काठमाडौं । ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगितामा रुविना क्षेत्रीको अलराउन्ड प्रदर्शनमा लुम्बिनी प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ ले पहिलो जित हात पारेको छ । बिहीबार लुम्बिनी प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश–१ ले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।
लुम्बिनीले दिएको ८० रनको लक्ष्य प्रदेश–१ ले १६औँ ओभरको चौथो बलमा १ विकेटको नोक्सानीमा भेटायो । पहिलो विकेटका लागि कप्तान रुविना क्षेत्री र काजँल श्रेष्ठबीच ४२ रनको साझेदारी भएको थियो । काजलले २० रन जोड्दा कप्तान रुविनाले अविजित ४८ रन बनाइन् । अप्सरी वेगमले अविजित ९ रनको योगदान गरिन् ।
बलिङतर्फ लुम्बिनीकी कृतिका मरासिनीले १ विकेट हात पारिन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा जम्मा ७९ रन बनाएको थियो । लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक ३१ रनको योगदान गर्दा लक्ष्मी चौधरीले २३ रन जोड्दा थापा र चौधरीले समान ४–४ चौका प्रहार गरिन् ।
बलिङमा सब्नम राईले चार ओभर नै उत्कृष्ट बलिङ गर्दै १ ओभर मेडन राखेर ५ रन खर्चेर लुम्बिनीका महत्त्वपूर्ण तीन विकेट लिइन् । त्यस्तै कप्तान रुविना क्षेत्री र हेर्मायी रोयले समान एक/एक विकेट लिइन् ।
जारी प्रतियोगितामा दुई जित सहित ४ अंकका साथ विभागीय टोली एपीएफ पहिलो स्थानमा छ भने एक जित र एक हारका साथ सुदूरपश्चिम प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन । त्यस्तै दुवै खेलमा आयोजक पराजित ललितपुर ११ सबै भन्दा पुछारमा छ । प्रतियोगितामा ५ टोलीको सहभागिता छ ।
शुक्रबार पहिलो खेल एपीएफ र ललितपुर त्यसैगरी दोस्रो खेल सुदूरपश्चिम र प्रदेश–१ का बीच हुने नेपाल क्रिकेट संघले जनाएको छ ।