काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पाँच दलीय गठबन्धन आगामी संसदीय निर्वाचनसम्मै कायम रहने दाबी गरेका छन् । बिहीबार कर्णाली प्रदेशको विस्तारित बैठक र प्रशिक्षण कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने दाबी गरेका हुन् ।
“अहिले गठबन्धन टुट्दैन । संसदीय निर्वाचन गठबन्धन गरेरै जाने हाम्रो कुरा छ । एमसीसीबारे पार्टीहरूका आ–आफ्नै कुरा छन् । कतिपय पारित गरिहाल्नुपर्छ भन्नेमा हुनुहुन्छ,“ बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै एक प्रदेश कमिटी सदस्यले भने “परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ । जे गरे पनि सल्लाहले नै गर्छौं ।”
पछिल्लो समय एमसीसीका कारण गठबन्धन टुट्नसक्ने आशंका गठबन्धनका नेताहरूले नै गर्दै आएका छन् ।