काठमाडौं । पाँच देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने कोभिड १९ विरुद्धको खोप आउने अझै टुङ्गो लागेको छैन ।
सरकारले फाइजर कम्पनीसँग ८४ लाख डोज फाइजर खोप ल्याउन प्रक्रिया अघि बढाइरहेको भएपनि खोप कहिलेसम्म आउँछ भन्न सकिने अवस्था नरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनी ८४ लाख डोज खोप खरिदका लागि सरकारले फाइजर कम्पनीसँग सबै प्रक्रिया अघि बढाइरहेको बताउँछन् ।
सरकारले यसअघि नै १२ देखि १७ वर्षसम्मका किशोर किशोरीलाई दिन ६० लाख डोज फाइजर खोप ल्याउने तयारी गरेको थियो । तर कोभ्याक्स सुविधामार्फत् ४० लाख डोज मोर्डना खोप पाउने भएपछि फाइजर खोप खरिद प्रक्रिया पछि धकेलिएको थियो ।
अहिले सोही ६० लाखमा थपेर ८४ लाख डोज फाइजर खोप ल्याउन प्रक्रिया अघि बढाइएको महाशाखाका एक अधिकारीले जानकारी दिए । जसअन्तरगत अहिले शुल्कमा नेगोसिएसन भइरहेको पनि उनले बताए ।
सरकारले शुल्कबारे टुंगो लगाएपछि मन्त्रिपरिषद्ले खोप ल्याउनेबारे अन्तिम निर्णय गर्नेछ । देशभर ५ देखि ११ वर्षसम्मका बालबालिकाको संख्या करिब ४२ लाख रहेको सरकारको अनुमान छ । अहिले नेपालमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर र मोर्डना खोप कार्यक्रम जारी छ ।