काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसीका विषयमा सकारात्मक छलफल भएको बताएका छन् ।
संसद् अवरोध हटाएर एमसीसीका विषयमा छलफल गराउनका लागि देउवा बिहीबार ओली निवास बालकोट गएको उनको भनाइ छ ।
“संसद्लाई सुचारु गर्ने प्रधानमन्त्रीको दायित्व हो । प्रतिपक्षीको पनि संसद्लाई त्यतिकै जीवन्त बनाउने दायित्व, भूमिका रहन्छ । संसद्लाई सुचारु गरेर संसद्मा गम्भीर र जीवन्त छलफल होस्, यसैका निम्ति भेट्न जानुभएको हो,” उनले भने ।
छलफलमा एमसीसीलाई निष्कर्षमा पुर्याउनेबारेमा सकारात्मक विचारविमर्श भएको उनले जानकारी दिए । “यो परियोजनालाई निष्कर्षमा पुर्याउन प्रधानमन्त्रीको प्रस्ताव छ । त्यसमा सकारात्मक विचारविमर्श भएको छ,” मन्त्री कार्कीले भने ।
शुक्रबारको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि निर्णयबारे जानकारी गराउने क्रममा उनले ओली र देउवाबीचको भेटबारे पनि जानकारी गराएका हुन् ।