काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार संगठनकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्तिमार्फत समयमै निष्पक्ष निर्वाचनको सुनिश्चितताको माग गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् ।
अन्यथा लाखौँ विधार्थीलाई सडकमा उतार्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
आन्दोलनका कार्यक्रमअनुसार संगठनले माघ १७ गते (भोलि) देशैभरिका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालय मार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गराउने छ ।
भोलि नै देशैभरि अधिकतम २५ जनासम्म जम्मा भएर तत्काल निर्वाचन गर्न दबाब दिन क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने छ । माघ १८ गतेसम्म निर्वाचन घोषणा नगरे प्रतिकात्मक रूपमा सरकारका मन्त्रीहरू सहभागी कार्यक्रममा कालो झण्डा देखाइने विज्ञप्तिमा भनिएको छ ।
अनेरास्ववियुले माघ १९ गते काठमाडौं र प्रदेश राजधानीहरूमा कानूनविद्हरूसँग सडक बहस गर्ने बताएको छ ।