र पनि हो। रुसको सबैभन्दा ठूलो व्यापार संयुक्त राज्य अमेरिकासँग छ । परन्तु, पछिल्लो समयमा द्वन्द्वका कारण वस्तुको आपूर्तिमा अवरोध कायम भएको छ र यसले विश्व बजार प्रभावित बन्न सक्छ । त्यसको परोक्ष असर विश्वभर मूल्य वृद्धि र मुद्राःस्फीति बढ्ने र धेरथोर प्रभाव नेपालमा पर्नसक्छ । द्विपक्षीय वा बहुपक्षीय व्यापारमा केही फरक पर्नसक्छ ।
अशान्तिले विश्वव्यापी उपभोक्ताहरूको खर्चमा कटौती हुने र त्यसले अन्य आर्थिक गतिविधि घटाउन प्रेरित गर्छ। युद्धका कारण मन्दीको अवस्था सिर्जना भएमा त्यो विश्व अर्थतन्त्रकै लागि गम्भीर बन्न सक्छ । पछिल्लो समय भूराजनीतिक जोखिमहरूले विश्व ऊर्जा मूल्यमा वृद्धि गर्नेदेखि विश्वव्यापी आपूर्ति प्रणालीमा केही अभाव र अवरोध भएकाे देखिएको छ । युद्धको जोखिम र असर बढ्दै गएमा आर्थिक क्षेत्र थप मारमा पर्ने अवस्था आउनसक्छ ।