सहरले निलेको मान्छे
जब एउटा मान्छेको
मानसपटलमा कल्पनाहरूले सगरमाथा छुन्छ
आँखाहरू सभ्यताको गहिराइमा डुब्छ
खुट्टाहरू त्यसैत्यसै बुर्कुसी मारेर वेग मार्छ
सुखसुविधा
भोगविलास
उन्नतिप्रगति
सानमान
मोहले डोर्याउँदै डोर्याउँदै
जिन्दगी सहरमा अवतरण हुन्छ
आयु छोटिन्छ
नाता टुट्छ
प्राकृतिक सुन्दरता गुम्छ
कृत्रिमताले जालो बेरेर
माकुरोझैँ जालैमा मर्छ
हेर्नुहोस्,
जंगलहरू बदलिएर
घना सिमेन्ट नमिलेर
मन पूर्व, पश्चिम, उत्तर, दक्षिण,
विचारहरू रात–रातभर
मन्थन हुन्छ
जिन्दगी उकुसमुकुस
धेरै दाउहरू हानिरहन्छ
संख्या नगन्य भएमा
छेपाराझैँ बन्न नसकेमा
छलछाम र ढलपल नभएमा
यो पाटी त्यो पाटी नभएमा
‘हो’ मा ‘हो’ नमिलाएमा
बाँच्न गाह्रो छ
आफ्नै घाट सम्झे हुन्छ
सहरका सोझा मान्छेहरू !
हालखबर के सोध्नुहुन्छ ?
जिन्दगी चलाउन आफ्नै मिर्गौला बेच्नुपर्छ
जिन्दगी नै निर्जीव लाग्छ
जामैजामको लाम
खानपान
आवतजावत
हाँसखेल
बोलचाल
किनमेल
नित्यकर्महरूमा
कुनै बेला यस्तो लाग्छ
समय नै जाममा परेर भाग्यले ठगिरहेको छ !
साना नानीबाबुहरूको कलिला जीवन
संसार बदल्ने कलिला विद्यार्थीका कलिला मस्तिष्क
र, ओइलाइरहेका सपनाहरू
नवजोडीका प्रथम मायाहरू
र, चालेका एकएक कदमहरू
आमाबाबुका आसहरू
एकछाक जोहो गर्ने भरियाहरू
भविष्यका होनहार युगपुरुषहरू
फगत धिपधिप बल्दै, मर्दै
बाफिला हावाहरूले फुकेर
अर्धचेत बनाएर
सहरले निलिरहेको छ ।
०००
जुलुसमा हिँडेको म
कमिलाका ताँतीझैँ
लावालस्करमा
अदम्य साहस बोकेर
स्वस्फूर्त हिँडेको पाइलाहरूलाई
नसोध्नुस्
कहाँ हिँडेको ?
जबजब संकटमा हुन्छन् बहुमतहरू
यसरी नै यी फराकिला
चौडा व्यस्त छातीहरूमा
चप्पलहरू बर्सिन्छन्
सिट्ठीहरू बज्छन्
लाठीहरू चल्छन्
हिजो
आज
भोलि पनि उर्लिन्छन्
च्यापेको एक गाँस भात छोडेर
‘म’हरू
अचम्मित नहुनुहोस्
किनकि, खिया लागेको तानासाह ढाल्न
जुलुसमा हिँडेको म ।
(सिन्धुली)