काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्न आवश्यक पर्ने बताएका छन् । छैटौँ निर्वाचन दिवसका अवसरमा उनले विश्वसनीय र मितव्ययी निर्वाचनको संकल्प पूरा गर्नुपर्ने बताए ।
“निर्वाचन वालिग मताधिकारका आधारमा प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई जनतालाई शक्तिशाली बनाउने लोकतन्त्रको मेरुदण्ड पनि भएकोले यसलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार र सिद्धान्तबाट निर्देशित एवम् परिचालित हुने वातावरण बनाइनु पर्दछ । यसका निम्ति खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नैतिकता र इमान्दारिताको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुसरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्न आवश्यक पर्दछ,” उनले भनेका छन्,“ आगामी निर्वाचनमा हाम्रा सबै प्रयासहरू यसैतर्फ केन्द्रित गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनको हाम्रो संकल्प पूरा होस् भन्ने हाम्रो दृढ धारणा रहेको छ ।”
उनले आउँदो वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सहयोगका लागि आग्रह पनि गरेका छन् ।
निर्वाचनलाई व्यवस्थित ढंगले सम्पन्न गर्न आयोगले मौजुदा नीतिगत, कानूनी र संस्थागत व्यवस्थाको उपयोग गर्दै आवश्यक तयारीका कार्यहरू प्रभावकारी ढंगले सम्पादन गर्दै आइरहेको उनको भनाइ छ ।
आयोगले मतदाता नामावली अद्यावधिक, निर्वाचन सम्बन्धी योजना, कार्यविधि, निर्देशिका र मापदण्डहरूको तयारी, निर्वाचन सामग्री तथा वित्तीय व्यवस्थापनको कार्य र मतदाता शिक्षा एवम् प्रचार प्रसार कार्य योजना आदि तयार गरिएको उनले बताए ।
यस्तो छ उनको वक्तव्यको पूर्ण पाठ