काठमाडौं । आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर ‘ए’मा लिग चरणको अन्तिम खेलमा नेपालले आज क्यानडाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले यसअघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १३६ रनले हराएको थियो । आज खेल जितेमा नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का बनाउने छ । पराजित भएमा ‘रन रेट’मा निर्भर हुनुपर्छ । आजै हुने अर्को खेलमा फिलिपिन्सले ओमानलाई हराइदिएमा नेपाल क्यानडासँग पराजित भए पनि सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।
नेपालले २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा छ । दुई खेलबाट समान दुई अंक जोडेका क्यानडा र ओमान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । फिलिपिन्सले अंक जोडेको छैन ।
समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल जितेर फाइनलमा स्थान बनाउने दुई टोलीले अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने ट्वान्टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
समूह ‘ए’मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् । यूएईले दुई खेल जितेर शीर्ष स्थानमा छ । समान एक खेल जितेका बहराइन र आयरल्यान्ड समान दुई अंकका साथ बहराइन र आयरल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । जर्मनी अंकबिहीन छ ।
समूह ‘ए’मा आयरल्यान्डले जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ भने यूएईले बहराइनसँग प्रतिस्पर्धा गर्नेछ ।
मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडमीको मैदानमा नेपाल र क्यानडाबीचको खेल दिउँसो ३ः४५ बजे हुनेछ ।