काठमाडौं । ०७७ असोज २० गते उपप्राध्यापक प्रेम चलाउने त्रिवि हाताभित्रको नेपाल बैंक लिमिटेडको एटीएमबाट पैसा निकालेर फर्कँदै थिए । चार–पाँचजनाको एक समूहले उनीमाथि आक्रमण गर्यो । बाँसका धारिला भाटा कसैले उनको टाउकोमा बजारे । कसैले संवेदनशील अंगमा लात्ती र मुक्काले हिर्काए ।
आफूमाथि आक्रमण भएसँगै उनले गुहार मागे । तर, कसैले उनलाई सहयोग गरेनन् ।
सांघातिक आक्रमणमा परी उनको दाहिने खुट्टामा तीनवटा रड नै राख्नुपर्ने गरी चोट लाग्यो । देब्रे खुट्टामा पनि चोट लागेको छ । उनी अझै सहज रूपले हिँडडुल गर्न सक्दैनन् ।
“म व्यस्त रहने मान्छे । डेढ वर्षसम्म एउटा किताब पढ्न पनि सकेको छैन,” उनले सुनाए ।
चलाउने अहिले पढाउने कर्म छाडेर आफूमाथि भएको अन्यायविरुद्धको यात्रामा छन् । तर, डेढ वर्षदेखि जिल्ला अदालत, उच्च हुँदै सर्वोच्च अदालत धाइरहेका उनले न्याय पाएका छैनन् । सांघातिक आक्रमण गर्नेहरू निर्धक्क हिँडिरहेका छन् ।
स्वार्थ बाझिएपछि आफूले जिल्ला र उच्च अदालतबाट न्याय पाउन नसकेको उनको बुझाइ छ । “दुवै अदालतले उनीहरूलाई कारबाहीका लागि आदेश दिएनन्,” उनले भने, “न्यायका लागि म सर्वोच्च पुगेको छु । तर, अहिलेसम्म पालो आएको छैन ।”
डेढ वर्षसम्म आफ्नो उपचारमा संलग्न डाक्टर र घटनाका साक्षीको बकपत्र नभएको भन्दै उनी सम्बन्धित निकायप्रति असन्तुष्ट छन् ।
किन भयो आक्रमण ?
तत्कालीन अवस्थामा दुई महिनादेखि समाजशास्त्रको विभागमा तालाबन्दी थियो । तत्कालीन उपकुलपति तीर्थ खनियाँले चौथो वरीयताका टीका गौतमलाई समाजशास्त्र विभागको निमित्त विभागीय प्रमुख बनाए । वर्तमान उपकुलपति धर्मकान्त बाँस्कोटाले वरिष्ठतम् र मेरिटका आधारमा गौतमकै शिक्षक र थेसिस गाइड युवराज लुइँटेललाई विभागीय प्रमुख बनाए ।
त्यही निहुँमा नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आबद्ध योगेन्द्र रावल र हरि आचार्यले विभागमा ताला लगाए । “दुई महिनासम्म ताला नखुलेपछि कडा रूपमा मैले ताला खोल्नुपर्छ भनी बोलेको थिएँ,” उनले भने, “यही कुरालाई बदलाको भावना लिएर हरि र योगेन्द्रले ममाथि सुनियोजित रूपले सांघातिक आक्रामण गरेका हुन् ।”
उनीहरूले ०७७ भदौ १ गते प्रेस विज्ञप्ति जारी गरेर हात काट्ने धम्की दिएको उनको भनाइ छ । “तर, मैले त्यसलाई सामान्य रूपमा लिएको थिएँ,” उनले भने, “मैले गलत सोचेछु ।”
रूपेश साह, रविनकुमार लामा, सयुज श्रेष्ठ र निरज रानामगरले हरि र योगेन्द्रको योजनालाई कार्यान्वयन गरेको उनको दाबी छ । “जिल्ला अदालतलाई दिइएको बयानमा रूपेशले २० हजार रुपैयाँमा उक्त वारदात घटाएको स्वीकार गरेका छन् । रविनले सुनियोजित ढंगले आक्रामण गरेको बयान दिएका छन् । रूपेशले फोन गरेर भोलिपल्ट बिहान योगेन्द्रले फोटो देखाएपछि आक्रमण गरिएको हो,” उनी भन्छन् ।
हरि र योगेन्द्रलाई पहिलो सेमेस्टरमा देखे पनि त्यसपछि कहिल्यै आफ्नो विभागमा नदेखेको उनी बताउँछन् । आफूले पढाएका विद्यार्थीबाट आफूमाथि हमला हुन नसक्ने उनको बुझाइ छ ।
“हरि र योगेन्द्रले मेरो विभागमा नाम लेखाएका हुन् । पहिलो सेमेस्टरमा उनीहरूलाई मैले दुई–चार दिन देखेको थिएँ । तर, पछि उनीहरू बेपत्ता थिए । बाँकी त्रिविका विद्यार्थी नभई ठेक्कापट्टा उठाउन प्रयोग हुने गुन्डा हुन्,” उनले भने ।
घटनालाई प्रभावित पार्ने प्रयास
गृह मन्त्रालयको ठाडो निर्देशनमा आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने तयारी भइरहेको उनको दाबी छ । “मन्त्रालयले मुद्दा फिर्ता लिने तयारी गरेपछि म विक्षिप्त छु,” उनी भन्छन्, “विश्वविद्यालयमा दुई महिनादेखि रोकिएको पढाइ हुनुपर्छ भन्दा मेरो ज्यान लिन खोजियो ।”
०७८ पुस २९ गते प्रतिवादीहरू योगेन्द्र, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रूपेश साह, रविनकुमार लामा, सयुज श्रेष्ठ र निरज रानामगरले जिल्ला प्रशासन कार्यालयमा मुद्दा फिर्ताका लागि निवेदन दिएका छन् ।
निवेदनमा उनीहरूले घटनालाई राजनीतिक रङ दिँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट व्यक्तिलाई पदाधिकारी, डिन र विभागीय प्रमुख बनाएकाले आन्दोलन गरेको उल्लेख छ । निवेदनमा नक्कली घाइतेको रूपमा चलाउनेलाई खडा गरी जबर्जस्ती फसाउने कार्य गरेको पनि उल्लेख छ ।
मुलुकी फौजदारी संहिता, २०७४ र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ र फौजदारी मुद्दा फिर्तासम्बन्धी मापदण्ड, २०७१ जस्ता कानुनी व्यवस्था उल्लेख गरी सो पत्रमार्फत मुद्दा फिर्ताका लागि पहल गरिएको छ ।
त्यसैगरी, गएको माघ ५ गते नेविसंघले गृह मन्त्रालयलाई निवेदन लेखेर सो मुद्दा फिर्ता लिन आग्रह गरेको छ । नेपाली कांग्रेस काठमाडौंले पनि गृहलाई निवेदन लेखेर घटनालाई प्रभावित पार्ने प्रयास गरेको उनको भनाइ छ ।