काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भन्सारमा कारोबार मूल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकास पौडेलसँग बिहीबार भएको भेटवार्ताका क्रममा चेम्बरले वस्तुहरूको आयत/निर्यातमा भएको कारोबार मूल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको हो ।
भन्सारमा सन्दर्भ मूल्य कायम हुँदा मूल्य अभिवृद्धि कर भ्याटमा समस्या देखिएको भन्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सन्दर्भ मूल्यका कारण समग्र राजस्वमा नै असर गरेको तथा हुन्डी कारोबार मौलाएको बताए । बिल, बिजक प्रक्रियामा पनि कठिन भएको उनको भनाइ छ । उनले अनुगमन प्रणालीलाई एकद्वार व्यवस्थित एवं व्यवसाय मैत्री बनाउन महानिर्देशक पौडेलसमक्ष आग्रह गरे ।
भन्सार विन्दुहरूमा हुने अनियमित कारोबारलाई नियन्त्रण गर्न तथा सीमा व्यापारलाई प्रभावकारी बनाउन सुराकीलाई उचित पुरस्कार तथा गलत तथ्य दिनेलाई दण्डित हुने व्यवस्था गर्न पनि चेम्बरले माग गरेको छ । राजस्व चुहावट सम्बन्धमा थुनछेक गर्ने प्रावधानलाई वित्तीय जरिबाना गर्ने व्यवस्था गर्नसमेत चेम्बरले सुझाव दिएको छ ।
बैंकिङ प्रणालीमा ७ लाख भन्दा बढीको कारोबार गर्दा सबै विवरण पेस गर्नुपर्ने राष्ट्र बैंकको पछिल्लो निर्देशन पनि अव्यवहारिक तथा झण्झटिलो भएको पनि मल्लले बताए ।
साना तथा खुद्रा व्यवसायीको सहजीकरणका लागि ५० लाख रुपैँयासम्मको सिलिङलाई वृद्धि गरी २ करोड पुर्याउनुपर्ने उनले बताए ।
आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरी व्यापार सहजीकरण गर्न चेम्बरले आग्रह गरेको छ ।
महानिर्देशक पौडेलले व्यापार सहजीकरणका लागि सरकार प्रतिवद्ध रहेको बताए ।